सोमबार, वैशाख १५, २०८२
18:53 | २३:३८

ब्रिटिस गोर्खाले नेपाली नागरिकता पाउनुपर्छ: अध्यक्ष शेर्पा

नेपाली लिङ्क अप्रिल २८, २०२५


लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले बेलायती सेनामा भर्ती भएका नेपाली र उनका सन्तानलाई नेपाली नागरिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ बेलायतले शनिबार अल्डरशटमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले ब्रिटिस गोर्खा र उनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्नेमा जोड दिएका हुन् ।

बेलायतमा भर्ती हुन आउनु कुनै रहर नभइ बाध्यताले आएको भन्दै ब्रिटिस गोर्खा र उनका सन्तानलाई नेपाल सरकारले वंशजको नागरिकता निागरिकता दिँदा वा नागरिकता निरन्तरता गर्दा नेपाल सरकारलाई कुनै हानी नोक्सानी नहुने बताए ।

‘तपाईंहरु यहाँ आफ्नो खुसीले रोजगारीका लागि आएका होइन । एक हिसावले बेचिएको हो, सरकारले बेचेको हो । तपाईंहरुले नागरिकता पाउनुपर्छ । तपाईंहरुलाई नेपाली नागरिकता दिँदा नेपाल सरकारलाई हानी हुँदैन’ उनले भने ।

नेपाल सरकारले ब्रिटिस गोर्खा र उनका सन्तानलाई नागरिकता नदिए उनीहरुले नेपालको सम्पत्ति विक्री गर्नुपर्ने र उनीहरुको सीप र लगानी नेपालमा नरहने उनको धारणा थियो । उनले देश र पहिचान नभुल्न आग्रह गर्दै बेलायतवासीलाई देशमा फर्किएर लगानी र सीपको सदुपयोग गर्न आग्रह गरे ।

‘यहाँ सुविधा होला । हिजो अमेरिका भनेर गर्व गर्नेहरुलाई आज ट्रम्पले अपराधी जसरी तत्लो वर्गमा झारेर हत्कडी लगाएर फिर्ता गराइरहेका छन् । देश भनेको माटो हो । माटोलाई समयमै चिन्नुपर्छ’ उनले भने । 

उनले नेपालका विभिन्न निकायमा आदिवासी जनजातिको बाहुल्यता बढ्दै गएको समेत बताए । उनले अहिलेको संविधानलाई मानेर अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।

‘संवैधानिक व्यवस्थाकै कारण २७५ सांसद रहेको प्रतिनिधिसभामा ९६ जना आदिवासी जनजाति समुदायका माननीय छन् । ९३ सदस्यीय कोशी प्रदेशमा ५४ जना आदिवासी जनजातिका छोराछोरी छन् । वाग्मतीमा ११० मा ५९ आदिवासी जनजातिका माननीय छन्’ उनले भने, ‘मुख्यमन्त्री पनि तामाङ समुदायबाट छन् । अब प्रधानमन्त्री, राष्ट्रपति पनि आदिवासी जनजाति समुदायबाट बन्ने दिन आउँछ । यो संविधानले दिएको अधिकार हो । हामी थप अधिकारका लागि एकजुट भएर लड्नुपर्छ ।’ 

उनले नेपालमा केही भएको छैन भन्ने भाष्य प्रयोग गरेर सामाजिक सञ्जालहरुमार्फत भ्रम फैलाइएको बताए ।

‘अहिले विकास पूर्वाधार तीब्र गतिमा भइरहेको छ । केही वर्षमै अनुभूति हुने गरी विकास भएको देख्नेछौं’ उनले दावी गरे । उनले आफ्नो कार्यकालमा ‘जनजाति महासंघको सिंहदरबार’ निर्माण हुने भन्दै महासंघको आफ्नै भवन निर्माणका लागि २४ आनाको जग्गा तयारी अवस्थामा रहेको समेत बताए ।

नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष योगेश कोयी राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महासचिव फ्रम दुरा, तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, महासंघका सल्लाहकार एकेन्द्र गुरुङ, तमुधिं  यूके पूर्व अध्यक्ष रामचन्द्र गुरुङ, नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष विमला सेने, ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेकी अध्यक्ष लिला सेलिङ माबोलगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू