शुक्रबार, वैशाख १२, २०८२
09:56 | १४:४१

गोर्खाको नेपाली नागरिकता निरन्तरताका लागि ऐतिहासिक पहल

नेपाली लिङ्क अप्रिल २४, २०२५

तस्बिर- एमओडी

लन्डन –भूतपूर्व ब्रिटिश गोर्खा सैनिक तथा तिनका परिवारहरू पछिल्लो समय निकै उत्साहित भएका छन्। पहिलो र दोस्रो विश्वयुद्धदेखि अन्य थुप्रै युद्धमा अदम्य साहसका साथ लडेका वीर गोर्खाहरू आफ्नै अधिकार र सुविधा प्राप्तिमा विभेदको सामना गर्दै आएका छन्। यही विभेदविरुद्ध उनीहरूले तीन दशकभन्दा बढी समयदेखि आवाज उठाउँदै आए ।

बेलायत तथा अन्य विभिन्न देशमा गोर्खाहरूले आवासीय अनुमति प्राप्त गर्दै जाँदा स्वतः अंगीकृत नागरिकताको प्रक्रियामा जान बाध्य भएका छन्। तर, नेपालको संविधान तथा विद्यमान ऐनमा यस्ता अवस्थाका लागि स्पष्ट व्यवस्था नहुनुले गोर्खाहरू तथा तिनका सन्ततिहरूको नेपाली नागरिकता निरन्तरतामा समस्या आइरहेको छ।

२०७२ सालको संविधान निर्माणको समयदेखि नै उनीहरूले नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्न प्रयास गर्दै आएपनि औपचारिक सुनुवाइको अभावले यो मुद्दा राज्यको प्राथमिकतामा पर्न सकेको थिएन।

यही सन्दर्भमा, बेलायत र नेपालमा क्रियाशील ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति (BGNCCC-UK/Nepal) का प्रमुख संयोजक सन्तोष थलङको नेतृत्वमा विगत १४ वर्षदेखि गोर्खा परिवार र सन्ततिहरूको हक–अधिकार सुनिश्चित गर्न निरन्तर पहल भइरहेको छ।

यस अभियानको सार्थकतास्वरूप हालै BGNCCC-UK/Nepal ले नेपालको नागरिकता ऐनमा संशोधन प्रस्ताव तयार पार्दै प्रतिनिधिसभामा संशोधन विधेयक दर्ता गराउन सफल भएको छ। सो विधेयक हाल संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका लागि पुगिसकेको छ, जुन ऐतिहासिक उपलब्धि हो।

आफ्नै मातृभूमिको बंशजको रूपमा नागरिकता निरन्तरता कायम राख्ने विषयमा संसदमा औपचारिक छलफल सुरु भएकोमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वीर गोर्खा तथा तिनका सन्ततिहरु उत्साहित एवं आशावादी भएका छन्।

गुणराज याक्खा

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू