शनिबार, वैशाख ६, २०८२
19:11 | २३:५६

संवाद र छलफलद्वारा एनआरएनएमा सहमति कायम गर्न संस्थापक थापाको अपील

नेपाली लिङ्क अप्रिल १८, २०२५

लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक मध्येका एक रामप्रताप थापाले संवाद र छलफलद्वारा एनआरएनएमा सहमति कायम गर्न अपील गरेका छन्।

उनले नेपालको समृद्धिको दूरदृष्टि लिएर स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो २२ औँ वर्षगाँठ मनाउने यस महत्वपूर्ण मोडमा संस्थाभित्र उत्पन्न भएको असहज परिस्थिति गम्भीर चिन्ताको विषय बनेको जनाए ।

“संस्थाको स्थापना कालदेखि व्यक्तिगत स्वार्थभन्दा माथि उठी, नेतृत्वको आकांक्षा त्यागेर मैले एकताको लागि योगदान गरेको इतिहास साक्षी छ। संस्थाभित्रको बृहत् एकताको निम्ति म सधैं इमान्दार र लचिलो रहँदै आएको छु र आगामी दिनहरूमा पनि रहनेछु। आपसी छलफल र संवादद्वारा अहिलेको समस्याको समाधान गर्न सकिन्छ भन्ने मा म अझै विश्वस्त छु,” उनले भनेका छन्।  

“संघको आन्तरिक विषयमा सर्वोच्च अदालतले गत वर्ष दिएको एकताको ऐतिहासिक फैसला तथा त्यसपछि साउन महिनामा आएको दोस्रो आदेशलाई आत्मसात गर्दै अघि बढ्नु पर्ने बेला दुर्भाग्यवश ती निर्णयहरूलाई आ–आफ्नै स्वार्थअनुसार तोडमोड गरी व्याख्या गरिनु अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण छ। उच्चस्तरीय समितिमा मेरो नाम र तस्वीरको दुरुपयोग गर्दै विभिन्न सामाजिक सञ्जाल, समाचार माध्यम र इमेलमार्फत भ्रम फैलाइएको छ जसप्रति म गहिरो दुःख प्रकट गर्दछु,” उनले भने ।

थापाले अगाडि भनेका छन्- “गैरआवासीय नेपाली संघको विधान, सर्वोच्च अदालतका दुवै निर्णयको मर्म र भावना अनुरूप संस्थामा दीर्घकालीन र समावेशी एकता स्थापित होस् भन्ने आकांक्षासहित आ-आफ्नो ठाउँबाट सक्दो पहल गर्न म नेपाल सरकार लगायत संसारभरि रहनु भएका सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अपिल गर्दछु ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू