शनिबार, वैशाख ६, २०८२
16:23 | २१:०८

बेलायतको वेष्ट मिडल्याण्ड्सका नेपालीले सांस्कृतिक कार्यक्रमसहित स्वागत गरे नयां वर्ष

नेपाली लिङ्क अप्रिल १७, २०२५

उल्भरह्याम्टन । बेलायतको वेष्ट मिडल्याण्ड्सका नेपालीले विभिन्न कार्यक्रमसहित नयाँ वर्ष २०८२ लाई स्वागत गरेका छन् ।

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड्सले उल्भरह्यामट्नस्थित न्यू बिल्डर्स आर्ममा नयाँ वर्षकै दिन सोमबार साँझ नयाँ वर्षको अवसरमा एक भव्य सांस्कृतिक कार्यक्रम गरेको हो ।

कार्यक्रम उद्घाटन गर्दै समाजका संस्थापक अध्यक्ष गङ्गाधर गौतमले विश्वका जुनसुकै ठाउँमा पुगेपनि नेपाली भाषा र संस्कृति संरक्षणको जिम्मेवारी बोध गरेर १८ वर्षअघि समाज स्थापना गरिएको स्मरण गरे । उनले नयाँ वर्षले विश्वका सबै नेपालीलाई एक हुने प्रेरणा मिलोस् भन्ने कामना समेत गरे ।

त्यसैगरि अध्यक्ष भीम शर्माले स्थापनाकालदेखि नै बेलायतमा रहेका नेपालीलाई जोड्दै समाजले भावी पुस्तालाई भाषा र संस्कृति सिकाउन विशेष नेपाली कक्षा सञ्चालन गरिरहेको उल्लेख गर्दै आफ्ना बालबालिकालाई नेपाली भाषा कक्षामा पठाउन आग्रह गरे ।

कार्यक्रममार्फत नयाँ वर्षको शुभकामना व्यक्त गर्दै समाजका संरक्षक डा. कृष्ण सापकोटा, पूर्व अध्यक्ष मिलन सापकोटा, शिव खरेललगायतले बेलायतमा रहेका नेपालीलाई एकताको सूत्रमा बांध्न समाजले आवश्यक पहल गर्दै आएको स्मरण गरे । नयाँ पुस्ताले आफ्नो देशको भाषा र वेशभुषा विश्वव्यापीकरणमा योगदान गर्न प्रेरणा मिलोस् भन्ने उनीहरुको कामना थियो ।

कार्यक्रममा समाजले आयोजना गरेको नेपाली भाषा कक्षाका विद्यार्थीले मौलिक नृत्यहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू