एनआरएनए यूकेको सन्देश-आइसीसी मिलोस्, हामी कुनै गुटको पछि लाग्दैनौं (भिडियो)


लन्डन- हित काजी गुरुङ नेतृत्वको एनआरएनए यूके यतिखेर सदस्यता विस्तारमा जुटेको छ । मे ३१ सम्म सदस्य बन्ने म्याद राखेर संघले बेलायतवासी नेपालीलाई सदस्यता लिन आव्हान गरिरहेको हो । आउंदो जुलाई १२ मा नयां नेतृत्वका लागि अधिवेशन तय भइसकेको छ ।
गैर आवासीय नेपाली संघमा केन्द्रदेखि एनसीसीहरुसम्म फुट छ । बेलायत शाखासमेत यो ध्रवीकरणबाट अछुतो छैन् । यस्तो अवस्थामा सदस्यताप्रति नेपालीको चासो कस्तो छ ? प्रश्नमा हितकाजी गुरुङ आकर्षण घटेको स्वीकार्छन् ।
‘बेलायतमा नेतृत्व जसले लिने हो, उसले नै सदस्य बनाएर अध्यक्ष बन्ने प्रचलन रहंदै आएको छ । यसपटक पनि त्यो अवस्था कायमै देखिन्छ’, गुरुङले भने, ‘म अध्यक्ष निर्वाचित हुंदा सदस्य संख्या ४२ सय थियो । यो पटक त्यो भन्दा बढी हुन्छ भन्ने आशा छ ।’
१० पाउण्ड शुल्क र पहिलाका सदस्यले नवीकरण गर्दा केही नपर्ने तर नयांलाई बेलायतमा बसेको प्रमाण र होम एड्रेस भए पुग्ने गुरुङ बताउंछन् ।
उनले एनआरएनए यूकेको सदस्यता लिंदैमा त्यस्तो फाइदा केही नभएपनि आफूले चाहेको व्यक्तिलाई निर्वाचित गराउन सक्ने बताए ।
गुरुङले आफ्नो २ वर्षे कार्यकाल सकिनै लाग्दा संघले सोचेजस्तो काम गर्न नसकेको स्वीकारेका छन् । ‘म खुलेर भन्छु केही गर्छु भनेर आएको थिएं, गर्न सकिन सरी’, उनले सम्पूर्ण मतदाताप्रति क्षमायाचना गर्दै भने, ‘हामी आइसीसीको भातृ संगठन जस्तो हो । केन्द्रमै विवाद भएपछि हामीले चाहेरमात्र पनि काम गर्न सकेनौं ।’
उनले पूर्व अध्यक्षहरुबाट जस्तो सहयोग पाउनु पर्ने हो त्यो नपाएको पनि गुनासो गरे । ‘मैले नेतृत्व लिंदा बैंक अकाउन्ट र अन्य कागजात केही भएन । आफूले राम्रो सोचे पनि नहुने रैछ । म मतदाताप्रति माफी माग्न चाहन्छु’- उनले नेपालीलिंकसंगको भिडियो अन्तवार्तामा भने ।
तर, अप्ठेरोका बीच बेलायतमा दिवंगत भएका केही नेपालीको शव नेपाल पठाउन आर्थिक सहयोग प्रदान र केही कार्यक्रमहरु पनि गरिएको उनले बताए ।
जुलाई १२ मा नयां नेतृत्व आउनु अगाडि नेपालमा वृद्धाश्रम वा विद्यालय बनाइदिने आफ्नो सोच रहेको गुरुङले बताए ।
आइसीसीमा किचलो भइरहंदा जुलाई १२ मा अधिवेशन हुन्छ ? भन्ने प्रश्नमा अध्यक्ष गुरुङले भने, ‘आइसीसीको विवाद भएपनि हामीलाई रोक्न सक्दैन । ५०० प्रतिशत अधिवेशन हुन्छ ।’
आफू फेरि नेतृत्वमा आउने चाहना नभएको उनले प्रष्टयाए । ‘सधैं एउटैले पोष्ट होल्ड गर्ने परिपाटी राम्रो होइन । म अरुलाई नेतृत्व हस्तान्तरण गर्छु’, उनले भने ।
एनआरएनए केन्द्रको विवादले आफूहरु सबैलाई दुःखी बनाएको उनको भनाइ छ । ‘हामीले बद्री केसी र शेष घले पक्ष दुवै नमिलेसम्म कसैलाई मान्दैनौं भनेका थियौं’, उनले सुनाए- ‘तपाईंहरु मिल्नु हामी साथ दिन्छौं नत्र हामी साथ दिन्नौं भनेर मिल्न दवाव दिइरहेका छौं । ८३ देशमा भएका एनसीसी अध्यक्षहरुको चाहना पनि मिल्नु पर्छ भन्ने नै छ ।’
हेरौं एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङसंग नेपाली लिंकको भिडियो संवाद:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५