बुधबार, वैशाख १७, २०८२
02:04 | ०६:४९

महानायक, सन्दीप र नवीन के एउटै स्टेजमा, हांसो र संगीतले तात्यो लन्डन (फोटो फिचर)

नेपाली लिङ्क अप्रिल २९, २०२५

लन्डन । सप्ताहन्त बित्यो तर गायक नवीन के भट्टराईको सुमधुर स्वर अझै गुन्जिरहेको छ स्मृतिमा । सन्दीप क्षेत्रीको हांसो दर्शकले अहिल्यै भुलेका छैनन् । त्यसो त स्टेजमा महानायक राजेश हमालको ड्यासिङ पर्सनालिटी, कमेडी, नाच र उनले स्मरण गरेका करिअर किस्सा पनि सम्झनामा ताजै छ ।

२७ अप्रिल आइतबार लन्डन हयारो लिजर सेन्टरमा आयोजित ‘लाफ्टर फर लाइफ’ मा उल्लेखित कलाकारहरु आफ्नो परफर्मेन्समा डुबे, र उनीहरुलाई साक्षी राख्दै झुमे झण्डै ७ सय दर्शक ।

माया इभेन्ट्सले आयोजना गरेको उक्त इभेन्ट यस वर्षको बेलायतस्थित नेपाली समुदायमा सबैभन्दा वृहत थियो ।

कार्यक्रममा पहिले सन्दीप क्षेत्रीले विभिन्न विषयमा हंसाए भने पछि महानायक एक्लै स्टेज उत्रिए । फेरि अन्तिम चरणमा राजेश-सन्दीपको जोडीले ‘कौन बनेगा करोडपति’ थिममा मज्जाले हंसाए ।

नेपाली चलचित्रमा झण्डै ३५ वर्ष बिताइसकेका महानायक हमालको यो पहिलो स्ट्याण्डअप कमेडी थियो । हमालले हंसाउने प्रयत्नमात्र गरेका थिएनन्, उनले आफू सम्बन्धित मिम, जोक्सदेखि फिल्मी संवाद र कपाल किस्सा समेत व्याख्या गरे ।

दर्शकहरु उनको उपस्थितिलाई नै महान ठानिरहेका थिए । अभिनयबाट हांस्यव्यंग्य विद्या परिवर्तन राजेशका लागि यो पक्कै चुनौतिपूर्ण थियो तर उनले प्रयास गरे ।

मिष्टर ह्याप्पी सन्दीप क्षेत्रीले आफ्नो ठट्टामा समेटेका थिए नेपालको ट्राफिक, धुंवा धुलो, विकृति-विसंगति । विजनेश क्लास हवाइ यात्रामा ल्याण्ड हुनै मन नलागेको व्यंग्यात्मक प्रस्तुति दर्शकले निकै रुचाए । उनले बेलायती परिवेश, विकास पनि आफ्नो रोजाइ बनाए ।

राजेश सन्दीपको प्रस्तुति सकिएपछि सोही स्टेजमा झुल्किए लाखौं युवामनका ढुकढुकी गायक नवीन के भट्टराई आफ्नो व्याण्ड ‘अतृप्त’ का ५ सदस्यका साथ । गायक भट्टराईले राती अबेरसम्म लाइभ म्यूजिकमा आफ्ना हिट दर्जन बढी पुराना गाना गाएर दर्शक नचाए । राती भइसक्दा पनि दर्शक ‘वान्स मोर’ भनिरहेका देखिन्थ्यो ।

प्रमुख अतिथी राजदूत पत्नि र ग्रीनवीच मेयर जीत रानाभाटले पानसमा दीप प्रज्वलन गरेर शो उद्घाटन गरेका थिए । त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय गीत बजाइएको थियो ।

शुरुमा आयोजक माया इभेन्ट्सका निर्देशक राज पाण्डेले पनि स्टेज उत्रेर केही बेर दर्शक हंसाएका थिए ।

आयोजकका तर्फबाट डा. रक्षा थापाले उत्साहजनक सहभागिता जनाएर इभेन्ट ऐतिहासिक बनाइदिएकामा समस्त दर्शक र प्रायोजकहरुप्रति आभार व्यक्त गरिन् ।

‘लाफ्टर फर लाइफ’ सफल बनाउन ५ युवाहरु भुपेन्द्र विष्ट, भरतराज जोशी, सागर आग्री, शुभम दाहाल र अर्जुन तिवारी निकै खटिए ।

सिभिरा लामा र सन्तोषी कार्कीले ‘होष्ट’ गरेको उक्त कार्यक्रममा अतिथीहरुलाई सम्मान पनि गरियो । कार्यक्रममा हेम विष्टले साउण्ड सिस्टम व्यवस्थापन र एलइडी, फोटो-भिडियोग्राफी कुशल श्रेष्ठले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू