मंगलबार, वैशाख १६, २०८२
17:54 | २२:३९

शर्तसहित राजनीतिक अधिकारको नागरिकता दिन हाम्रो पार्टी खुला छ: डा स्वर्णिम वाग्ले

नेपाली लिङ्क अप्रिल २९, २०२५


लन्डन- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीहरूलाई केही शर्त राखेर राजनीतिक अधिकारसहितको नेपाली नागरिकता दिन आफ्नो पार्टी खुला रहेको बताएका छन्।

दक्षिण पूर्वी लन्डनमा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स (एसओएनपी) यूकेद्वारा आइतबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै डा वाग्लेले भियतनाम, ताइवान जस्ता देशहरु विदेशमा काम गरेर सीप र पूँजी लिएर स्वदेश फर्केका नागरिकहरुले नै बनाएको बताए।

गैरआवासीय नेपालीहरुको विषयमा पार्टीको प्रस्तावनामै उल्लेख गरेर स्पष्ट प्रतिबद्धता गर्ने रास्वपा नै एक मात्र पार्टी रहेको भन्दै डा वाग्लेले राजनीतिकबाहेकका अरु सबै अधिकारसहितको एनआरएनए नागरिकता संविधानमै व्यवस्था भइसकेका कारण तत्काल कार्यान्वयन हुनुपर्ने बताए।

नेपालको संविधानले राजनीतिक बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको प्रावधान राखेको भएपनि आफ्नो पार्टी राजनैतिक अधिकारका बारेमा चाहिं छलफल गरेर सशर्त रुपमा भइरहेकै नागरिकतालाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा रहेको उनले बताए। तर यसका लागि नेपालको भू राजनीति र भू-अर्थनीतिलाई पनि मध्यनजर गर्नुपर्ने उनले जनाए।

“तपाईंहरुले नागरिकताको सन्दर्भमा जुन अनुसन्धान गरिराख्नु भएको छ यो हामीहरुलाई दिनुस् जसले भोलिका दिनमा यस विषयको नीति निर्माणमा सहयोग पुगोस्,” उनले भने।

“हामीसंग धेरै समय छैन। भूराजनीति पेचिलो बन्दैछ। जलवायु परिवर्तनजस्ता विश्वव्यापी समस्यादेखि आन्तरिक रुपमा बसाइसराइ, अव्यवस्थित शहरीकरणजस्ता कैयौं मुद्दा छन्। अबको ५-१० वर्षमै नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा पुर्‍याउन जुन खालको आर्थिक पुनर्संरचना, लगानीको माहोल, डायस्पोरासंगको सहकार्यजस्ता थुप्रै आधारहरु आवश्यक पर्छन्, त्यही क्षेत्रमा काम गर्ने मेरो चाहना छ,” डा वाग्लेले भने।  


कार्यक्रममा डा ओम प्रसाद गौतमले डायस्पोरा नागरिकताको विश्वव्यापी अभ्यास र नेपालको सन्दर्भमा त्यसको सान्दर्भिकताबारे आफूहरुले गरिरहेको अनुसन्धानको बारेमा प्रस्तुति दिएका थिए। 

कार्यक्रमको सभापतित्व गरिरहेका एसओएनपी यूकेका अध्यक्ष गजेन कटुवालले नागरिकताको नाममा स्वार्थप्रेरित हिसाबले बहस भइरहेकोले अन्तरराष्ट्रिय सन्दर्भ र अभ्यासको आलोकमा नेपालले कस्तो नीति अपनाउंदा उपयुक्त हुन्छ भन्ने सुझाव दिन उक्त अनुसन्धान गरिंदै गरेको जानकारी दिए। 

उनले प्रवासमा हुर्कंदै गरेको नयाँ पुस्तालाई कसरी  मातृभूमिसंग कनेक्ट गर्न सकिन्छ भन्ने आफूहरुको चासो रहेको पनि बताए। उनले यो विषयको गम्भीरतालाई बुझेर शृंखलाबद्ध अन्तरक्रिया गरिरहेको पनि बताए।

संस्थाका महासचिव डा बिदुर घिमिरेले संचालन गरेको कार्यक्रममा संस्थाका उपसभापति डा रामजी पौडेलले सबैलाई धन्यवाद दिएका थिए। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू