मंगलबार, वैशाख १६, २०८२
02:09 | ०६:५४

यतीको नेतृत्व लिन टंक भट्टराई आए मैदानमा

नेपाली लिङ्क अप्रिल २८, २०२५

लन्डन । यती नेपाली एसोसिएसन यूकेका महासचिव टंक भट्टराईले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

लामो इतिहास बोकेको यस संस्थालाई समयअनुसार अघि बढाउन सक्ने युवा उम्मेदवारका रुपमा आफूलाई प्रस्तुत गर्दै भट्टराईले सो घोषणा गरेका हुन्।

यतीको ३१ औं अधिवेशन आउंदो ४ मेमा लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा हुने तयारी छ ।

‘पहिला उम्मेदवारी दिने सोच खासै नभए पनि विगत दुई वर्षको सक्रियता र संस्थालाई अघि बढाउन खेलेको नेतृत्वदायी भूमिकाका कारण धेरै अग्रज तथा साथीभाइहरूले जोड दिएपछि उम्मेदवार बन्न लागेको हुं’, उनले भने ।

लामो समयसम्म झन्डै निष्क्रिय अवस्थामा रहेको संस्थालाई पुनः सक्रिय बनाउन भट्टराईले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। ‘संस्थामा अझै धेरै काम गर्न बाँकी छ । निर्धारित रोडम्याप अनुसार कामलाई निरन्तरता दिन मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’, भट्टराईले भने ।

उनले लामो समयदेखि प्रमुख मुद्दाका रूपमा रहेको यती घर निर्माण आफ्नो प्रमुख प्राथमिकता रहेको पनि बताए ।

संस्थामा धेरै विषय समेट्नुपर्ने आवश्यकता रहेकाले विस्तारै सबैलाई समेट्दै अघि बढ्ने योजना रहेको उल्लेख गर्दै उनले अब आउने साधारणसभाले दिने निर्देशनहरु पनि अत्यन्त महत्वपूर्ण हुने स्पष्ट पारेका छन्। उनले अरु धेरैले संगै काम गर्न इच्छा देखाएको हुँदा समूहगत (प्यानल) रुपमा अघि बढ्ने सम्भावना रहेको पनि संकेत गरे ।

सामाजिक कार्य एक्लै सम्भव नभएको र सामूहिक रूपमा मात्र सम्पन्न गर्न सकिने योजनासहित अघि बढ्न आफू तयार रहेको उनले उल्लेख गरे ।

भट्टराईले आफूलाई यतीका अग्रज अभियन्ता तथा आदरणीय ट्रष्टीहरूको पूर्ण समर्थन र सहयोग रहने विश्वास व्यक्त गर्दै संस्थालाई अघि बढाउन युवा नेतृत्वलाई निरुत्साहित नगरी अझ सशक्त बनाउन सबै अभियन्ता र ट्रष्टीहरूको सकारात्मक भूमिका रहने अपेक्षा पनि व्यक्त गरेका छन्।

बेलायत तथा नेपालमा एक युवा व्यवसायी तथा सामाजिक अभियन्ताको परिचय बनाइरहेका यती महासचिव भट्टराई बेलायतमा सयौँलाई रोजगारी दिने केयर व्यवसायीको रूपमा चिनिन्छन् ।

नेपालमा सूचना प्रविधिमा समेत लगानी गरिरहेका भट्टराई कोडेक यूकेका पूर्व सचिव तथा अध्यक्ष समेत हुन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू