सोमबार, वैशाख १५, २०८२
20:24 | ०१:०९

सम्झना दशकअघिको महाभूकम्प: बेलायतका इन्जिनियरले सुझाए जोखिम न्यूनीकरणका उपाय

नेपाली लिङ्क अप्रिल २७, २०२५

लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोनेयूके) ले नेपालमा महाभूकम्पको एक दशक पुगेको अवसरमा मे २६, २०२५ शनिबार ‘२०१५ को नेपाल महाभूकम्पबाट सिकेका पाठहरू’ विषयक प्यानल छलफल आयोजना गरेको छ । शनिबार लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्ट हलमा सो कार्यक्रम गरिएको हो ।

त्यतिबेलाको भूकम्पले एक मिनेट भित्र लगभग ८ हजार ९५६ जनाको मृत्यु, २१ हजार बढी घाइते र एकलाख मानिसलाई घरबारविहीन बनाएको थियो ।

छलफल सत्र सुरुवातका क्रममा सोने यूकेका अध्यक्ष वरिष्ठ इन्जिनियर सुबोध तिमिल्सिनाले सत्रको उद्देश्यमाथि प्रकाश पार्दै तत्कालीन भूकम्पको विनाश स्मरण गर्दै फरक केन्द्रबिन्दुमा पुनः भूकम्प देखा परेमा न्यूनतम प्रभाव सुनिश्चित गर्न के कस्ता कदम चाल्न सकिन्छ भन्ने कुरा सारांश रुपमा प्रस्तुत गरे । यदि त्यस्तो विपत्ति नेपालमा फेरि आइपरयो भने देशको तयारीको मूल्याङ्कन गर्नेबारे पनि उनले चर्चा गरेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण ३० वर्ष बढीको अनुभव हासिल गरेका चार्टर्ड स्ट्रक्चरल इन्जिनियर सोने यूकेका पूर्व अध्यक्ष इन्जिनिर घनश्याम पौड्यालले गरेका थिए । प्यानलका सदस्यहरूमा किङ्स्टन युनिभर्सिटी लन्डनका स्ट्रक्चरल इन्जिनियरिङ लेक्चरर डा. ऋषि पराजुलीले ‘गोरखा भूकम्प २०१५ को पूर्व र पछिको परिदृश्य, सिकेका पाठ र अगाडिको बाटो’ शीर्षकको कार्यपत्र प्रस्तुत गरे ।

दोस्रो प्रस्तुतकर्ता भू-प्राविधिक इन्जिनियरिङ र जोखिम मूल्याङ्कनमा विशेषज्ञता भएका चार्टर्ड सिभिल इन्जिनियर डा. विनोद लाल अमात्यले ‘काठमाडौं उपत्यकामा २०१५ को भूकम्पको प्रभाव, भू-इन्जिनियरिङ दृष्टिकोण र अगाडिको बाटो’ विषयक कार्यपत्र प्रस्तुत गरे भने हार्टफोर्डसायर विश्वविद्यालयका वरिष्ठ लेक्चरर डा. रोहित अधिकारीले ‘नेपालमा आवासीय र विद्यालय भवनको भूकम्पीय सुरक्षाः २०१५ को भूकम्पबाट सिकेको पाठ र अगाडिको बाटो’ विषयक कार्यपत्र प्रस्तुत गरे ।

कार्यपत्र प्रस्तुतिपछि प्रश्नोत्तर सत्रमा विशेषज्ञले भूकम्पको सम्भावित खतरा र भविष्यको मार्ग सम्बन्धी सरोकारहरू उठाएका थिए । उक्त सत्रका मोडरेटर इन्जिनियर घनश्याम पौडेलले निष्कर्ष पढेर अध्यक्षलाई हस्तान्तरण गरे ।

समापन मन्तव्यका क्रममा अध्यक्ष इन्जिनियर सुबोध तिमिल्सिनाले सत्र मोडरेटर, सबै प्रस्तुतकर्ताहरू र सहभागीलाई सक्रिय सहभागिता, जिज्ञासा र सुझावका लागि धन्यवाद दिए। कार्यक्रममा आएका निष्कर्ष मननयोग्य रहेका र त्यसलाई गहन समीक्षा गरि आवश्यकता अनुसार सम्बन्धित अधिकारीहरूसँग थप छलफल गरिने अध्यक्ष तिमिल्सिनाले जनाए ।

झण्डै साढे दुई घण्टा लामो उक्त कार्यक्रममा ५५ भन्दा बढी पेशेवर इन्जिनियर र विकास प्रेमी नेपालीले भाग लिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू