अल्डरसटमा सिएनसिबिजीको पहिलो वार्षिक साधारण सभा सम्पन्न


लन्डन । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिजी) ले पहिलो वार्षिक साधारण सभा गरेको छ ।
गत २० अप्रिल आइतबार दि प्यालेस रेष्टुरेण्ट अल्डरसटमा संस्थाका अध्यक्ष थर्क रानाको सभापतित्व र नेपाल चाप्टर (भूतपूर्व सैनिक कल्याणकारी समिति नेपाल) का अध्यक्ष हुम बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
उक्त साधारणसभामा बेलायतस्थित विभिन्न संघसंस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सल्लाहकारहरु, केन्द्रिय समितिका सदस्य साथै सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।
उक्त कार्यक्रम दुई खण्डमा भएको थियो । दिउसो १ बजे साधारण सभा शुरु भएपछि नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नेपालबाट आएकी चर्चित गायिका पवित्र गुरुङको प्रस्तुतिमा सांगीतिक कार्यक्रम गरियो ।
कार्यक्रम उद्घाटन अध्यक्ष थर्क राना र प्रमुख अतिथि थापाले पानसमा बत्ती बालेर गरेपश्चात नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएर सुरुवात गरिएको थियो ।
श्रीमती शोभा राना र श्रीमती रामलादेवी राईले विशिष्ठ अतिथि र अतिथिलाई खादा लागाएर स्वागत गरेका थिए । महासचिव भक्त रानाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दल बहादुर बुढाथोकीले स्वागत मन्तव्य र कोषाध्यक्ष याम थापाले संस्थाको अहिलेसम्मको आर्थिक विवरण प्रस्तुत गरे । सह प्रवक्ता दीर्घ गुरुङले संस्थाको विधान प्रस्तुत गरि पारित गराइएको थियो ।
त्यसपछि प्रमुख अतिथि हुम थापाले नेपाल च्याप्टर तथा समितिको विषयमा जानकारी दिए ।
सिएनसिबिजीका अध्यक्ष थर्क राना, केन्द्रिय सदस्य कृष्ण राई र सल्लाहकार भूपू मेजर बीरबहादुर सुनुवाको एक डेलिगेसन नेपाल गएका बेला सिएनसिबिजी र भूपू सैनिक कल्याणकारी समितिको संयुक्त संयोजकत्वमा गृहमन्त्री रमेश लेखकको भेट लगायत १० फागुन शनिबार ललितपुरको जावलाखेल स्थित सालिग्राम होटेलमा भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा पूर्व मन्त्री तथा सांसदहरुको उपस्थितिमा गरिएको जानकारी भेला र विभिन्न मन्त्रालय एवं पार्टी कार्यालयमा पुगी बुझाइएको ज्ञापनपत्रहरुबारे केन्द्रिय सदस्य राईले विस्तृत अपडेट गराएका थिए ।
कार्यक्रममा सल्लाहकार डा. मुलिवीर राईले वंशजको आधारमा नेपाली नागरिकता निरन्तरता अभियान तथा यसको महत्व र आवश्यकताबारे विभिन्न तथ्य र आधारहरु पेश गर्दै सबैलाई सिएनसिबिजीको अभियानमा स्वतस्फूर्त जोडिएर सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
त्यसैगरी गोर्खा अभियन्ता, अनसनकर्ता एवं नेपाल समाजवादी कांग्रेस पार्टीकी उपाध्यक्ष पुष्पा राणा घलेले सन्धि सम्झौता अन्तर्गत भर्ती भएका गोर्खाली र तिनका सन्ततिलाई नेपाल सरकारले बिना शर्त नागरिकता निरन्तरता दिनुपर्छ भन्दै त्यस कुरामा नेपाल सरकारलाई दबाव सिर्जना गर्न र सम्वोधन गराउन सबै गोर्खा संघसंस्थाबीच एकताको खाँचो औंल्याइन् ।
त्यस लगत्तै गेसोका उपाध्यक्ष होम तामाङ्गले सिएनसिबिजीका अध्यक्ष थर्क रानासमक्ष तपाईं तत्कालिन बिजिएनसिसिसी यूके अध्यक्ष हुँदा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाउने क्रममा उक्त ज्ञापनपत्रमा गोर्खा भूपू सैनिकलाई ‘गैर आवासीय गोर्खा नेपाली’ भनियोस् भन्ने सुनिन्छ के त्यो वास्तविकता हो ? भन्ने प्रश्न गरेका थिए ।
जवाफमा अध्यक्ष रानाले भने, ‘त्यसबेलाको परिस्थितिमा एनआरएनएका अध्यक्षहरुले सिधा गोर्खालाई भटाभट एनआरएनएको सदस्यता वितरण गरिरहेको अवस्था थियो । त्यसैले गोर्खाहरुलाई एनआरएन भन्दा फरक हुन् भन्ने देखाउन कल्पना गर्दै गर्दा उब्जिएको शब्द हो त्यो, जुन यहाँहरु जस्ता हाम्रा धेरै साथीलाई मन नपरेको हुँदा मैले त्यतिबेलै एनआरएन भन्ने शब्द अब उप्रान्त प्रयोग गरिने छैन भनेर माफी मागिसकेकै हो । अब त त्यसलाई छोडेर हामी धेरै अगाडि बढिसकिएको र त्यसले गर्दा नै आज हामी यहाँसम्म आइपुगेको अवस्था छ । त्यसबेलादेखि आजसम्म हाम्रो संस्थाले गोर्खाहरुको सम्बन्धमा ‘एनआरएन’ भन्ने शब्द कहीं कतै प्रयोग गरेको छैन र अब पनि गर्ने छैन । त्यतिले मात्र तपाईंहरुको चित्त बुझेको छैन भने म अहिले पनि यही मञ्चबाट यहाँहरुसमक्ष माफी माग्छु।’
रानाले बिजिएनसिसिसी यूकेबाट किन सिएनसिबिजी बन्यो भन्ने प्रश्नबारे पनि बिजिएनसिसिसी यूकेलाई च्यारिटीमा दर्ता गराउने क्रममा ब्रिटिश भन्ने शब्द अगाडि राख्दा बेलायतको कानुन अनुसार त्यो संस्था दर्ता गर्न नमिल्ने भएकाले सिएनसिबिजी नामाकरण हुन गएको प्रष्ट्याए ।
कार्यक्रममा देउकुमार गुरुङ्गले नेपाल सरकारलाई सन्धीसंग जोडेर उसले सन्धी उल्लंघन गरेको भनि मुद्दा हाल्न सकिन्छ भनिएको छ । के नेपाल सरकारले सन्धी मान्नै पर्ने त्यस्तो अन्तराष्ट्रिय वाध्यता के छ ? भन्ने प्रश्न सोधेकामा सिएनसिबिजीका सहप्रवक्ता तथा केन्द्रिय सदस्य दीर्घ गुरुङ्गले जवाफ दिए, ‘बेलायती सेनामा नेपाली नागरिक (ब्रिटिश गोर्खा) हरू भर्तीसम्बन्धि व्यवस्था ऐतिहासिक रूपमा दुई राष्ट्रबीच भएको परम्परागत सहमति तथा दस्तावेजमा आधारित अन्तर्राष्ट्रिय प्रकृतिको व्यवस्था रहेको र यस किसिमको व्यवस्था Vienna Convention on the Law of Treaties, 1969 (VCLT) अन्तर्गतको सन्धिको रुपमा विश्लेषण गर्न सकिन्छ । उक्त सन्धिको धारा २६ ले यस्तो व्यवस्था स्पष्ट रुपमा मान्यता दिएको छ । जसअनुसार “प्रत्येक वैध सन्धि त्यसका पक्षधर राष्ट्रहरूका लागि वाध्यकारी हुन्छ र त्यसलाई उनीहरुले विश्वासपूर्वक कार्यान्वयन गर्नुपर्ने हुन्छ।’
उनले अगाडि थपे- ‘त्यसैगरी, धारा २७ ले कुनै पक्षधर राष्ट्रले आफ्नो आन्तरिक कानुनको आधारमा सन्धी नमान्ने वा सन्धिको नीति नियम पालना नगर्ने हो भने उसलाई अन्तर्राष्ट्रिय सन्धी कानुन लागू हुनेछ । यसकारण यदि नेपाल सरकारद्वारा बेलायती गोर्खा भर्तीलाई अन्तर्राष्ट्रिय सन्धिका रुपमा नमान्ने अडान लिन्छ भने उक्त अडान भिसिएलटी अन्तर्गतको अन्तर्राष्ट्रिय कानुनी सिद्धान्त विपरित हुनेछ । त्यस अवस्थामा VCLT (भिसिएलटी) को धारा २६ र २७ को उल्लंघन गरेको आधारमा सम्बन्धित पक्षहरुले अन्तर्राष्ट्रिय अदालत वा अन्य अन्तर्राष्ट्रिय कानुनी संयन्त्रमार्फत मुद्दा दर्ता गर्न सक्ने अधिकार रहेको हुँदा नेपाल सरकारले सन्धिलाई मान्नै पर्ने वाध्यता हुन्छ ।’
पहिलो सेसनको अन्त्य गर्ने क्रममा कार्यक्रममा आएका तमु पेल्हु संघ यूकेका अध्यक्ष क्या. (रि) डेम बहादुर गुरुङ, तमु धिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन मगर, जिमी राई उत्थान समाज यूकेका क्या. सहविर राई, बुटवल एसोसिएसन यूकेका क्या. (रि) ताम ढेंगा, तमु समाज केन्टका क्या. (रि) डोल बहादुर गुरुङ, पैयुखोला मगर समाज यूकेका अध्यक्ष नेत्र आले, गोर्खा नेपलिज कम्युनिटी पिटरबरोका सचिव तुल पुन र निर्मल थापा मगर महासचिव, मगर बुद्धिष्ट सोसाइटी यूके, देव बहादुर गुरुङ अध्यक्ष कोशोभो गुरुङ समाज यूके, नरेन्द्र नेम्बाङ्ग योगा गुरु, नरेश गुरुङ पूर्व अध्यक्ष बिसिसी यूके, देउ गुरुङ संस्थापक कोशोभो गुरुङ समाज यूके, सल्लाहकारहरु क्या. (रि) वीर बहादुर गाहा, क्या.(रि) रणध्वज राना, क्या.(रि) लाल बहादुर राना, क्या.(रि) डेम बहादुर गुरुङ, ले.(रि) प्रेम तामाङ, मे.(रि) भिम बहादुर गुरुङ एम.भि.ओ. संस्थापक अध्यक्ष कोशोभो गुरुङ समाज यूके, मे.(रि) कुल बहादुर थापा, डा. मुलिवीर राई, नारायण किशोर पुन, क्या. सहविर राई, डा. चजिन्द्र राना, क्या. सहवीर राईसहित सबैलाई समर्थन र एक्यवद्धताका लागि धन्यवाद ज्ञापन गरिएको थियो ।
दोस्रो चरणमा डि.सि.एम. सोभराज गुरुङ र ८४ वर्षीय क्या. रि वीर बहादुर गाहा मगर र चर्चित गयिका पवित्र गुरुङले नयाँ वर्षको धमका मच्चाए । सम्पूर्ण कार्यक्रम राती १० बजे अन्त्य भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५