आइतबार, वैशाख १४, २०८२
03:20 | ०८:०५

पर्वत वेलफेयर सोसाइटी यूकेमा नयाँ नेतृत्व, सुरज पौडेल बने अध्यक्ष

नेपाली लिङ्क अप्रिल २६, २०२५

लन्डन । बेलायतको पुरानो संस्था पर्वत वेलफेयर सोसाइटी यूकेमा नयाँ नेतृत्व आएको छ ।

शनिबार अल्डरसटको एम्पायर ब्यांकेटिङमा सम्पन्न संस्थाको ११औं अधिवेशनले सुरज पौडेलको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको हो ।

सोसाइटीले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेको छ । पौडेल यसअघि उपाध्यक्ष थिए ।

नवनिर्वाचित कार्यसमितिको पाँच जना उपाध्यक्षमा सन्जयध्वज भण्डारी, भिमलाल भट्टराई, कुलराज गुरुङ, श्रीमति सुप्रिया गुरुङ र नारायण गिरी निर्वाचित भएका छन् भने महासचिवमा बाबुराम भुषाल र उपमहासचिव निर्मला गुरुङ चुनिएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा विकास सापकोटा र सहकोषाध्यक्षमा अस्मिता शर्मा आचार्य चयन भए ।

अध्यक्ष सुरज पौडेल

कार्यसमिति सदस्यहरुमा बलबहादुर थापा, पार्वती थापा, रक गुरुङ, जमुना थापा, जुना दर्लामी, चन्दन गुरुङ, रामचन्द्र तिवारी, स्वस्तानी गुरुङ, विष्णु गुरुङ, सुनिल गुरुङ, धनबहादुर हितान, पम्फा थापा र सोनिया गुरुङ निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड कृष्ण गुरुङले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गर्दै शपथ ग्रहण गराएका थिए भने निर्वाचन समितिका प्रमुख संयोजक एवम् सोसाइटीका संस्थापक अध्यक्षसमेत रहेका एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, निर्वाचन समितिका सदस्यहरु पूर्व अध्यक्षहरु पुरन गिरी, दधि आचार्य र नेत्र आलेले खादासहित बधाइ दिए ।

यसअघि निवर्तमान समितिकी अध्यक्ष अप्सरा गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन सत्रमा प्रमुख अतिथी संस्थापक अध्यक्ष एवं एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङले संस्था जन्माउंदा सानो स्केलबाट शुरु भएको र आफ्नो जिल्लावासीलाई कसरी एकै ठाउंमा ल्याउने भन्ने सोचले संस्था जन्मिएको बताए ।

‘त्यतिबेला हामी चार जनाले तीजको बेला दिदीबहिनीलाई बोलाएर जमघट शुरु गरेका थियौं’, उनले थपे ।

सोसाइटीले आफ्नो जिल्लामा उल्लेखनीय काम गरेको उल्लेख गर्दै संस्था छिट्टै च्यारिटीमा दर्ता हुन लागेको पनि जनाए । संस्थामा संख्यात्मक हिसावले थोरै जना भएपनि यती एसोसिएसनपछि यही नै पुरानो भएको जनाए । उनले नयां कार्यसमितिलाई बधाई तथा शुभकामना समेत दिएका थिए ।


पूर्व अध्यक्ष पुरन गिरीले सोसाइटी नै आफ्ना लागि विदेशमा पहिलो खुट्किलो रहेको बताए । ‘हामीले सोसाइटीमार्फत पर्वतको नाम उच्च राख्न कोशिस गरयौं । यही संस्थालाई बेस बनाएर धेरै पर्वतेहरुले प्रमुख संस्थाको नेतृत्व लिएका छन्’, उनले भने । गिरीले नयां कार्यसमितिलाई शुभकामना र बधाई समेत दिए ।

अर्का पूर्व अध्यक्ष दधि आचार्यले अप्सरा गुरुङको कार्यकाल स्वर्णिम भएको उल्लेख गर्दै नयां कार्यसमितिलाई बधाइ दिए । आचार्यले गत वर्ष आफू पर्वत गएर गाउंका गरिव तथा जेहेन्दार ५२८ जना विद्यार्थीलाई लत्ताकपडा र स्टेशनरी सामग्री वितरण गरेको बताए ।

त्यस्तै अर्का पूर्व अध्यक्ष नेत्र आलेले अप्सरा गुरुङको कार्यकालमा धेरै राम्रो काम भएको भन्दै धन्यवाद र नयां टिमप्रति बधाइ ज्ञापन गरे ।

निर्वाचन समितिका सदस्य सचिव एवं सल्लाहकार मेजर रि. कृष्ण गुरुङले संस्थामार्फत नयां पुस्तालाई मातृभूमिप्रति जोड्न काम गर्नुपर्ने जनाउंदै नयां टिम एकदम राम्रो बनेको जनाए ।


मन्तव्यका क्रममा सल्लाहकार ज्ञाम गुरुङले संस्थाको शुरुवातका दिन स्मरण गरे । तत्कालिन कार्यसमितिले फ्रिम्लीग्रीनमा लुकेर कार्यक्रम गर्दै यसलाई निरन्तरता दिएको बताउंदै अहिले यो वृहत भइसकेको बताए । गुरुङले नयां कार्यसमितिलाई बधाई दिंदै सिल्भर जुब्ली भव्य रुपमा मनाउने तयारी गर्न पनि सुझाए ।

‘पर्वत वेलफेयरबाट धेरै जनाले नेतृत्व लिइसकेका छन् । अप्सरा बहिनीले पहिलोपटक महिला नेतृत्व सफलतापूर्वक पूरा गरेकामा बधाई दिन चाहन्छु’, उनले भने, ‘मलाई लाग्छ बेलायतको सबैभन्दा ठूलो संस्था तमुधिं यूके पछाडि छौं हामी । सोसाइटीले अग्रपंक्तिमा रहेर मानवीय र सामाजिक कार्य गर्दा गर्व लाग्छ ।’

कार्यक्रममा सल्लाहकार ले. रि. चन्द्र गुरुङले पर्वते हुनुमा गर्व लाग्ने बताए । उनले सोसाइटी स्थापना र विगतबारे पनि स्मरण गरे । अर्का सल्लाहकार ले. कुसाङ गुरुङले पूर्व अध्यक्षहरु, सल्लाहकार र समस्त कार्यसमितिले सोसाइटीलाई उच्च स्थानमा पुरयाउन धेरै मिहेनत गरेको बताउंदै यसलाई कायमै राख्न नयां कार्यसमितिलाई शुभकामना दिए ।


सो अवसरमा सल्लाहकारहरु क्याप्टेन रि. लालबहादुर राना, एक पुन लगायतले पनि मन्तव्य दिएका थिए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष भीमलाल भट्टराई नेपाल गएकाले महासचिव सन्जयध्वज भण्डारीले आयव्यय विवरण प्रस्तुत गरेका थिए । भण्डारीले यो कार्यसमितिले सोसाइटीका तर्फबाट धेरै काम गरेको जनाउंदै जिल्लामा गरिव तथा जेहेन्दार ५२८ विद्यार्थीलाई लत्ता कपडा र स्टेशनरी प्रदान गरेको, पर्वत जिल्लावासीलाई परेको हरेक आपतविपतमा व्यक्तिगत तथा संस्थागत रुपमा निरन्तर आर्थिक सहयोग गरिएको जनाए ।

अध्यक्ष अप्सरा गुरुङले आफ्नो कार्यकालमा भएका मुख्य कामबारे अवगत गराउंदै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् । उनले नयां टिमलाई बधाईसहित आफ्नोतर्फबाट निरन्तर सहयोग रहिरहने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू