शनिबार, वैशाख १३, २०८२
17:55 | २२:४०

लन्डनमा हंसाउन राजेश सन्दीप तयार, नवीन के भन्छन्-उत्कृष्ट गर्ने प्रयासमा छौं

नेपाली लिङ्क अप्रिल २६, २०२५

लन्डन । नेपाली चलचित्रमा अभिनय गरेर झण्डै ३५ वर्ष बिताइसकेका महानायक राजेश हमाल पहिलोपटक स्ट्याण्डअप कमेडीका लागि लन्डनमा स्टेज सेयर गर्दैछन् मिष्टर ह्याप्पी सन्दीप क्षेत्रीसंग ।

अभिनयबाट हांस्यव्यंग्य विद्यामा स्वीच गर्नु कति चुनौति छ ? शुक्रबार सांझ लन्डनमा आयोजित प्रेस मिटमा महानायक हमालले भने, ‘साथीभाईहरुलाई हंसाए जस्तो स्टेजमा गएर सबैलाई हंसाउनु पक्कै सहज छैन् । तर, जीवनमा केही फरक गरौंन त भन्ने लागेर स्ट्याण्डअप कमेडी गर्दैछु । उत्साह पनि छ, केही डर पनि ।’

भोलि २७ अप्रिल आइतबार सांझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा हमाल र सन्दीप क्षेत्रीले झण्डै सवा दुई घण्टा हंसाउने छन् । ‘मैले राजेश दाईमा धेरै ‘सेन्स अफ ह्युमर’ देखेको छु’, प्रेस मिटमा संगै रहेका क्षेत्रीले भने, ‘उहां अभिनयमा जति सिरियस हुनुहुन्छ, हंसाउन त्यत्तिकै खप्पिस भएकाले दाईसंग मेरो केमेष्ट्री मिल्यो ।’

उनले हमालसंग विश्व टुर गर्ने लक्ष्यसहित सहकार्य गरेको पनि जनाए । ‘मैले शुरुमा दाईलाई यस्तो कार्यक्रम गरौं भनेर अफर गर्दा उहांले ह्वाइ नट तर कमेडीका लागि तयारी गर्न त केही समय चाहिन्छ के कस्तो छ सोध्नु भयो’, क्षेत्रीले सुनाए, ‘मैले समय बताएपछि झण्डै ४ महिनादेखि हामी यसमा लाग्यौं । नाउ वी आर रेडी टु परफर्म ।’

राजेश सन्दीपकै स्टेजमा लाखौं युवामनका ढुकढुकी गायक नवीन के भट्टराई र उनको व्याण्ड ‘अतृप्त’ का सदस्यहरु पनि लाइभ म्यूजिकमा परफर्म गर्दैछन् । पत्रकार सम्मेलनमा नवीन के. ले आफूहरुले सक्दो उत्कृष्ट प्रस्तुति दिन प्रयास गर्ने बताए । ‘सधैं एउटै कामले दिक्क भएजस्तो लागेर बीचमा म ६-७ वर्ष ओझेल परेको थिएं । अब फेरि हामी स्टेजमा सक्रिय भएका छौं’- गायक भट्टराईले भने । उनले बेलायतका दर्शकहरुसंग धेरै लामो समयपछि साक्षात्कार गर्न पाउंदा उत्साहित भएको बताए ।

आयोजक माया इभेन्ट्सका निर्देशक राज पाण्डेले कलाकारहरुलाई स्वागत गर्दै कार्यक्रम तयारीबारे जानकारी दिएका थिए । आयोजककै तर्फबाट डा. रक्षा थापाले लिजेन्ड्री कलाकारहरुलाई निम्त्याएर कार्यक्रम गर्न पाएकोमा आफूलाई गर्व लागेको बताइन् । ‘हांसो र गीत संगीत पनि स्वास्थ्यसंग नै सम्बन्धित छ’, केयर व्यवसायमा आवद्ध थापाले भनिन्, ‘हामीले यो कार्यक्रम वेल बिइंगकै उद्देश्यले राखेका हौं ।’ उनले इभेन्टमा आएर रमाइलो गर्न बेलायतवासी सबै नेपालीसमक्ष आग्रह गरिन् ।

इभेन्ट ऐतिहासिक बनाउने तयारी भइरहेको आयोजकको दावी छ । उल्लेखित कलाकारहरुको परफर्मेन्स लन्डन ह्यारोमा मात्र हुनेछ । तस्विर सौजन्यः लुमी

टिकट किन्न 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू