ब्रिटिश गोर्खा संग्रहालयको भित्तामा लाहुरे वीरताको गाथा


गत फेब्रुअरीमा मलाई यस जगतबाट ठुलो कृपा भयो र ‘ब्रिटिश गोर्खा हिस्ट्री संग्रहालय’ भ्रमण गर्ने शुभ मौका मिल्यो । भित्ताहरुमा टाँगिएको तस्विरहरुले थुप्रै वीरताको मौन भाषाहरु बोलिरहेका थिए । उहाँहरुको चित्कार र अमरत्वको आवाजहरु थिए । सुनाउंदै हुनुहुन्थ्यो “म हाँस्दा हाँस्दै अस्ताएको थिएँ, अन्तिम शब्द आमा आइया म मरेँ…भन्ने थियो ।”
म उहाँहरुको मौन आवाजहरु शब्दमा उतार्ने कोशिस गर्दैछु आज । यी कथाका साक्षी जसले गोलीले छटपटाउँदै गर्दा जलका घुट्का पिलाउने लाहुरेहरु, जो आज ति वीरताको गाथालाई सम्हाल्दै संग्रहालयले “एउटा योद्धाको कथा” वीरताको विरासतलाई न्याय दिलाउंदै छन् ।
म आर्मीको कथा सुन्दै हुर्किएकी एक छोरी । बर्माको युद्ध होस् अर्थात् नालापानीको युद्ध, पृथ्वी नारायण शाहको एकताको युद्ध होस् या ईष्ट इन्डिया कम्पनीको युद्ध अथवा विश्वयुद्ध । धेरै धेरै यस्तै कथा सुन्दै निदाएकी हुन्थी म।
त्यस दिन ति भित्ताहरूले मलाई मेरो बुढो हजुर बुबा, जसको वीरताको कथा मात्र ज्ञानमा थियो । तर त्यस दिन उहाँसँग प्रत्यक्ष भेट्ने मौका पाएँ ब्रिटिश गोर्खा हिस्ट्री म्यूजियमको भित्तामा ।
मेरो बुबाको हजुर बुबाको नाम जगतबहादुर सिम्खडा थियो । मेरो हजुर बुबा गर्भमा हुदाँ बर्माको लडाईमा उहाँले सहादत प्राप्त गर्नु भएको रहेछ । मैले जब उहाँलाई सम्झन खोजें उहाँको नाम नै जगतसँग जोडिएको रहेछ जगत हितका लागि । आफ्नो व्यक्तिगत हित पर सार्दै जगतको शान्तिका लागि आफ्नो जीवन वलिदान गर्नुभयो ।
कुन सपना, कुन विचार र भाव लिएर घरबाट पाइला चाल्नु भयो होला? आफ्नो गर्भवती प्रियालाई के सन्देश छाडेर गीत गाउंदै निस्कनु भयो होला ? मेरो बुबाले सुनाउनु हुन्थ्यो उहाँले गाउनु भएको गीत ‘भात खाउँ तरकारी घिरौंला वैरी मारी गाउँ घर फिरौंला ।’
तर, गर्भभित्र रहेको छोरोले जीवन भरी कुर्नु भयो तर कहिल्यै भेट भएन । संगै जीवन जीउने कसम खाएका जीवनसंगिनी श्रीमान आउने बाटो कुर्दा कुर्दै गर्दा तर मृत्यु पत्र प्राप्त भयो र यही पत्र सिरानीमा च्यापेर जीवन पूर्ण गर्नुभयो ।
उहाँले लगाउनु भएको चौतारी जसको नामाकरण “गुरुङ चौतारो” हो र अझै पनि उनै लाहुरेको प्रतिक्षामा जगतलाई अक्सिजन बाढ्दै छ, प्राण उर्जा दिंदै छ । उहां अझै पनि त्यही चौतारीमा जीवित हुनुहुन्छ जस्तो महसुस हुन्छ।

अजिता सिम्खडा
धादिङ जिल्लाको एक वस्ती जसलाई रातमाटे गाऊं भनेर चिनिन्छ । त्यो वस्ती, ती गोरेटाहरू, वन जंगल, चरा चुरूगींहरू अझै पनि तिनै लाहुरेको प्रतिक्षारत छन् जस्तो लाग्छ।
म अटल हिमालहरूमा उनैको प्रतिविम्व देख्छु र सलाम ठोक्छु मेरो बुढो हजुर बुबालाई र अन्य हजारौं लाहुरेहरूलाई ।
उक्त संग्रहालयको भित्तामा टाँगिएको तस्विरहरुको पुकारहरु सुन्दै गर्दा आँशु बर्सियो मलाई र बर्सिरहने छ । लाउंला, खाउंला भन्ने उमेरमा मुग्लान पसेर ‘आमा आइया’…भन्दै ढलेका यी सिपाहीहरूको रोदन बुझ्न खोज्दै छ यो संग्राहलय ।
यही संग्रहालयका कारणले नै मेरो बुढो हजुर बुबासंग पुनर्मिलन भयो । दुर दराजमा थन्किएको कथा फेरी सम्झनामा आयो ।अनि मलाई मेरो कहानीमा सुनेको बुढो हजुरबुबासंग भेट हुने मौका मिल्यो र आँशु साटासाट गर्यौं ।
हजुरको आशीर्वाद लिंदै आजको यो ०३/०४/२०२५ दिन हजुरलाई समर्पण गरें । सायद हजुरलाई र हजुर जस्ता लाहुरेहरूलाई पुनर्जिवित गराउन खातिर मेरी छोरी अनुशाको लागि रोजगारी उक्त संग्रहालयमा मिलेको हुन सक्छ । नातिनीलाई लाखौं लाख आशिर्वाद दिनु होला ।
अग्लो कद, सुन्दर शारीरिक बनोट, हक्की स्वभावको हुनु हुन्थ्यो रे । हजुरको व्यक्तित्वको कल्पना गर्दै यी हरफहरुमा हजुरको दर्शन गर्दैछु । बिर्सिएको कथा आफ्ना सन्तान र दर्सन्तानलाई हस्तान्तरण होस् भन्ने कामना पनि गरेकी छु । सायद यी अक्षरहरुले हजुरलाई पुनः जीवित बनाउन सहयोग गर्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु । हजुर मेरो चेतनाको सम्पूर्ण हिस्सा भएर रहनु होला । अनन्तकालसम्म हाम्रो नाता रहिरहोस् मेरो कामना हजुर बुबा ।
सम्पूर्ण लाहुरेहरू जसले आफ्नो प्राण युद्धमा वलिदान गर्नु भयो उहांहरूप्रति श्रद्धासुमन टक्र्याउंदै आजलाई यी अक्षरी समर्पणसहित यी हरफहरूको बिट मारें ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५