शुक्रबार, वैशाख १२, २०८२
12:54 | १७:३९

लन्डन बसेर विश्वका १० मुलुकमा साइबर सुरक्षा हेर्छन् कुंवर (भिडियो)

नेपाली लिङ्क अप्रिल २५, २०२५

लन्डन । नेपाललाई एसिया र ग्लोवल्ली साइबर सेक्युरिटी एवं टेक्नोलोजीको ‘इनोभेसन हब’ बनाउने लक्ष्यसहित अगाडि बढिरहेका छन्, निरन्जन कुंवर ।

बेलायत मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सलुसनमा कार्यरत छन् साइबर सुरक्षा विज्ञ कुंवर ।

उनी आवद्ध आइटी, साइबर सेक्युरिटी फर्म जेनेस सलुसन क्लाउड सर्भिस प्रोभाइडर पनि हो । यसका यूकेबाहेक बंगलादेश, नाइजेरिया, अमेरिकासहित १० वटा देशमा शाखा छन् । नेपालमा एकसय हाराहारी कर्मचारी कार्यरत छन् ।

‘नेपाललाई जलश्रोत, कृषिप्रधान देश भनेपनि प्रविधिमा कसैले रोक्न सक्दैन । छिमेकीको तुलनामा हामी १० वर्षमात्र पछाडि छौं’, उनले भने, ‘नेपालमै अवसर क्रिएट गर्न म जेनेसमा आवद्ध भएको हुं । नेपालमा पनि डिजिटल ट्रान्सफर्मेसन भइरहेको छ । टेक्नोलोजी कम्पनी धेरै छन् नेपालमा । सम्भावना र चुनौति दुवै छ त्यहां ।’

२६ वर्षको आफ्नो अनुभव नेपाललाई दिन चाहेको उनले बताए ।

उनी ६ महिनादेखि जेनेसमा ग्लोबल चिफ टेक्नोलोजी र चिफ सेक्युरिटी अफिसर छन् । ‘साइबर सेक्युरिटी अहिले एकदम महत्वपूर्ण छ । डेटा चोरी, ह्याकिङ आदि जोखिम रोक्ने प्रविधि उपलव्ध गराउन हामी काम गर्छौं’, उनले भने । 

पोखराका स्थायी बासिन्दा हुन् कुंवर। पोखराकै माउण्ट अन्नपूर्ण बोर्डिङ स्कुल पढे । पोखरामा एसएसलसी सकेर अस्कलबाट आइएससी उत्तिर्ण भएपछि थप अध्ययनका लागि सन् १९९२ मा रुस गए उनी । एक वर्ष रुसी भाषा सिकेर रेडियो कम्युनिकेसन र इलेक्ट्रोनिक्स इन्जिनियरिङमा मास्टर्स गर्न सेन्ट पिटर्सवर्ग पुगे । स्टेट युनिभर्सिटी अफ टेलि कम्युनिकेसनमा ५ वर्षको कोर्स थियो ।

त्यतिबेला भर्खर इन्टरनेट आएको थियो । तेश्रो वर्ष पढ्दा पढ्दै अर्को युनीमा बेलुका आइटी पढ्न थाले किनकि विश्वमै आइटी स्कोप बढिरहेको थियो । नेपाल फर्कनुअघि ६ वर्षमा ल्याङ्वेजसहित टेलिकम्युनिकेसन र आइटी डिग्री लिएर फर्किएका थिए कुंवर । 

‘रुसमा पढेपछि त नेपालमा केही काम पाउंछु, डिमाण्ड होला भनेर उत्साहित भएर गएको तर काम पाइएन । काठमाडौं तीन महिना बसेर सबैतिर अप्लाई गरें । भोलेन्टियर गर्छु भन्दा पनि दिएनन्’, उनले विगत संघर्ष स्मरण गरे, ‘पोखरा फर्किएपछि पोखराकै हिमालयन कम्प्युटर्समा फ्रिमा काम शुरु गरेर पछि जागिरे भएं ।’ 

कम्प्युटर सप्लाई, मर्मत, इन्टरनेटको काम थियो त्यहां । १० महिना काम गरेपछि सन् १९९९ मा हङकङ जाने अवसर मिल्यो उनलाई ।

शुरुतिर त उनलाई हङकङमा पनि काम पाउन गारहो भएको थियो । श्रीमतिको रेष्टुरेन्टको सानो कामले सर्भाइभ गर्नु परेको थियो । ब्रिटिश काउन्सिलमा निशुल्क कम्प्युटर प्रयोग गर्न पाइन्थ्यो । तीन महिनापछि उनले जापनिज कम्पनी इन्टरनेट सलुसन लि. मा जुनियर इन्जिनियरका रुपमा काम पाए । पछि तीनवटा विभागको संयोजक भए उनी । इन्टरनेट सोलुसन लि. मा नेटवर्क, साइबर सेक्युरिटी आदिको जिम्मेवारी लिएर करिब ८ वर्ष काम गरे उनले ।

हङकङको पोलिटेक्निक युनिभर्सिटीमा सन् २००५ मा आइटीमा मास्टर्स पनि गरे ।

सन् २००७ मा हङकङ छोडेर त्यही साल यूके आए निरन्जन । करिब १८ वर्षको यूके बसाइमा उनले धेरै मल्टिनेशनल कम्पनीमा काम गरे । बेलायत आएको एक हप्तामै काम पाएका थिए । यहां करिअर प्रोगेसन धेरै राम्रो भएको उनी बताउंछन् । मल्टिनेशनल अमेरिकी कम्पनीमा काम गर्ने अवसर पाए । अनिल अम्बानी र मुकेश अम्बानीको रिलायन्स ग्लोवल कम्पनीमा तीन वर्ष र माइम काष्टमा एक वर्ष काम गरे । पोलिकम अमेरिकी कम्पनीमा नेटवर्क म्यानेजर भएर काम गरेको अनुभव पनि उनीसंग छ । अमेरिकी साइबर सेक्युरिटी कम्पनी म्याकअफीमा दुई वर्ष काम गरे । 

अमेरिकाको एट्लान्टा मुख्यालय रहेको इन्भेस्कोमा हेड अफ ग्लोवल एण्ड इन्फास्ट्रक्चर्स एन्ड एप्लिकेशन सेक्युरिटी भएर साढे ५ वर्ष काम गरेका थिए निरन्जनले । 

अर्को अमेरिकी कम्पनी भोन्टियरमा पनि इन्फर्मेएसन सेक्युरिटीको सिनियर डिरेक्टर भएर तीन वर्ष काम गरे । कुंवरले सन् २०२२ मा अमेरिकाको क्वान्टेक युनी अफ टेक्नोलोजीमा एक्जुकेटिभ एमबीए डिग्री समेत गरे उनले ।

सन् २०१८ तिर निरन्जन र साथीहरु मिलेर नेपालमा साइबर सेक्युरिटी कम्पनी खोल्ने प्रयास गरे । उनी नेपाल गएर केही आइटी कम्पनीसंग सहकार्य गर्न सकिन्छ कि भनेर भेटघाट पनि गरे तर सोचेजस्तो भएन । सन् २०२३ मा जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलसंग भेट भएपछि साइबर सेक्युरिटी डिपार्टमेन्ट खोल्ने सल्लाहमा जेनिसमा लगानी गर्दै भित्रिएका थिए कुंवर । साइबर सेक्युरिटी डिभिजनमा को-फाउण्डर भए उनी र अन्जनी । 

जेनेसका क्लाउड कम्युटिङ, साइबर सेक्युरिटी, सफ्टवेयर डेभलप्मेन्ट र म्यानेज सर्भिसेस् सेवा छन् । ए आइलाई आइटी रेभुलोसनमा महत्वपूर्ण ठान्छन् उनी । ‘समाज परिवर्तन गर्ने वाला छ यसले । ए आइ कसरी इन्टिग्रेट गराउने भन्ने मुख्य कुरा हो’, उनले सुनाए ।  

नयां पुस्तालाई प्यासन र साइबर सेक्युरिटी वा प्रविधिमा केही गर्ने चाहना छ भने अहिले सजिलो रहेको उनले बताए किनकी इन्टरनेटमा धेरै कुरा निशुल्क पाइन्छ ।

अहिले साइबर क्राइम, ह्याकिङले सबैलाई प्रभाव पारेको अवस्था छ । इन्डिभिज्यूअल (पर्सनल) लेभल, अर्गनाइजेशनल र सरकारी लेभलमा यसको प्रभाव देखिन्छ ।

निरन्जन इन्डिभिज्यूअलमा पासवर्ड राख्दा कम्तीमा १२ वटा शब्द, मल्टी फ्याक्टर अथेन्टिकेसन र सबै पासवर्ड एउटै नराख्न सुझाउंछन् । पसर्नल इन्फरमेसन सकेसम्म इन्टरनेट वा सोसल मिडियामा राख्न नहुने कुंवरको बुझाइ छ । 

दोश्रो फिसिङ इमेल (झुक्याएर लिंक क्लिक गराउने खालका) मा नफस्न उनले सुझाव दिए ।

अर्गनाइजेसनल लेभलमा साइबर सेक्युरिटीमा लगानी बढिरहेपनि खासगरि पिपल, प्रोसेस र टेक्नोलोजीमा अझ आवश्यक छ। 

सरकारी लेभलमा उपयुक्त, नीति बनाएर सचेतना र कार्यान्वयन संगै अगाडि लैजानुपर्ने उनको भनाइ छ ।  

नेपालको साइबर सेक्युरिटी अझै अपरिपक्व अवस्थामा रहेको कुंवरले बताए । उनका अनुसार बैंक र फाइनान्सियल इन्सटिच्यूसनहरुले विस्तारै लगानी गर्न थालेका छन् तर अन्य क्षेत्र अझै साइबर सुरक्षातर्फ सचेत देखिन्न । 

कुंवर एक छोरा, छोरी र श्रीमति सुमिताका साथ लन्डन ट्वीकेनहममा बस्छन् । छोराले कम्प्युटर साइन्समा डिग्री गरेर काम थालिसके । १५ वर्षीया छोरी जिसिएसइको तयारीमा छिन् । 

हेरौं कुंवरसंग नेपाली लिंकको भिडियो संवाद: 

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू