शुक्रबार, वैशाख १२, २०८२
23:04 | ०३:४९

गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका सबै अप्ठ्यारा सम्बोधन गर्ने गृहमन्त्रीको आश्वासन

नेपाली लिङ्क अप्रिल २४, २०२५

काठमाडौं, बैशाख ११–गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखा परेका सबैखाले अप्ठ्यारालाई सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघका अध्यक्ष डा केसी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकता लिएपछि संविधानतः पाउने अधिकार प्रदान गर्न सरकारले कञ्जुस्याइँ नगर्ने बताए । उनले भने, ‘तपाईंहरुलाई नेपालको संविधानले दिने भनेको अधिकार दिने नै हो तर त्यसका लागि आवश्यक ऐन कानूनको निर्माण भइरहेको अवस्थामा केही ढिलाई भयो होला त्यसलाई अन्यथा लिनु भएन ।’

गैरआवासीय नेपाली ऐन संशोधनको मस्यौदा परराष्ट्र मन्त्रालयमा गइसकेको जानकारी गराउँदै गृहमन्त्री लेखकले भने, “बरु गैरआवासीय नेपाली ऐनमा तपाईंहरुले चाहेको संशोधन के के हो त्यसबारे छलफल गरौँ, म पनि उक्त मस्यौदाको अध्ययन गर्छु, मैले तपाईंहरुका धेरै अपेक्षा बुझेको पनि छु, त्यसपछि परराष्ट्रमन्त्रीज्यूसँग आवश्यक परामर्ष म पनि गरुँला ।”

त्यसअघि संघका अध्यक्ष डा बद्री केसीले सरकारले गैरआवासीय नेपाली नागरिकता दिएपछि सरकारले नै उक्त नागरिकता नचिनेको भन्दै ध्यानाकर्षण गराएका थिए । उनले भने, ”नागरिकता वितरण गरिएको डेढबर्ष भन्दा बढी भइसकेको अवस्थामा यसको कार्यान्वयनका लागि भने समस्या जहाँको त्यहीं छ । नेपाली नागरिककै एक प्रकारको नागरिकता भएको संविधानमा ब्यवस्था हुँदासमेत यो प्राप्त गर्ने व्यक्तिले त्यसको प्रयोग तत्कालका लागि नेपालमा घरजग्गा सम्पत्ति प्राप्त र खरिद गर्न, जग्गाधनी दर्ता प्रमाणपत्र प्राप्त गर्न, सवारी साधन खरिद गर्न, सवारी चालक अनुमतिपत्र प्राप्त गर्न, बैंकमा खाता खोल्न सम्म पाएका छैनन् । कतै पनि यसको प्रयोग भएको छैन । साथै गैरआवासीय नेपाली नागरिकता बोकेर नेपाल आउंदा पनि विदेशी नागरिककै हैसियतमा भिषा लगाउनु पर्ने अवस्था छ ।”

अध्यक्ष केसीले नागरिकता कार्यान्वयन गैरआवासीय नेपाली ऐनसँग पनि जोडिने भएकोले उक्त ऐन यथाशक्य छिटो ल्याउन समेत अनुरोध गरे ।

उपाध्यक्ष डा हेमराज शर्माले नागरिकताको कार्यान्वयन, संविधानतः विदेशमा बसेका नेपालीले पाउने आर्थिक अधिकार, पैतृक सम्पत्तिको भोगचलन लगायतका विषयमा व्यवस्थाको स्पष्ट व्याख्या नभएकाले पनि समस्या भोग्नुपरेकोले गैरआवासीय नेपाली ऐन आवश्यक रहेको उल्लेख गरे ।

उक्त अवसरमा हाल मस्यौदा भएको गैरआवासीय नेपाली ऐनमा गैरआवासीय नेपालीको परिभाषा नै परिवर्तन भएको भन्दै डा शर्माले त्यसो गर्दा विदेशी नागरिकता नलिएका तर लामो समयदेखि विदेशमा बसिरहेका ठूलो संख्याका नेपालीहरु नसमेटिने र त्यसले अर्को समस्या निम्तने भन्दै ध्यानाकर्षण गराए ।

उपाध्यक्ष रोजिना प्रधान राईले बेलायतमा रहेका भूपू गोर्खाको समस्या सम्बोधनका लागि सरकारले पहल गर्नुपर्ने उल्लेख गरिन् । उक्त भेटमा गएका प्रतिनिधिहरुले शेष घले नेतृत्वले गर्न लागेको महाधिवेशनका सम्बन्धमा पनि ध्यानाकर्षण गराएका थिए ।

भेटमा अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षत्रय डा. हेमराज शर्मा, रोजिना प्रधान राई, राज रेग्मी, उप–महासचिव प्रविन गुरुङ, सचिव राधिका (टीका) गुरुङ, सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, प्रवक्ता फणिन्द्र पन्त, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्क बहादुर केसी, सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरे, गैरआवासीय नेपाली नागरिकताका फोकलपर्सन सरोज दाहाल लगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू