यूकेमा धार्मिक पूजापाठसहित बुद्ध जयन्ती मनाउने तयारी


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले धार्मिक पूजापाठसहित २५६९ औं बुद्ध जयन्ती मनाउने भएको छ । आउँदो मे १२ सोमबार अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको हो ।
काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका श्रद्धेय दोर्जिन लामा निमा लुङ्गरिग रिन्पोछेको विशेष उपस्थितिमा मनाउन लागिएको उक्त बुद्ध जयन्ती समारोहमा स्थानीय रस्मोर बोरो काउन्सिल मेयर, काउन्सिलर, विभिन्न धार्मिक, सामाजिक एवं परोपकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता रहनेछ ।
दुई चरणमा कार्यक्रम आयोजना गर्न लागिएको छ जसअनुसार १२ मे सोमबार बिहान ८ देखि १० बजेसम्म अल्डरसटस्थित बीसीसी गुम्बामा गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ्ग, लोपेन भिमनाथ योन्जनलगायत धर्म गुरुहरुले बुद्ध साधना पूजा गर्ने छन् ।
त्यस्तै, दोस्रो चरणमा सोही दिन बिहान ११ बजेदेखि एम्पायर हलमा बुद्धजयन्ती मनाइने बीसीसी यूके उपाध्यक्ष एवं बुद्ध जयन्ती समारोह आयोजक समितिका संयोजक रोबिन गुरुङले जानकारी दिए । उनका अनुसार शुरुमा अतिथिहरुको स्वागत, शुभ–मंगल पाठ, मण्डला अफरिङ गर्ने कार्यक्रम छ । सो पश्चात प्रवचन र अभिषेक प्रदान गरिने छ ।
बीसीसी यूकेका अध्यक्ष आङ दावा शेर्पाको अध्यक्षतामा सम्पन्न हुन लागेको उक्त कार्यक्रमको अन्त्यमा श्रद्धेय दोर्जिन लामा निमा लुङ्गरिग रिन्पोछेले व्हाईट तारा लङ लाइफ इम्वापरमेन्टको विशेषता र महत्वबारे प्रवचन दिनुकासाथै आयुको अभिषेक (वाङ्ग) दिनेछन् ।
सो कार्यक्रमका लागि प्रवेश शुल्क १५ पाउण्ड तोकिएको छ । कार्यक्रममा सहभागी हुन चाहनेले बीसीसी यूकेको अल्डरसटस्थित गुम्बा वा इभेन्टब्राइट अनलाइनबाट टिकट लिन सकिने कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।
बीसीसी यूकेका महासचिव मेजर कुमार गुरुङ एमभिओका अनुसार उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई विशेष अतिथि, विभिन्न संघसंस्थाका अध्यक्ष, गुम्बाका गुरुहरु, उद्यमी, व्यापारी एवं दाताहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरिसकिएको छ ।
बुद्ध जयन्ती सफलतापूर्वक सम्पन्न गर्न बीसीसी यूकेको सिंगो कार्यसमिति, आमाहरु र सल्लाहकारहरु तयारीमा जुटिरहेको अध्यक्ष शेर्पाले जानकारी दिए । उनले कार्यक्रममा सहभागी भइदिन सम्पूर्ण बेलायतवासी नेपाली आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरुमा अनुरोध गरेका छन् ।
स्मरण रहोस्, बीसीसी यूकेले प्रत्येक वर्ष विविध धार्मिक कार्यक्रमकासाथ बुद्ध जयन्ती मनाउँदै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५