बिहीबार, वैशाख ११, २०८२
21:23 | ०२:०८

युएईका उपप्रधानमन्त्री काठमाडौँमा, उच्चस्तरीय भेटघाटमा व्यस्त

रासस अप्रिल २३, २०२५

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आएका छन् ।

मंगलबार सांझ नेपाल आएका उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।

आज उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई देशबिचको आपसी मित्रवत् सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले विकासको मार्गमा युएईले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत्, हरित ऊर्जा, हाइड्रोइनर्जीलगायत क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरे ।

परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गरेका छन् ।

उपप्रधानमन्त्री नाह्यानका साथ युएइका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र युएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू छन् ।

उपप्रधानमन्त्री नाह्यान नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न युएई प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू