धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर



तीन बालबालिकाको मृत्युपश्चात भावविह्वल आफन्त
धनुषा- धनुषा जिल्लाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा विष सेवनबाट एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृतक बालबालिकाकी आमाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले सुशिल साहका ८ वर्षीय छोरा आदित्य साह, चार वर्षीया छोरी आकृति साह र दुई वर्षीया छोरी आरुषी साहको विष सेवनबाट मृत्यु भएको जानकारी दिए। साहकी ३० वर्षीया श्रीमती बबिता साहको अवस्था गम्भीर छ।
विष सेवनपछि गम्भीर अवस्थामा रहेका तीनै बालबालिकालाई जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारको क्रममा तीनै जनाको मृत्यु भएको हो । गम्भीर अवस्थामा रहेकी बबिताको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी प्रवक्ता सिंहका अनुसार बबिताले सोमबार साँझ करिब ६ः४० बजे तीन सन्तानलाई विष खुवाएर र त्यसपछि आफैँले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि घटनाको वास्तविक कारण भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा पारिवारिक तनाव वा मानसिक समस्याले बबिताले यस्तो कदम चालेको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरीले घटनास्थलबाट प्रमाणहरू सङ्कलन गरिरहेको बताउँदै प्रवक्ता सिंहले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताए। घटनापस्चात गाउँ शोकमा डुबेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५