मंगलबार, वैशाख ९, २०८२
00:57 | ०५:४२

अधिवेशनमा जुट्यो युरोपकै पुरानो संस्था यती

नेपाली लिङ्क अप्रिल २१, २०२५

लन्डन । युरोपकै सबैभन्दा पुरानो सामाजिक संस्था यती नेपाली एसोसिएसन यूके अधिवेशन तयारीमा जुटेको छ । ३१ औं अधिवेशन आउंदो मे ४ तारिख लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा हुने भएको हो ।

गत मंगलबार सम्पन्न संस्थाको कार्यसमिति बैठकले अधिवेशन मिति तय गर्दै निर्वाचन समिति गठन गरेको हो ।

बैठकले निर्वाचन समितिको संयोजकमा यती पूर्व अध्यक्ष उमेशराज मोक्तान र सदस्यहरुमा शशीधर नेपाल र शंकरप्रसाद दाहाललाई जिम्मा दिएको छ । संयोजकले आवश्यक परे थप सदस्य नियुक्त गर्न सक्ने महासचिव टंक भट्टराईले जानकारी दिए । यस अधिवेशनले नयां नेतृत्व चयन गर्नेछ ।

निर्वाचन समितिका संयोजक उमेशराज मोक्तानले सदस्यता नवीकरण वा नयां लिन अन्तिम म्याद मे २ तारिख ७ बजेसम्म, उम्मेदवारी दर्ता मे २ तारिख सांझ ७ बजेदेखि भोलिपल्ट मे ३ तारिख सांझ ७ बजेसम्म निर्धारण गरिएको जनाए ।

त्यस्तै उम्मेदवारी दावी विरोध मे ३ तारिख बेलुका ८ बजेसम्म तथा उम्मेदवारी फिर्ता मे ३ तारिख ९ बजेसम्म गर्न सकिने समितिले जनाएको छ । उम्मेदवारी दर्ता साउथ ह्यारोको गोल्डेन सीप रेष्टुरेन्टमा प्रत्यक्ष गएर वा यती एसोसिएसनको वेवसाइटमार्फत अनलाइन गर्न सकिने पनि निर्वाचन समितिले जनाएको छ ।


संयोजक मोक्तानका अनुसार उम्मेदवारी शुल्क अध्यक्ष पदको ४०० पाउण्ड, वरिष्ठ उपाध्यक्षको ३०० पाउण्ड, उपाध्यक्ष र महासचिव २५० पाउण्ड, सचिव र कोषाध्यक्ष १५० पाउण्ड एवं सदस्यको ५० पाउण्ड तोकिएको छ । एकपटक उम्मेदवारी दर्ता गरेपछि शुल्क रिफण्ड (फिर्ता) नहुने संयोजक मोक्तानले प्रष्ट्याए ।

यती महासचिव टंक भट्टराईले विधान संशोधन प्रस्ताव गर्न चाहेमा इच्छुक सदस्यले २८ अप्रिलसम्म यतीको इमेलमा संशोधन किन आवश्यक छ भन्ने बेहोरासहित विवरण पठाउन सक्ने जनाए ।

यतीको नयां सदस्यता लिन वा नवीकरणका लागि १० पाउण्ड, आजीवन सदस्य एकल एकसय पाउण्ड र दम्पत्तिको १५० पाउण्ड तोकिएको पनि भट्टराईले जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू