आइतबार, वैशाख ७, २०८२
00:23 | ०५:०८

नेपालको पोषण योजनाबारे स्कटल्याण्डमा छलफल

नेपाली लिङ्क अप्रिल १९, २०२५

स्कटल्याण्ड । नेपालको वहुक्षेत्रीय पोषण योजना तेस्रो ( २०२३–२०३०) को अनुसन्धान, अन्वेषण तथा जनशक्ति क्षमता विकासका लागि युनिभर्सिटी अफ एबर्डिनले चासो दिएको छ ।

उक्त योजनाको अनुभव आदानप्रदान गर्न बेलायतमा आएको उच्च अधिकारीहरू समेत सम्मिलित एक सेमिनारमा युनिभर्सिटी अफ एबर्डिन, इन्स्टिच्युट अफ एप्लाइड हेल्थ साइन्सेसका रिसर्च लिड डा. रोजालिण्ड एडमले नेपालको वहुक्षेत्रीय पोषण योजनाको मूल्यांकन तथा क्षमता विकासका लागि सहयोग गर्न इच्छुक रहेको बताए।

पोषण अनुसन्धानमा विश्वमै अग्रणी दि रावेट इन्स्टिच्युटमा आयोजित सेमिनारमा नेपाल सरकारका सहसचिव प्रकाश दाहालले नेपालले पोषण क्षेत्रमा सकारात्मक प्रयासहरु गरेको र लक्ष्य अनुसार प्रगति भइरहेको बताए ।

यस्तै अर्का सहसचिव रुद्रसिंह तामाङले स्थानीय निकायहरूको पोषण जनशक्ति क्षमता विकास चुनौतीपूर्ण रहेपनि पाँच वर्ष मुनीका बालबालिकाको पोषण योजना प्रभावकारी रहेको उल्लेख गरे ।

उक्त कार्यक्रममा कार्यपत्र पेश गर्दै उपसचिव रेशम कँडेलले उक्त योजनाका लागि ३० प्रतिशत बजेट अन्तर्राष्ट्रिय सहयोगमा आधारित भएर विनियोजित भएपनि अमेरिका, बेलायतले समग्र विदेशी सहयोग कटौती गरेकाले योजनामा असर गर्न सक्ने औंल्याए ।

यसैगरी नेपाल सरकारका अधिकारीहरू जनकराज शर्मा, यमप्रसाद ढुंगाना, प्रकाश पन्थी र दिपेश कट्टेलले पनि मन्तव्य व्यक्त गरेका थिए ।

उक्त योजनाको अन्त्यसम्म पाँच वर्ष मुनीका बालबालिकामा हुने पुड्कोपन दर २५ प्रतिशतबाट १५ प्रतिशतभन्दा कम, ख्याउटेपनको दर ८ प्रतिशतबाट ४ प्रतिशत र कमतौलको दर १९ प्रतिशतबाट ९ प्रतिशतमा ल्याउने लक्ष्य छ । यसैगरी गुणस्तरीय पोषणलाई सहज बनाएर कमतौलको बच्चा जन्मने दर, अधिक मोटोपनको दर, रक्तअल्पता लगायतमा प्रभावकारी सुधार गर्ने लक्ष्य लिइएको छ।

युनिभर्सिटी अफ एबर्डिन ग्लोवल हेल्थका लेक्चरर डा. सन्तोष गैह्रेले उक्त कार्यक्रमको सहजकर्ता गर्दै नेपालको वहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा अन्तर्राष्ट्रिय अनुसन्धान, अनुभव र क्षमताले ठूलो प्रभाव पार्ने बताए ।

डा. गैह्रे नेतृत्वको टोलीले केही वर्ष अघि गरेको वहुक्षेत्रीय पोषण योजना पहिलाको मूल्यांकन अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशित भएको थियो । उक्त कार्यक्रममा डा. ज्यानेट कायल, डा. अर्बिन्दा गुण्टुपल्लीले पोषण योजना सम्बन्धी अन्तर्राष्ट्रिय अनुभवहरू व्यक्त गरेका थिए ।

डा. गैह्रे, डा. कायल तथा डा. गुण्टुपल्लीको सुपरीवेक्षणमा नेपाली अनुसन्धानकर्ताले नेपालको पोषण सम्बन्धमा पिएचडी अनुसन्धान गरिरहेका छन्। उक्त सेमिनारमा पिएचडी अनुसन्धानकर्ता उषा घिमिरेले बाल कुपोषणसम्बन्धी कार्यपत्र पेश गरेकी थिइन् । उक्त प्रस्तुतिमा नेपालको शैक्षिक अनुसन्धान र पोषण नीतिहरूको व्यवहारिक कार्यान्वयनबारे चर्चा गरिएको थियो।

नेपाल सरकार संघीय मन्त्रालय, युनिभर्सिटी अफ एबर्डिन तथा अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयरको सहकार्यमा भएको उक्त कार्यक्रममा अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयरका अध्यक्ष प्रकाश अर्यालले उक्त संस्थाले नेपाली डायस्पोरा, नेपाल सम्बन्धि अन्तर्राष्ट्रिय अनुसन्धानलाई नेपाल सरकारसंग सहकार्यको लागि सहयोग गर्ने बताए ।

कार्यक्रमले अन्तर्राष्ट्रिय अनुसन्धान अनुभव साटासाट गर्ने र सरकारी अधिकारीहरूबाट नीतिको कार्यान्वयन सम्बन्धी प्रत्यक्ष अनुभव प्राप्त गर्ने एक महत्वपूर्ण अवसर प्रदान गरेको सहभागीको भनाइ थियो । –प्रकाश अर्याल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू