आइतबार, वैशाख ७, २०८२
23:44 | ०४:२९

लन्डनमा महानायकको कमेडी अवतारमा साथ दिंदै सन्दीप, नवीन के. लाई आफ्नै व्याण्ड

नेपाली लिङ्क अप्रिल १९, २०२५

माया इभेन्ट्सका राज पाण्डे र डा. रक्षा थापा

लन्डन । एउटै स्टजमा एकसाथ हांसो अनि लाइभ संगीत । त्यो पनि नेपालका लिजेन्ड आर्टिष्टबाट । बेलायतमा विरलै हुने यस खालको संयोग यसपटक जुरेको छ २७ अप्रिल सांझ लन्डन हयारो लिजर सेन्टरमा ।

माया इभेन्ट्सले नेपालका लोकप्रिय कलाकारहरु महानायक राजेश हमाल, मिष्टर ह्याप्पी सन्दीप क्षेत्री, गायक नवीन के भट्टराई र उनको व्याण्ड अतृप्तलाई निम्त्याउंदैछ कार्यक्रम ‘लाफ्टर फर लाइफ’ का लागि । उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको माया इभेन्ट्सका राज पाण्डे र डा. रक्षा थापाले शनिबार जानकारी दिएका छन् ।

कलाकारहरुको टिकट समेत ‘कन्फर्म’ भइसकेको छ । महानायक राजेश हमाल र हांस्यकलाकार सन्दीप क्षेत्री आउंदो २३ अप्रिल बेलुका अनि नवीन के भट्टराई एवं उनको व्याण्ड ‘अतृप्त’ का सदस्यहरु अप्रिल २५ तारिख बिहान लन्डन उत्रने भएका छन् ।

नेपालबाट आउने कलाकारहरु र सञ्चारकर्मीबीच २५ तारिख डल्फिन आइमा ‘मिट एण्ड ग्रीट’ राखिएको पाण्डेले जनाए । लन्डनबाहिर २८ अप्रिलमा समेत गोर्खा किचन नटिंगहाममा मिट एण्ड ग्रीट राखिएको छ ।

महानायक हमाल २९ अप्रिल स्कटल्याण्ड गएर केही शहर घुमेपछि ७ मेमा नेपाल फर्कने छन् भने नवीन के, उनका व्याण्ड सदस्यहरु र सन्दीप क्षेत्री १ मेमा नेपाल फर्कने कार्यक्रम रहेको पाण्डेले जनाए ।

पाण्डेका अनुसार युरोपको साइप्रसबाट समेत दर्शकहरुले कार्यक्रम हेर्न आउन टिकट लिएका छन् । बेलायतमा लन्डनभन्दा बढी बाहिर वेल्स्, वेमाउथ, उल्भरहयाम्पटन, बोर्नमथ, स्कटल्याण्ड आदिबाट टिकट काटेका र अहिलेसम्म ५०० प्लस विक्री भइसकेको उनले बताए ।

‘प्रायः दर्शकहरु लाष्ट मिनेटमा काट्ने वा सिधै हलमा आउने ट्रेन्ड भएकाले कम्तीमा एक हजार दर्शक आउने अपेक्षा छ’, पाण्डेले नेपालीलिंकसंग भने, ‘तर, आयोजक भएपछि चिन्ता र प्रेसर फिल भने भइरहने रहेछ । कृपया सम्भव छ भने एडभान्समा टिकट लिइदिनु भए हामीलाई व्यवस्थापनमा थप सहज हुने थियो ।’

आयोजक माया इभेन्ट्सकी डा. रक्षा थापाले कार्यक्रम सफल बनाउन धेरै मिहेनत गरिरहेको बताइन् । ‘वर्ड अफ माउथ, प्रत्यक्ष भेटेर वा फोन कलमार्फत धेरै आउटरिच गरेका छौं, म्यूजिक, फुड, ड्रिंक्स र कमेडी मिश्रित यो कार्यक्रम ऐतिहासिक नै हुने विश्वास छ’, उनले सुनाइन्, ‘नवीन के र अतृप्त ब्याण्डको लाइभ कन्सर्ट अनि राजेश हमाल र सन्दीपको कमेडी एकै ठाउंमा उपलब्ध हुनेछ । म बेलायतवासी समस्त नेपालीलाई यस ऐतिहासिक कार्यक्रमको साक्षी बस्न अपिल गर्दछु ।’ राजेश हमाल पहिलो पटक कमेडियनका रुपमा प्रस्तुत हुने भएकाले पनि धेरैले उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेको अवस्था छ । ‘हामी ग्यारेन्टीका साथ भन्न सक्छौं कि कार्यक्रम १०० प्रतिशत मनोरन्जन हुन्छ पट्यारलाग्दो हुन्न’- उनले भनिन् ।

फुड, वेलकम ड्रिंक्ससहित भिआइपी टिकट ५० पाउण्ड, स्ट्यान्डर्ड टिकट २५ पाउण्ड र विद्यार्थीका लागि १५ पाउण्डमात्र (परिचय पत्र ल्याउन अनिवार्य) राखिएको थापाले जनाइन् ।

करिब ५१ हजार पाउण्ड बजेटको यस कार्यक्रम गर्न धेरै चुनौति रहेपनि असम्भव नभएको रक्षाले बताइन् । ‘घरपरिवार, व्यवसाय छाडेर कार्यक्रम गर्दा प्रेसर त छ तर महिला आयोजक पनि कम छैनन् भन्ने प्रमाणित गर्न दिनरात लागिरहेको छु’, उनले भनिन् ।

‘लाफ्टर फर लाइफ’ सफल बनाउन ५ युवाहरु भुपेन्द्र विष्ट, भरतराज जोशी, सागर आग्री, शुभम दाहाल र अर्जुन तिवारी खटिइरहेका छन् ।

‘बेलायतमा काम, जागिर र पारिवारिक जिम्मेवारीले धेरै तनाव छ, त्यो तनावबाट केही क्षण भएपनि मुक्त हुन हांसो र संगीत आवश्यक छ’, कार्यक्रम उद्देश्यबारे राजले भने, ‘हामी त्यही आवश्यकता पूर्ति गर्न कार्यक्रममा जुटेका हौं । समुदायलाई पनि केही दिउं भन्ने हो । यसबाट नाफा कमाउने भन्ने पटक्कै छैन् किनकि कमाउन त हाम्रो अरु नै व्यवसाय छ ।’

राज आफैंले पनि शुरुवातमा कार्यक्रम सञ्चालन गर्ने तयारी छ । बांकी इभेन्ट सन्तोषी कार्की र शिविरा लामा रुइतले ‘होष्ट’ गर्ने छन् ।

पाण्डेले कार्यक्रमका लागि धेरै प्रायोजकले साथ दिएका जनाउंदै उनीहरुप्रति आभार समेत व्यक्त गरे । उनले नेपाली कला संगीत र कलाकारहरुलाई माया र हौसला प्रदान गर्न पनि कार्यक्रममा आइदिन अपिल गरे ।

लाइभ प्रस्तुतिका लागि लन्डनका वरिष्ठ साउण्ड इन्जिनियर हेम विष्ट र भिडियो फोटोग्राफी जिम्मेवारी कुशल श्रेष्ठले लिएका छन् । मिडिया पार्टनरमा नेपाली लिंक डटकम छ ।

यसअघि बेलायतको नेपाली समुदायमा क्रिकेट इभेन्ट्स गरिरहेका राजले अगष्टमा फेरि क्रिकेट प्रतियोगिता गर्दैछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू