शनिबार, वैशाख ६, २०८२
06:29 | ११:१४

बेलायतमा कार्यरत डा गौतम विश्व स्वास्थ्य संगठन सल्लाहकार समिति उपाध्यक्ष नियुक्त

नेपाली लिङ्क अप्रिल १७, २०२५

लन्डन- बेलायतमा कार्यरत जनस्वास्थ्यविद् डा ओमप्रसाद गौतम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सल्लाहकार समिति (एड्भाजरी कमिटी) मा उपाध्यक्ष नियुक्त भएका छन्।

स्वास्थ्यका लागि व्यवहारगत विज्ञानका क्षेत्रमा सल्लाह दिने डब्लुएचओ प्राविधिक सल्लाहकार समितिमा उनी उपाध्यक्ष नियुक्त भएका हुन्।

समितिमा संसारका विभिन्न १५ मुलुकबाट १६ जना विज्ञलाई सल्लाहकारका रुपमा नियुक्त गरिएको छ । उनीहरु जनस्वास्थ्य, मनोविज्ञान, मानवशास्त्र, अर्थशास्त्र लगायतका विभन्न सामाजिक तथा व्यवहारगत विज्ञान क्षेत्रका अनुभवी तथा दक्ष विज्ञहरु हुन् ।

संसारभरका विभिन्न ७१ मुलुकबाट प्राप्त ३ सय ४० आवेदनबाट विज्ञता र दक्षताका आधारमा १६ जना सल्लाहकार नियुक्त गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

डा गौतम उपाध्यक्ष नियुक्त भएको यो प्राविधिक सल्लाहकार समितिले स्वतन्त्र (इन्डिपेन्डेन्ट) रुपमा विश्व स्वास्थ्य संगठनलाई सल्लाह दिने गर्छ ।

समितिले स्वास्थ्यका लागि व्यवहारगत विज्ञानका क्षेत्रमा विश्व स्वास्थ्य संगठनको प्रतिवद्धता कार्यान्वयन गर्न तथा योजना र कार्यक्रमहरुको प्रभावकारिता बढाउन नीतिगत सल्लाहका साथै वैज्ञानिक तथा प्राविधिक सल्लाह उपलब्ध गराउँछ ।

आगामी दुई वर्षे कार्यकालका लागि गठित समितिमा नियुक्त हुने उपाध्यक्ष डा गौतम एक्ला नेपाली विज्ञ हुन् । बेलायतमा रहेर जनस्वास्थ्यका क्षेत्रमा कार्यरत उनी उक्त जिम्मेवारी प्राप्त गर्ने सम्भवत पहिलो नेपाली हुन्।

जनस्वास्थ्यका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा उनले २२ वर्षभन्दा लामो अनभुव बटुलेका छन् । हाल उनी वाटर एड यूकेको हाइजिन लिडका रुपमा कार्यरत छन् ।

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनबाट पिएचडी गरेका डा गौतमले बंगलादेशबाट पब्लिक हेल्थ र नेपालको त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विज्ञानमा स्नातकोत्तर पूरा गरेका छन्।उनले बेलायत र युरोपस्थित केही विश्वविद्यालयमा अतिथि लेक्चररका रुपमा समेत काम गर्ने गरेका छन्।

विश्व स्वास्थ्य संगठनको सल्लाहकार समिति उपाध्यक्ष नियुक्त डा गौतमले प्राप्त जिम्मेवारीलाई न्याय गर्ने गरी योगदान गर्ने अठोट व्यक्त गरेका छन् ।

‘विश्व स्वास्थ्य संगठनजस्तो प्रतिष्ठित ग्लोबल निकायको सल्लाहकार समितिमा रहेर काम गर्ने अवसरलाई मैले गौरवका रुपमा लिएको छु’, डा गौतमले नेपालीलिंकसंग भने, ‘मेरो अनुभव र ज्ञानलाई सदुपयोग गर्दै सक्दो योगदान दिने कोशिस गर्नेछु।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू