शनिबार, वैशाख ६, २०८२
08:18 | १३:०३

पार्टी फेर्नुपर्दैन, एक मत रास्वपालाई दिंदा देशको मुहार फेरिनेछ (भिडियो)

नेपाली लिङ्क अप्रिल १७, २०२५

लन्डन- राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायतस्थित प्रवास संगठन ‘रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूके’ पहिलो अधिवेशन गर्न जुटेको छ ।

उक्त अधिवेशन सम्बोधन गर्न रास्वपा केन्द्रिय उपसभापति डा. स्वर्णीम वाग्ले बेलायत आउने भएका छन् ।

यही अप्रिल २८ तारिख मिडल्याण्डको लेष्टरस्थित जंगल क्लबमा हुने अधिवेशनले आगामी दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित गर्ने जनाइएको छ । तदर्थ समितिको दुई वर्ष कार्यकाल सकिएपछि प्रथम अधिवेशन गर्न लागिएको हो।

रास्वपा यूके सभापति पवन शर्मा प्रथम निर्वाचित सभापति भएर संगठनलाई फेरि नेतृत्व गर्न धेरैको सुझाव आएकाले आफू पुनः चुनिने सम्भावना नकार्दैनन्।

आफ्नो पार्टीको सदस्यता निशुल्क भएकाले स्वतस्फूर्त जोडिनेहरु हजारौं रहेका शर्माको दावी छ । राष्ट्रिय स्वतन्त्र पार्टी बेलायतमा आवद्ध हुन शुरुतिर जति उत्साहप्रद वातावरण थियो, अहिले त्यो भने केही घटेको शर्माले स्वीकारे।

केन्द्रिय सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि हाल जेलमा रहेको, सरकारमा जांदा समेत जनताको इच्छा बमोजिम डेलिभरी दिन नसकेको र एमाले, कांग्रेस जस्तै परम्परागत राजनीतिक चरित्र देखाउन थालेको भन्ने आमगुनासो बढेपनि वैकल्पिक धारको आफ्नो मात्र पार्टी रहेको र यसले नै देशको मुहार फेर्ने विश्वास शर्माको छ ।

मिसन ०८४ मा जोड दिंदै सभापति शर्माले आम जनतालाई जो जता भएपनि बरु पार्टी, झण्डा यथावत राखेर एकपटक मत दिन अपिल पनि गरे ।

नेपालमा गणतन्त्र आएको ३५ वर्ष भन्दा बढी समयमा पनि अवस्था झन् विकराल बन्दै गएकाले अब रास्वपा जस्तै वैकल्पिक शक्ति खांचो रहेको उनले औंल्याए ।

केन्द्रिय सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध देखाइएपनि अदालतले अझै दोषी करार गरि नसकेकाले यस पार्टीको भविष्य अरुले बुझेजस्तो अन्यौल देख्दैनन् शर्मा ।

‘रास्वपा रवि लामिछानेले स्थापना गरेको पार्टी हो । तर, हाम्रो पार्टीमा व्यक्ति नभएर विचार हावी छ । विचारद्धारा निर्देशित पार्टीमा रविलाई यदि जेल हालिएपनि विकल्पमा अरु नेताहरु तयार हुनुहुन्छ’, उनले भने ।

कांग्रेस एमाले जस्तै विदेशमा पनि नेपालकै राजनीति गर्ने, नेता आउंदा एयरपोर्ट पुगेर खादामाला लगाउने नगरि केन्द्रलाई बेलायतको राजनीतिक संस्कार, विकास मोडल, अनुभव र अन्य रचनात्मक सुझाव सल्लाह बांड्न आफूहरु दृढ रहेको शर्माले बताए ।

बेलायतमा काम नपाएर दुःख पाएका विद्यार्थी र वर्क परमिटका नाममा शोषणमा परेका नेपालीलाई सहयोग गर्न आफ्नो पार्टीले मात्र पहिलोपटक ‘हेल्प डेस्क’ राखेको पनि शर्माले दावी गरे ।

हेरौं शर्मासंग नेपाली लिंकको भिडियो संवाद-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू