बुधबार, वैशाख ३, २०८२
11:58 | १६:४३

बेलायतका नेपाली प्राध्यापकको नाममा पुरस्कार: विजेता घोषणा

नेपाली लिङ्क अप्रिल १६, २०२५

डा. उप्रेती बाँया र प्राध्यापक सुवेदी

लन्डन – ब्रिटिश कोलम्बिया विश्वविद्यालयकी प्राध्यापक सारा श्नाइडरम्यान र उनका सहलेखकहरू बीना खापुङहाङ लिम्बु, जीवन बानियाँ, मनोज सुजी, नविन रावल, प्रकाश चन्द्र सुवेदी र क्यामरन डेभिड वार्नरलाई संयुक्तरुपमा सन् २०२४ का लागि प्रा सूर्य सुवेदी पुरस्कार प्रदान गरिएको रोयल एसियाटिक सोसाइटीले जनाएको छ।

प्राध्यापक सारा र उनका सहलेखकहरूले ‘घर, गृहस्थी र वासस्थान: नेपालमा भूकम्पपछिको पुनर्निर्माण अनुभवको आधारमा मानवशास्त्रीय र नीतिगत ढाँचाको पुनरावलोकन’ शीर्षकको लेखका लागि पहिलो पुरस्कार प्राप्त गरेका हुन्।

प्राध्यापक श्नाइडरम्यान नेपाल, भारत र चिनियाँ तिब्बती क्षेत्रका विज्ञ सामाजिक-सांस्कृतिक मानवशास्त्री हुन्।

यो लेख ओपन एक्सेसमार्फत यहाँ उपलब्ध छ: House, Household and Home: Revisiting Anthropological and Policy Frameworks through Postearthquake Reconstruction in Nepal in Current Anthropology (64)5, 2023

लेखकहरूले आफ्नो प्रस्तुतिमा लेखेका छन्- ‘यो लेख क्यानडाको सामाजिक विज्ञान तथा मानविकी अनुसन्धान परिषदको आर्थिक सहयोगमा संचालित सहकार्यात्मक अनुसन्धान परियोजनाबाट जन्मिएको हो। सन् २०१७ देखि सात जना सहलेखकहरूले सँगै मिलेर अनुसन्धानको डिजाइन, नृविज्ञानसम्बन्धी फिल्डवर्क, विश्लेषण र लेखन कार्य गरेका थिए। मानवशास्त्र, विकास अध्ययन र राजनीतिक विज्ञानजस्ता विभिन्न विषयगत पृष्ठभूमिबाट शैक्षिक करियरको फरक–फरक चरणमा रहेका तथा उत्तर अमेरिका, युरोप र एसियाका विश्वविद्यालय र गैरसरकारी संस्थाहरूमा संलग्न रहँदै, हामीले नेपालसम्बन्धी ज्ञानका विविध धाराहरूलाई समेट्दै विश्वव्यापी प्रभाव पार्ने प्रयास गरेका छौं, जुन कुरा प्रा सूर्य सुवेदी पुरस्कारका आदर्शसँग मेल खान्छ।’

प्रसिद्ध विद्वान रोबर्टो बारियस, तात्सुरो फुजीकुरा, जेसी गैयार्ड, माइकल हट, एन्ड्र्यु नेल्सन र चिका वातानाबेको टिप्पणी र लेखकहरूको प्रतिकृयासहित यो लेखले नेपालको भूकम्पपछिको अनुभवसम्बन्धी बढ्दो अध्ययन क्षेत्रसँग विश्व समुदायको संलग्नता देखाउने एक महत्त्वपूर्ण क्षणको संकेत गर्दछ।

निर्णायकहरूको  टिप्पणी छ ‘विविध स्रोतहरूमा आधारित, गहिरो अनुसन्धानयुक्त र नीतिगत सन्देशले भरिएको यो लेखले आम नेपाली नागरिकको आधारभूत बुझाइलाई सरकारी नियमकानुनहरूले प्राय: बेवास्ता गर्छन् भन्ने देखेको छ । परिणामस्वरूप, ती नियमले लाभ दिनुको सट्टा त्यही समुदायलाई असहज र पीडित बनाउँछन्। लेखकहरूको मानवशास्त्रीय सिद्धान्त र स्थलगत रुपमा गरिएको अवलोकनको संयोजनबाट राजनीतिज्ञ, प्रशासक, अनुसन्धानकर्ता र शैक्षिक वृत्त सबैले धेरै कुरा सिक्न सक्छन्।’

डा. उप्रेतीलाई दोस्रो पुरस्कार

क्वीन्स विश्वविद्यालय बेलफास्टका डा. प्रत्यूषनाथ उप्रेतीले ‘The Battle for Geographical Indication Protection of Basmati Rice: A View from Nepal’ शीर्षकको लेखका लागि दोस्रो पुरस्कार प्राप्त गरेका छन् । यो लेख ओपन एक्सेसमार्फत पनि यहाँ उपलब्ध छ:

डा. उप्रेती क्वीन्स विश्वविद्यालय बेलफास्ट, नर्दन आयरल्याण्ड, यूकेको कानुन संकायका  वरिष्ठ प्राध्यापक हुन्। उनको अनुसन्धान अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार र अन्य अन्तर्राष्ट्रिय कानुनी क्षेत्रहरूसँगको अन्तरसम्बन्धमा केन्द्रित छ।

विश्वविद्यालय प्रवेश गर्नुअघि उनले नेपालमा एक अधिवक्ताको रूपमा सर्वोच्च अदालत र विभिन्न अदालतमा अभ्यास गरेका थिए । उनले तीनओटा पुस्तक लेखन तथा सम्पादन गरेका  छन् भने अर्को एउटा पुस्तक प्रकाशोन्मुख छ।

डा. उप्रेतीको लेखले नेपालको सन्दर्भमा एक गम्भीर विषयवस्तु उठाएको निर्णायकहरूको टिप्पणी छ । ‘नेपालले इलामको चिया, हिमाली कफी, सुन्तलाजस्ता  उत्पादनहरूका लागि पनि संरक्षण खोज्नुपर्ने छ। यस क्षेत्रमा अझ बढी अनुसन्धान आवश्यक छ भन्ने कुरा लेखले देखाउँछ’- निर्णायकहरूले भनेका छन् ।  

प्रा सूर्य सुवेदी पुरस्कार २०२५’ का लागि नामांकन आह्वान

रोयल एसियाटिक सोसाइटीले ‘प्रा सूर्य सुवेदी पुरस्कार २०२५’  लागि नामांकन खुला गरेको छ। अंग्रेजी भाषामा नेपालसम्बन्धी कुनै पुस्तक वा लेख (कुनै पनि क्यालेन्डर वर्षमा प्रकाशित) लाई मूल्याङ्कनका लागि पठाउन सकिने छ । २०२४ मा प्रकाशित नेपालसम्बन्धी सामग्रीको नामांकन गर्न सकिनेछ।

नामांकनको अन्तिम म्याद २४ सेप्टेम्बर २०२५ छ। त्यसपछि निर्णायक समितिले मूल्याङ्कन गर्नेछ र २०२६ को मार्चको अन्त्यसम्म विजेता घोषणा गरिनेछ।

यो पुरस्कार डा. जेम्स जे. बुसुटिलले आफ्ना मित्र तथा सहकर्मी, अन्तर्राष्ट्रिय कानुनका विज्ञ प्रा. सूर्य सुवेदीको सम्मानमा स्थापना गरेका हुन् । एक अज्ञात दाताले पनि पछि उक्त पुरस्कार कोषमा थप योगदान गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू