बुधबार, वैशाख ३, २०८२
02:12 | ०६:५७

क्यानाडामा सांस्कृतिक कार्यक्रम गर्दै नयां वर्षलाई स्वागत

नेपाली लिङ्क अप्रिल १४, २०२५

अटवा– नेप्लिज क्यानाडा एसोसिएसन अफ अटवा (एनसीएओ) ले एउटा रमाइलो कार्यक्रम आयोजना गरी नेपाली नयाँ वर्ष विसं २०८२ लाई स्वागत गरेको छ ।

ब्रिटानिया पार्कस्थित एक सभा कक्षमा आयोजित कार्यक्रममा एनसीएओ तथा नेपाली सम्पदा केन्द्रको वार्षिक साधारण सभाका साथै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्यानाडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको जगेर्ना गर्न एनसीएओ तथा नेपाली सम्पदा केन्द्रले गरिरहेका रचनात्मक कामहरुको प्रशंसा गरे।

उनले गत वर्ष पनि आफू एनसीएओको कार्यक्रममा सहभागी भएको स्मरण गर्दै खास गरी युवा तथा बालबालिकालाई समावेश गरेर कार्यक्रमहरु आयोजना गरेकामा संस्थाको प्रशंसा पनि गरे। उनले आफूसंग रहेको सीप, अनुभव र श्रोत नेपालको हितमा उपयोग गर्न सबै प्रवासी नेपालीहरुलाई आग्रह पनि गरे।

क्यानाडाका लागि नेपालका राजदूत भरतराज पौड्याल

सोही अवसरमा नेप्लिज क्यानाडा एसोसियसन अफ अटवा तथा नेपाली सम्पदा केन्द्र अटवाको वार्षिक साधारण सभामा दुवै संस्थाका गतिविधिहरुबारे जानकारी गराइएको थियो भने नयाँ सदस्यहरुको निर्वाचन पनि गरिएको थियो।

उक्त अवसरमा राजदूत पौडेलले एनसीएओको प्रकाशन अटवा चौतारी नयाँ अंकको लोकार्पण पनि गरे। अटवा चौतारीको सम्पादन समूहका सदस्य वीरेन्द्र सापकोटाले उक्त प्रकाशनका लागि रचना पठाउने स-साना बाबुनानी समेत सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा नेपाली सम्पदा केन्द्र अटवाका अध्यक्ष डा कालिदास सुवेदीले केन्द्रले हाल अटवास्थित बारहेभनमा भाडामा घर लिइ धार्मिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरु संचालन गरिरहेको बताए। उनले आउँदो १० वर्षभित्र अटवामा नेपाली मन्दिर तथा बहुउद्देश्यीय सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्य लिइएकाले उक्त अभियानमा सघाउन अटवा लगायत क्यानाडाभरि रहेका नेपाली समुदायका अगुवाहरुलाई आग्रह गरे।

उक्त अवसरमा अटवा वेस्ट नेपियनबाट ग्रीन पार्टीको तर्फबाट संघीय सांसद पदका उम्मेदवार प्रशान्त ढकालले नेपाली समुदायको हकहितका साथै वातावरणीय मुद्दालाई प्राथमिकता दिंदै आफूले उम्मेदवारी दिएको बताए।

उनले जलवायु परिवर्तनजस्ता चुनौतीहरुसंग जुध्दै सुपथ आवासको व्यवस्था गरेर दक्ष युवा जनशक्तिलाई देशमै रोजगारी दिनुपर्ने बताए । त्यस्तै एनआरएनए क्यानाडाका प्रज्वल कार्की, मेनुका चिमोरिया, किन्जल खनाल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको दोश्रो चरणमा मादले गोठाले व्याण्डका डा अजय बिष्ट, डा जगदीश घिमिरे, उत्तम भण्डारी, दीपक श्रेष्ठ, नवराज सुवेदी लगायतले स्व झलकमान गन्धर्वको ‘तिम्रो नै माया लाग्दछ साईंली’ जस्ता कालजयी गीतहरु सुनाएका थिए।

ब्याण्ड सदस्यहरु नवीन गौतम र दिलिप दुलालले पुष्प नेपाली तथा रुबी जोशीको ‘शितलु माथि नि शितलु भयो नि’ बोलको गीत गाए भने उत्तम भण्डारी र दिलिप दुलालले जनकविकेशरी स्वर्गीय धर्मराज थापाको ‘नेपालीले माया मार्‍यो बरिलै’ गीत गाएर श्रोता-दर्शकलाई मन्त्रमुग्ध पारे।

स्वस्तिका शर्मा लगायतले नृत्य प्रस्तुत गरे भने इदिका र श्रीदिकाले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

‘हामीले नेपाली सम्पदा केन्द्र मार्फत प्रवासमा पनि नेपाली कला, संस्कृतिको संरक्षण गर्न र नयाँ पुस्तालाई हाम्रो विपुल सम्पदा हस्तान्तरण गर्न सक्दो प्रयास गरि रहेका छौं। अटवास्थित नेपाली समुदायको सहयोगका लागि हामी आभारी छौं’, केन्द्रका एक जना बोर्ड अफ डाइरेक्टर तथा ब्याण्डका लिड डा. बिष्टले भने।

समारोहको शुरुमा एनसीएओका बोर्ड अफ डाइरेक्टर मोहन बस्नेतले सबैलाई स्वागत र नारायण क्षेत्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू