मंगलबार, वैशाख २, २०८२
07:06 | ११:५१

एनआरएनए यूकेका १० विभाग गठन, प्रवक्ता र सदस्यहरु पनि मनोनित

नेपाली लिङ्क अप्रिल १३, २०२५


लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले ०२५-०२७ कार्यकाल प्रभावकारी बनाउन विभिन्न विभाग गठन गरेको छ । संघको आइतबार आफनै कार्यालय फार्नबोरोमा सम्पन्न बैठकले १० वटा विभाग गठन गर्दै जिम्मेवारी तोकेको हो ।

अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा भएको बैठकले च्यारिटी विभागको प्रमुख संयोजकमा उपाध्यक्ष अनिल मल्ल, गोर्खा विभाग प्रमुख संयोजकमा उपाध्यक्ष रिचर्ड गुरुङ र उपसंयोजकमा दीपक सुब्बा, विद्यार्थी विभागको प्रमुख संयोजकमा निशान पन्धक र उपसंयोजकमा दिवाराज राई, पब्लिक रिलेसन र सदस्यता विभागमा प्रमुख संयोजक उपाध्यक्ष धन तामाङ, हेल्थ विभागको प्रमुख संयोजकमा डा. ओसिन लिम्बु, उपसंयोजकमा शिमानी श्रेष्ठ, सुशासन तथा भष्टाचार निवारण (एन्टी करप्सन) विभागमा प्रमुख संयोजक कृष्णप्रसाद खतिवडा र उपसंयोजकमा एसके श्रेष्ठ, खेलकुद तथा सांस्कृतिक विभाग प्रमुख संयोजक झलक पुन, उपसंयोजकमा मेख गुरुङ (मेक्सी) र जानुका राई, सोसल मिडिया प्रमुख संयोजकमा गीता शाही केसी, महिला विभागमा प्रमुख संयोजक मणिकला राई गुरुङ र उपसंयोजकमा कल्पना कन्दङवा, विजनेश इन्टरप्रेनर प्रमुख संयोजक सुरेश केसी र उपसंयोजकहरुमा मणिकला राई र विजय गुरुङलाई जिम्मेवारी दिएको छ ।

बैठकले संघको प्रवक्तामा डा. कुलप्रसाद कंडेल र दुई मनोनित सदस्यहरुमा एसके श्रेष्ठ एवं गीता केसी शाहीलाई मनोनित गर्ने निर्णय गरेको छ ।


उक्त बैठकले जुलाईमा इंग्ल्याण्ड, स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा राज्य समन्वय परिषद गठन गर्ने निर्णय पनि गरेको छ । 

संघले वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई अझ सशक्त बनाउन बेलायतमा राष्ट्रिय तथा स्थानीय स्तरमा सचेतना कार्यक्रम गर्ने निर्णय गरेको छ । 

संघले वंशजको नेपाली नागरिकता कायम हुनुपर्ने मागसहित सर्वोच्चमा मुद्दा समेत दायर गरेको अवस्थामा अन्तरक्रियालाई प्राथमिकतामा राखेको हो ।

बैठकले दोश्रो एनआरएनए फुटबल कप प्रतियोगिता आउंदो अगष्ट १६ मा गर्ने निर्णय समेत गरेको छ । खेलमैदान पछि तय गरिने छ । 

संघको प्रमुख सल्लाहकारमा आर के त्रिपाठीलाई थप्दै यसअघिको कार्यकालका सबै प्रमुख सल्लाहकार, प्रमुख संरक्षक डेभिड गुरुङ र सल्लाहकारहरु यथावत राख्ने निर्णय गरेको छ । केही सल्लाहकारहरु भविष्यमा थपिने संघले जनाएको छ ।

सल्लाहकार, प्रमुख संरक्षक र सल्लाहकारहरुलाई ११ जुलाई शुक्रबार अल्डरसटस्थित एम्पायर हलमा एक च्यारिटी कार्यक्रम गरि प्रमाणपत्रसहित सम्मान गरिनेछ ।

आउंदो ३ देखि ५ मेसम्म काठमाडौंमा हुन लागेको संघको अन्तर्राष्टिय एकता अधिवेशनमा बेलायतबाट सकेसम्म धेरै सदस्यहरुको सहभागिता गराउन पहल गर्ने निर्णय पनि भएको छ ।

अध्यक्ष प्रेम गाहामगरले नयाँ टिमलाई प्रभावकारी रुपमा संघ सन्चालनका लागि गम्भीर बन्न निर्देशन दिंदै नयाँ वर्षको शुभकामना दिएका थिए । 

महासचिव जुरेन्द्र खजुमले सन्चालन गरेको बैठकमा वहुमत कार्यसमिति पदाधिकारी, सदस्यहरु एवं पर्यवेक्षक गरि तीन दर्जन सहभागी थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू