दरबार छाडेपछि बेलायती राजकुमारलाई अनेक उतारचढाव, सुरक्षा हटाइँदा अदालतमा



फाइल तस्विर
लन्डन । सन् २०२० जनवरीमा बकिङघम दरबार छाडेपछि धेरै उतारचढाव खेपे बेलायती राजकुमार ह्यारीले । ४० वर्षीय प्रिन्स ह्यारीले डिभोर्सी महिलासंगको बिहेका कारण शाही परिवारसंग मनमुटावदेखि मिडिया स्टन्ट र आलोचनासम्म सामना गर्नुपर्यो ।
यतिखेर आफ्नो सुरक्षाका लागि उनको कानूनी लडाईं जारी छ । यतिसम्म कि ह्यारीले आफ्नो प्रहरी सुरक्षा पुनर्स्थापित गर्न भएको लामो कानुनी लडाइँबाट ‘थाकेको’ बताएका छन् ।
जनवरी ८, २०२० मा ड्यूक र उनकी श्रीमती मेघनले शाही कर्तव्यबाट ‘पछि हट्ने’ घोषणा गरेपछि उनको सुरक्षास्तर परिवर्तन गर्ने निर्णय भएको थियो ।
बेलायतमा रहँदा प्रहरी सुरक्षाको अधिकार खारेज गर्ने निर्णयविरुद्ध कानूनी चुनौती दिएका राजकुमार ह्यारीले गत वर्ष हाइ कोर्टबाट मुद्दा हारेपछि उनी ‘कोर्ट अफ अपिल’ गएका थिए ।
राजकुमार ह्यारीले अन्तवार्ताहरुमा आफ्नो सुरक्षा हटाइँदा ‘स्तब्ध’ महसुस गरेको खुलासा गरेका थिए।

हयारी मेघन जोडी । तस्विर एएफपी
ड्यूक अफ ससेक्स उपाधिले चिनिने हयारी गत साता रोयल कोर्ट अफ जस्टिस लन्डन उपस्थित भएका थिए ।
रोयल कोर्ट अफ जस्टिसमा दुई दिने सुनुवाइका क्रममा उनका वकिल साहिद फातिमा (केसी) ले राजकुमारको उपस्थिति ‘यो अपील उनी र उनको परिवारका लागि कति महत्त्वपूर्ण छ भन्ने कुराको एक शक्तिशाली उदाहरण हो’ भन्ने तर्क राखेकी थिइन् । सुरक्षा संवेदनशीलताका कारण उनको सुनुवाइ गोप्य रुपमा भएको थियो ।
हयारी मेघन जोडी सन् २०२० देखि आफ्ना दुई बच्चाका साथ क्यालिफोर्नियामा बसोबास गर्दै आएका छन् ।
ह्यारीले आफ्ना बच्चाहरूसँग बेलायत भ्रमण गर्दा सुरक्षित महसुस नगर्ने बताउने गरेका छन् । सुरक्षा व्यवस्थाका कारण राजकुमार ह्यारीको जीवन जोखिममा रहेको उनका वकिलले पनि जिकिर गर्दै आएका छन् ।
ह्यारीले मागिरहेको सुरक्षा हाल राजा रानी, द प्रिन्स एण्ड प्रिन्सेस अफ वेल्स (विलियम क्याथरिन दम्पत्ति) र उनीहरूका तीन बच्चालाई प्रदान गरिएको छ ।
ह्यारी र उनकी श्रीमति मेघनले राजपरिवारको वरिष्ठ सदस्यका रुपमा आफूहरु जिम्मेवारीबाट अलग्गिने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेपछि विश्व तरंगित भएको थियो । दरबारको सुख सयल र विलासिता त्यागेर एकाएक सामान्य जीवन जीउने उनीहरुको घोषणाले सबैलाई अचम्म तुल्यायो ।
ह्यारी दम्पत्तिको शाही भूमिका परित्यागसम्बन्धमा महारानी एलिजावेथ द्वितीयाले लामो छलफल गरेपछि स्वीकृति जनाएकी थिइन् ।
उनीहरुले ‘हिज, हर रोयल हाइनेस्’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न पाउंदैनन् ।
प्रिन्स हयारीको साइनो नेपाल र गोर्खा सैनिकहरुसंग निकट छ । हयारीले ब्रिटिश गोर्खाहरुसंग र नेपालमा धेरै समय बिताएका छन् । महाभूकम्प लगत्तै नेपाल भ्रमण गरेका राजकुमार हयारीले उत्तरी गोर्खाको लापु गाउं विकास समितिस्थित प्रभातकिरण निमाविको पुनर्निर्माणमा सघाएका थिए ।
उनले अन्नपूर्ण हिमश्रृंखला तथा बर्दिया राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै नभुल्ने बताएका थिए ।
कुनै बेला अफगानिस्तान युद्धमा संगै रहेका हयारीले गोर्खा सैनिकहरुसंगको सम्बन्धबाट खुशी र गर्व महशुस गर्ने गरेको उनी बताउंछन् । राजकुमार हयारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा गर्ने गर्छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५