आइतबार, चैत ३०, २०८१
00:10 | ०४:५५

यूके इमिग्रेसन कडाइको असर: भिसा आवेदन एक तिहाइले घटे

नेपाली लिङ्क अप्रिल ११, २०२५

फाइल तस्विर

लन्डन- बेलायतको भिसाका लागि मुख्य रुटहरुमा आवेदन गर्ने आप्रवासीको संख्या पछिल्लो एक वर्षमा एक तिहाइ बढीले घटेको छ।

होम अफिसको बिहीबार सार्वजनिक तथ्यांकअनुसार गत मार्च महिनासम्म एक वर्षमा जम्मा ७ लाख ७२ हजार २ सय भिसा आवेदन भएका छन्। जब कि ठीक एक वर्षअघिको सोही अवधिमा भिसा आवेदन संख्या १२ लाख ४० हजार थियो।

सन् २०२४ को सुरुआतदेखि लागू गरिएको इमिग्रेसन नीति कडाइकै कारण बेलायतको भिसा आवेदन गर्नेहरुको संख्यामा भारी गिरावट आएको ठानिएको छ।

तत्कालिन कञ्जरभेटिभ पार्टी नेतृत्वको सरकारले हेल्थ केयर वर्कर तथा अधिकांश विद्यार्थी रुटमा आउने आप्रवासीहरुलाई डिपेन्डेन्टका रुपमा परिवार ल्याउन नपाउने व्यवस्था गरेको थियो भने वर्क पर्मिट भिसा लिन पनि वार्षिक तलब थ्रेसहोल्ड उल्लेख्य बढाएर ३८ हजार ७ सय पाउण्ड पुर्‍याएको थियो।

बेलायतमा हेल्थकेयर वर्करहरुको भिसा आवेदन संख्या पछिल्लो वर्ष ७८ प्रतिशतले घटेको छ। सन् २०२३-२०२४ मा ३ लाख ५९ हजार ३ सयले भिसा आवेदन गरेको यो रुटमा सन् २०२४ -२०२५ मा मात्र ८० हजार ७ सय आवेदन आएका छन्।

त्यस्तै, विद्यार्थीको डिपेन्डेन्टका रुपमा भिसा आवेदनहरुको संख्या गत वर्ष ८३ प्रतिशतले घटेको छ। विद्यार्थीहरुकै भिसा आवेदन पनि अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले न्यून छ।

गत वर्ष नेपालबाट पनि विद्यार्थी रुटमा डिपेन्डेन्टको रुपमा बेलायतको भिसा आवेदन गर्नेहरुको संख्या उल्लेख्य घटेको छ। सन् २०२३ मा नेपालबाट ३ हजार १ सय २० जना विद्यार्थी डिपेन्डेन्टले आवेदन गरेकोमा सन् २०२४ मा त्यो संख्या घटेर जम्मा ४ सय ३६ मा झरेको थियो।

नेपालबाट विद्यार्थीकै रुपमा भिसा आवेदन गर्नेको संख्या भने गत वर्ष झन् बढेको तथ्यांकले देखाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू