शुक्रबार, वैशाख ५, २०८२
20:16 | ०१:०१

नाइट क्लबको छत भत्किँदा गायकसहित १२४ बढीको मृत्यु

रासस/एएफपी अप्रिल ९, २०२५

घट्नास्थलमा उद्धारकर्मीहरु । तस्विर- रोयटर्स

सान्तो डोमिङ्गो (डोमिनिकन रिपब्लिकन), चैत २७ गते । डोमेनिकन रिपब्लिकनस्थित जेट सेट नाइटक्लबमा गायक रुबी पेरेजको कन्सर्टका बेला उक्त क्लबको छत भत्किँदा करिब १२४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् । मर्नेमा दुई पूर्व व्यवसायिक बेसबल खेलाडी समेत रहेका र कम्तीमा २५५ जना घाइते भएका जनाइएको छ ।

प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा मृत्यु हुनेमा गायकका प्रबन्धकसमेत रहेको जनाइएको छ ।

मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेको जनाइएको छ । उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेका थिए ।

स्थानीय मिडियाका अनुसार दुर्घटना हुँदा क्लबमा एक हजार जति मानिस थिए । पेरेजकी छोरी जुलिन्काले छाना भत्किएपछि भाग्न सफल भएको पत्रकारलाई बताइन् ।

राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरी तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् । उनका अनुसार मृतकमा मोन्टे क्रिस्टी नगरपालिकाका गभर्नर नेलसी क्रुज पनि छन् ।

आपतकालीन सञ्चालन केन्द्रका निर्देशक जुआन म्यानुएल मेन्डेजले उद्धार तथा खोजी कार्य जारी रहेको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू