आइतबार, चैत ३०, २०८१
06:05 | १०:५०

पर्वत सोसाइटीको नयां वर्ष कार्यक्रममा राजु परियार र शिला आले आउने पक्का

नेपाली लिङ्क अप्रिल ८, २०२५

लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेको नेपाली नयां वर्ष कार्यक्रममा नेपालका चर्चित लोकगायक राजु परियार र लोकगायिका शिला आलेले गाउने पक्का भएको छ ।

आउंदो अप्रिल २६ मा अल्डरसटस्थित एम्पायर हलमा तय भएको नयां वर्ष शुभकामना आदानप्रदान कार्यक्रममा दोहोरी गायक गायिका परियार र आलेले ‘परफर्म’ गर्ने निश्चित भएको सोसाइटीले जनाएको छ ।

लोक स्वर सम्राट उपनामले चिनिने राजु परियारका दर्जनौं हिट गीत छन् भने शिलाले पनि लोक सांगीतिक फांटमा असंख्य गीत विजारोपण गरेकी छन् ।

कार्यक्रममा कलाकारद्वयले आफ्ना नयां पुराना दर्जन गीत गाएर दर्शकलाई भरपुर मनोरन्जन दिनेछन्, दोहोरी गीतले हल तताउने छन् ।  

राजु शिलाको लोक दोहोरीले बजार तताउने गरेको छ । कार्यक्रम प्रवेश शुल्क ३० पाउण्ड राखिएको छ ।

सोसाइटीकी अध्यक्ष अप्सरा गुरुङले लोकप्रिय राष्ट्रिय कलाकारहरुसंगै झुमेर, नाचेर नयां वर्ष मनाउन बेलायतवासी समस्त नेपालीलाई निमन्त्रणा गरेकी छन् ।

दिउसो उही भेन्यूमा सोसाइटीको १० औं अधिवेशन हुंदैछ जसले नयां नेतृत्व चयन गर्नेछ ।

अधिवेशनका लागि सोसाइटीका संस्थापक अध्यक्ष हितकाजी गुरुङको संयोजकत्वमा एक निर्वाचन समिति समेत गठन गरिएको छ ।

निर्वाचन समितिमा पूर्व अध्यक्षत्रय पुरन गिरी, दधि आचार्य र नेत्र आले एवं सल्लाहकार तथा संरक्षक मेजर रि. कृष्ण गुरुङ छन् । नयां कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ ।

त्यसदिन १२ देखि ४ बजेसम्म अधिवेशन-निर्वाचन प्रक्रिया एवं सांझ नयां कमिटीको नेतृत्वमा नेपाली नयां वर्ष २०८२ शुभकामना आदानप्रदान कार्यक्रम गरिने वरिष्ठ उपाध्यक्ष सुरज पौडेलले जनाए ।

सन् २००२ मा स्थापित सोसाइटीले बेलायत तथा नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । सोसाइटीले गत वर्ष एक च्यारिटी डिनर गरि पर्वतका विभिन्न गाउंपालिकास्थित करिब एकहजार गरिव तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू