आइतबार, चैत ३०, २०८१
14:37 | १९:२२

बेलायतका गुल्मेलीले गरे दुवै मृगौला बिग्रिएकी एकल महिलालाई चार लाख बढी सहयोग

नेपाली लिङ्क अप्रिल ८, २०२५

लन्डन- गुल्मी जिल्ला समाज यूकेले गृहजिल्लाकी एक मृगौलापीडितको उपचारका लागि आर्थिक सहयोग गरेको छ।

गुल्मीको चन्द्रकोट ४ शान्तिपुरकी दुवै मृगौला बिग्रिएकी एकल महिला कमला थापामगर खत्रीलाई समाजले चार लाख १६ हजार २० रुपैया सहयोग गरेको हो ।

समाजको आव्हानमा बेलायतमा संकलन गरिएको उक्त रकम मंगलबार काठमाडौंमा पीडितलाई हस्तान्तरण गरिएको सहयोग संकलन संयोजन गरेका समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछाले नेपालीलिंकलाई जानकारी दिए ।

आर्थिक अभावका कारण कमलाको उपचारमा कठिनाइ भएपछि परिवारको आग्रहमा बेलायतमा आर्थिक संकलन गरिएको थियो।

दुवै मृगौला बिग्रिएकी कमलाको मेरुदण्डमा समेत समस्या रहेकाले कम्मरभन्दा मुनिको भाग नचल्ने अवस्थामा छ । उपचारका लागि परिवारले सक्दो कोशिस् गर्दै आएपनि निकै खर्चिलो भएपछि सहयोगका लागि समाजसंग याचना गरिएको थियो ।

सहयोग संकलन संयोजक एवम् समाजका संस्थापक अध्यक्ष काउछाले कमलाको सहयोगार्थ बेलायतमा आर्थिक संकलनमा सहयोग गर्ने समाजका अध्यक्ष रुद्र थापा, महासचिव महलाल घिमिरे र कार्यसमितिसहित सबै सहयोगदातालाई धन्यवाद ज्ञापन गरेका छन् । समाजले पठाएको रकम काठमाडौंमा उपचाररत पीडितसम्म हस्तान्तरण गरिदिने रुपा राना र पिन्की रानालाई पनि उनले धन्यवाद दिए ।

गुल्मी जिल्ला समाजले स्थापनाकालदेखि नै विभिन्न परोपकारी काम साथै दैवीप्रकोप, आपतविपत र उपचार खर्च अभावमा परेकाहरुलाई पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू