छायांकनका लागि दक्षिण भारतीय अभिनेता नेपालमा


काठमाडौँ — दक्षिण भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपाली निकै सुन्दर रहेको बताएका छन् । दक्षिण भारतीय फिल्म ‘टाइसन नाइडु’को छायांकनका लागि नेपाल आएका अभिनेता श्रीनिवासले चन्द्रागिरीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालीको माया र सत्कारको प्रशंसा गर्दै लागि धन्यवाद दिए ।
उनले भने, ‘म नेपाल आउन चाहेर पनि आउन सकेको थिइनँ । कामकै सिलसिलामा यो मेरो पहिलो भ्रमण भए पनि यहाँ पाएको माया र सत्कार अद्भूत छ । यो चलचित्रको कथा नेपालसँग जोडिएकाले हामीले यही आएर छायांकन गर्ने निर्णय गरेका थियौँ । यो चलचित्रले नेपाली कलाकारलाई दक्षिण भारतीय चलचित्रसँग जोड्नेछ ।’
फिल्म द्वन्द्वप्रधान रहेको जानकारी दिँदै उनले आफूलाई नेपाली खाना र परिकार मन परेको जानकारी दिए । नेपालमा पोखरापछि काठमाडौंमा छायांकन गरिएको जानकारी दिँदै उनले पशुपतिनाथको दर्शन गरेर मात्र स्वदेश फर्किने बताए । ‘मलाई यहाँको हिमाल हेर्न मन छ, सगरमाथा पुग्न मन छ तर अहिले सम्भव छैन । यहाँका खानाले समेत मलाई मोहित बनाएको छ’, उनले भने ।
श्रीनिवासले सन् २०१४ मा ‘अल्लुडु सीनु’ नामक तेलुगु चलचित्रमार्फत अभिनय यात्रा सुरु गरेका थिए । हालसम्म उनले अभिनय गरेका १० चलचित्र प्रदर्शन भइसकेका छन् । हाल ‘टाइसन नाइडु’सहित तीन चलचित्र छायांकनरत छन् ।
उक्त चलचित्रमा नेपाल प्रहरीको भूमिकामा रहेका अभिनेता किरण श्रेष्ठले नयाँ अनुभव भइरहेको बताए ।’मैले यसअगाडि पनि उत्तर भारतीय शृङ्खलामा काम गरेको थिएँ । अहिले दक्षिण भारतीय चलचित्रमा काम गर्न पाउँदाको अनुभव छुट्टै छ, ठूलो बजेट भएकाले पनि उहाँहरूले भव्यता खिच्नु हुन्छ र योजनाअनुसार नै चल्नु हुन्छ । अन्य काम भने हाम्रो नेपाली चलचित्रजस्तै छ’, श्रेष्ठले भने । उनले ‘आईसी ८१४’ नामक भारतीय वेब शृङ्खलामा काम गरेका थिए ।
फिल्म ‘टाइसन नाइडु’को छायांकन विगत एक वर्षदेखि विभिन्न सेड्युलमा भारतमा भइरहेको थियो । नेपालसँग कथा जोडिएपछि चलचित्रका निर्मातासँगै यहाँ दृश्यांकन हुने कलाकार नेपाल आएका हुन् । उनीहरुको नेपाल बसाइ र अन्य गतिविधिबारे निर्माण पक्षले कुनै जानकारी भने दिएको छैन ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५