बेलायतमा पानी, ग्यास-बिजुलीको मूल्यदेखि काउन्सिल ट्याक्ससम्म वृद्धि



फाइल तस्विर
लन्डन- बेलायतमा विभिन्न अत्यावश्कीय सेवाहरुको मूल्य वृद्धि भएको छ।
अप्रिल १ तारिखबाट लागू हुने गरी पानी, ग्यास, बिजुली, काउन्सिल ट्याक्सलगायतको शुल्क बढाइएको हो ।
मूल्य वृद्धिबाट दशौं लाख बेलायती उपभोक्ताको जनजीवन प्रत्यक्ष रुपमा प्रभावित हुने भएको छ।
इंग्ल्यान्ड र वेल्समा प्रतिघर पानीको मासिक बिल औसतमा १० पाउण्डका दरले बढेको छ । स्कटल्यान्डमा पनि पानीको बिलमा १० प्रतिशतको वृद्धि गरिएको छ।
इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्डमा एक सामान्य घरमा ग्यास तथा बिजुलीको बिल वार्षिक १ सय ११ पाउण्डले बढेको छ । औसत एक घरको वार्षिक ग्यास, बिजुलीको बिल अब १ हजार ८ सय ४९ पाउण्ड हुने भएको छ।
स्थानीय काउन्सिलहरुलाई बुझाउनुपर्ने काउन्सिल ट्याक्स पनि बढेको छ। इंग्ल्यान्डमा ४ दशमलव ९९ प्रतिशत, वेल्समा ४ दशमलव ५ देखि ९ दशमलव ५ प्रतिशतसम्म र स्कटल्यान्डमा कम्तीमा ८ प्रतिशतले काउन्सिल ट्याक्स बढाइएको छ।
बेलायतमा घर किन्दा बुझाउनुपर्ने ‘स्टयाम्प ड्युटी’ मा पनि केही परिवर्तन भएका छन् । यसअघि २ लाख ५० हजार पाउन्डभन्दा बढी मूल्यका घर किन्दा बुझाउनुपर्ने उक्त शुल्क अब १ लाख २५ हजार पाउण्ड माथिका घरमा पनि बुझाउनुपर्ने भएको छ।
त्यस्तै, पहिलो घर किन्दा यसअघि ४ लाख २५ हजार पाउण्डसम्मको प्रपर्टीमा स्टायम्प ड्युटी बुझाउनु नपर्ने सुविधा रहेकोमा अब त्यो सुविधा घटाएर तीन लाखसम्मको प्रपर्टीमा मात्रै सिमित गरिएको छ।
यसैगरी, बेलायती उपभोक्ताले उपभोग गर्ने इन्टरनेट, टेलिफोन, टिभी लाइसेन्सदेखि कार इन्सुरेन्स सम्मका सेवामा पनि शुल्क वृद्धि भएको छ।
थुप्रै शुल्क वृद्धिका बीच बेलायतमा न्यूनतम ज्याला पनि प्रतिघण्टा ११ पाउण्ड ४४ पेन्सबाट बढाएर १२ पाउण्ड २१ पेन्स बनाइएको छ जसअनुसार न्यूनतम ज्यालामा फुलटाइम काम गर्ने एक कामदारले अब वार्षिक १४ सय पाउण्ड बढी कमाउन सक्नेछन्।
न्यूनतम ज्यालामा भएको वृद्धिले बेलायतीहरुलाई केही राहत अवश्य दिलाउनेछ। तर, त्यसको तुलनामा बिलहरुको शुल्कमा झन् चर्को वृद्धि भएकाले बेलायतमा आम मानिसहरुको जनजीवन आर्थिक हिसाबले थप असहज बन्ने पक्का छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५