दशौं वार्षिकोत्सव मनाउँदै आरजीएनएस
नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा कार्यक्रम


लन्डन– साउथ इष्ट लन्डनस्थित नेपालीहरुको संस्था रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) ले स्थापनाको दशौं वर्षगाँठ विशेष कार्यक्रमसहित मनाउने भएको छ।
आरजीएनसएले यही अप्रिल १ तारिख आइतबार नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा संस्थाको दशौं स्थापना दिवस मनाउन लागेको हो। वुल्वीच एलिजावेथ स्टेसननजिक स्टेसन रोडस्थित बेन्थाम हाउसको माउड्स्ले सुइटमा अपरान्ह ४ देखि राती १० बजेसम्म कार्यक्रम तय छ ।
संस्थाकी अध्यक्ष लिलादेवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकको निर्णयअनुसार दशौं स्थापना दिवस मनाउन विशेष कार्यक्रम आयोजना गर्न लागिएको महासचिव ह्यारी गुरुङले नेपालीलिंकलाई जानकारी दिए । कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारीमा जुटिसकेको उनले बताए।
कार्यक्रममा स्थानीय ग्रीनवीच बरोका प्रतिनिधिहरुदेखि लन्डनस्थित नेपाली दूतावास र बेलायतभरको नेपाली समुदायलाई समेट्ने गरी विभिन्न संघसंस्थाका प्रतिनिधिलाई निम्त्याइंदैछ।
कार्यक्रममा संस्थालाई १० वर्षसम्म विभिन्न तवरले योगदान गर्नेहरुलाई सम्मान गरिनेछ । सो अवसरमा विभिन्न कलाकारका सांस्कृतिक कार्यक्रम र डिजेबाट मनोरञ्जन पनि गराइनेछ ।
सन् २०१५ मा स्थापना भएको आरजीएनएसमा स्थानीय ग्रीनवीच बरोका साथै सिंगो साउथ इष्ट लन्डनभित्र बस्ने नेपालीहरु पनि सक्रिय रहंदै आएका छन्।
संस्थाले स्थानीय बरोमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै आएको छ । त्यस्तै, आरजीएनएसले केही वर्षदेखि स्थानीय बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको छ।
नेपाली नयाँ वर्षदेखि दशैंतिहारजस्ता नेपाली चाडपर्वलगायतका विभिन्न अवसरमा संस्थाले विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ।
आरजीएनएस अध्यक्ष लीलादेवी गुरुङले संस्था स्थापनाको १० वर्षलाई एक उत्सवका रुपमा मनाउन कार्यक्रम तयारी गरिएको बताइन्।
उनले स्थानीय ग्रीनवीच बरो र साउथ इष्ट लन्डनमात्र नभइ बेलायतका अन्य क्षेत्रमा बस्ने नेपालीहरुलाई पनि सो अवसरमा सहभागिताका लागि आव्हान गरेकी छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५