बुधबार, चैत १९, २०८१
07:51 | १२:३६

युरोपमा महिला हिंसाका घट्ना बढेकामा अभियन्ताहरुको चिन्ता

नेपाली लिङ्क मार्च ३१, २०२५

माल्टा- युरोपमा नेपाली महिलाहरु आउने क्रम बढेसँगै हिंसाका घट्ना बढेकामा अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छन्।

१६ औं युरोप क्षेत्रीय सम्मेलनको तेस्रो दिनमा बोल्ने अभियन्ताहरुले युरोपमासमेत महिलाहरू घरेलु हिंसा भोग्न बाध्य रहेको बताए।

उक्त सत्र गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राईको अध्यक्षतामा भएको थियो ।  

मन्तव्यका क्रममा उपाध्यक्ष रोजिनाले युरोपमा रहेका महिलाका लागि सेल्टर स्थापना गर्न पहल गर्ने बताइन्।

‘१ हजार भन्दा धेरै महिला भएका देशहरुमा महिला सेल्टर स्थापनाको अवधारणा अगाडि बढाउनु पर्छ । पोर्चुगल, स्पेन लगायतका देशमा महिलाहरु विभिन्न खालका हिंसामा परेका घटनाहरु बाहिर आएका छन्,’ उनले भनिन्, ‘गैर कानुनी ढंगले विदेश जान बाध्य बनाउन भन्दा श्रम स्वीकृति दिएर विदेश पठाउन म नेपाल सरकारसँग आग्रह गर्छु।’

उनले महिलाहरु शिक्षित भए उनीहरुको आर्थिकस्तर उकासिने र सामाजिक प्रतिष्ठा बढ्ने पनि बताइन् ।  

उक्त सत्र गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राईको अध्यक्षतामा भएको थियो

एनआरएनएकी सचिव टिका गुरूङ (राधिका) ले विदेशमा आफ्ना छोरीहरु पठाउँदा विदेशमा आउने जटिलताको सामना गर्न तयार बनाउनुपर्ने बताइन् । उनले महिलालाई उद्यमशील बनाउन र सशक्त बनाउन जोड दिनपर्ने बताइन्।

‘वैदेशिक रोजगारीमा गएका महिलाहरुको ज्ञान सीप प्रयोग गरेर उद्यमशील बनाउन सकिन्छ। रोजगारीमा जाने महिलाहरुका लागि ट्रेनिङ सेन्टर खोल्न सकिन्छ भन्ने लाग्छ,’ उनले भनिन्, ‘महिलालाई सशक्त बनाउन घरदेखि पहल हुनुपर्छ भने राज्य र समाजले पनि ध्यान दिनु पर्छ।’

एनआरएनए सह–कोषाध्यक्ष अमृता थापा (कञ्चन) ले हिंसा भएकै बेला भन्न नसक्दा धेरै समस्या पर्ने गरेको बताइन्।

एनआरएनए केन्द्रीय सदस्य शान्ति अर्याल अधिकारीले डिपेन्डेन्ट भिसामा युरोप आउनेहरु धेरै पीडामा रहेको बताइन्। उनले युरोप आउँदा भाषाको ज्ञान र सिप जानेको हुन पर्ने बताइन्।

‘मलाई कति दिदीबहिनीले रुँदै फोन गर्नुहुन्छ। कतिलाई आफ्नै श्रीमानले हिंसा गरेका छन् अनि कतिलाई विभिन्न प्रलोभनमा पारेर हिंसा गरिएको छ,’ उनले भनिन्, ‘तपाईहरु युरोप आउँदा भाषाको ज्ञान र कामको सीप भयो भने श्रम बेच्न सक्नुहुन्छ । होइन भने विभिन्न तरिकाले फाइदा उठाउन खोज्छन्।’


एनआरएनएकी युरोप महिला संयोजक प्रसुना कंडेलले विदेश आउँदा धेरै बुझेर मात्र आउन आग्रह गरिन्। आफू हिंसामा परेको उजुरी दिन समेत डराउँदा थप समस्या भएको उनको बुझाइ छ।

‘केही कुरा बाहिर आयो भने घरमा समस्या पर्छ भनेर डराउनुहुन्छ। कतिपयलाई एजेन्टले गलत ठाउंमा पुर्‍याइदिन्छन्,’ उनले भनिन्, ‘क्रोएसिया, इटली लगायतका देशमा धेरै समस्या छ। कतिपय अवस्थामा हामीले खाना जम्मा गरेर समेत खुवाउने गरेका छौं।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू