साढे पाँच महिनापछि फर्किएका रवि लामिछानेले तोके पहिलो महाधिवेशन


काठमाडौँ, चैत्र १८, २०८१— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा हुने बताएका छन् ।
लामिछानेको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाबाट घोषणा गरेकै समय अर्थात वैशाखमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।
महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्य र प्रदेश समितिबाट आगामी तीन दिनभित्र लिखित राय र कार्यविवरण पार्टीमा पेश गर्न लामिछानेले निर्देशन दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
त्यसैगरी बैठकले ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ यही चैत २३ गते चितवनबाट सुरु गर्ने निर्णय गरेको छ । पार्टीका तर्फबाट राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्री सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा तोसिमा कार्कीसहितको ‘मिसन ब्लुप्रिन्ट’ कार्यदल गठन गरिएको छ ।
लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्री सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ । पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधिलगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।
आजको बैठकले गण्डकी प्रदेश समितिको सिफारिसमा गण्डकी प्रदेश सहमहामन्त्रीमा कृष्णप्रसाद लम्साल र कृष्णकुमारी अधिकारीलाई मनोनयनसमेत गरेको छ । करिब साढे पाँच महिनापछि सभापतिको जिम्मेवारीमा फर्किएका लामिछानेले वर्तमान राजनीतिक परिस्थितिमा अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेको बताएका छन् । त्यस्तै संगठनमा फेरबदल र पुनःसंरचनाका लागि तयार रहन सभापति लामिछानेले पार्टी सदस्यलाई आह्वान पनि गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५