बुधबार, चैत १९, २०८१
07:03 | ११:४८

उच्चस्तरीय समितिको आह्वानमा ५८ देशबाट झन्डै १० हजार सदस्यता आवेदन

नेपाली लिङ्क मार्च ३१, २०२५

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले आउँदो अप्रिल ७, २०२५ भित्र सदस्यता लिन संसारभरिका गैर आवासीय नेपालीहरुलाई आग्रह गरेको छ।

एकता महाधिवेशन मूल आयोजक समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै उच्चस्तरीय समितिका अध्यक्ष डा शेष घलेले विषम परिस्थितिमा आफूहरुले काम गरिरहेको बताउंदै आजीवन सदस्य लगायत हाल एमआइएसमा दर्ता भएका सबै एनआरएनहरुलाई पनि अब एक हप्ता भित्रै समितिको वेबसाइट (www.nrnahlc.com) मा गएर सदस्य बन्न आग्रह गरे।

उनले १ अप्रिल देखि नै डेलिगेट्स बन्नका लागि आवेदन दिन सकिने बताउंदै संस्थाको लोकतान्त्रिकरण गर्न, नयाँ विधान बनाउन र संस्थालाई एकजुट गर्ने अवसरको रुपमा एकता महाधिवेशनलाई लिन आग्रह गरे। घलेले एनआरएनए विधानको मर्म र सर्वोच्च अदालतले दिएको ‘म्यान्डेट’ अनुसार समितिले काम गरिरहेको पनि प्रष्ट पारे ।

उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई आजीवन सदस्य लगायत आफ्ना सदस्यहरुलाई उच्चस्तरीय समितिको वेबसाइटमा गएर दर्ता गर्न सहजीकरण गरिदिन आग्रह गरे।

उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले अहिलेसम्म ५८ देशबाट झन्डै १० हजार सदस्यता आवेदन प्राप्त भएको जानकारी दिइन् ।

उनले सबैभन्दा बढी सदस्यता आवेदन कतार (१,८७६), पोर्चुगल (१,४२१), र यूएई (१,०१४) बाट प्राप्त भएको पनि बताइन् । उनले आवश्यक प्रमाणसहित अप्रिल १ देखि अप्रिल २२ भित्र डेलिगेट्सका रुपमा दर्ता हुन आवेदन दिन सकिने व्यवस्था गरिएको पनि बताइन् ।

उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले आर्थिक उपसमितिले गरिरहेका कामहरुबारे अपडेट गर्दै अहिलेसम्म सहयोगको प्रतिवद्धता आइरहेको बताए । उनले एकता महाधिवेशन सफल पार्न नैतिक तथा भौतिक सहयोगका लागि आग्रह गर्दै अधिवेशन सफल पार्न रु ५० हजारदेखि २५ लाखसम्म सहयोग गर्न सकिने व्यवस्था गरिएको बताए ।

उच्चस्तरीय समितिकी सदस्यसचिव रबिना थापाले लामो समयदेखि निःशुल्क सदस्यता र सबै सदस्यहरु डेलिगेट्स बन्न पाउनु पर्ने आवाज उठिरहेकामा पहिलो पटक त्यस्तो अवसर आएको बताइन्। उनले एकता महाधिवेशन सफल पार्न आआफ्नो ठाउँबाट क्रियाशील हुन आग्रह पनि गरिन्।

एनआरएनए उच्चस्तरीय समितिका सदस्यसचिव गंगाधर गौतमले सहजीकरण गरेको बैठकमा मूल आयोजक समितिका सदस्यहरुको उपस्थिति थियो । सदस्य सचिव गौतमले कानूनको शासनमा विश्वास गर्ने सबैले एकता महाधिवेशनमा सहभागी हुनुको विकल्प नरहेको बताउंदै सदस्यता वितरणमा सघाउन एनसीसीहरुलाई आग्रह गरे।

बैठकमा मूल आयोजक समितिका सदस्यहरुले विभिन्न सुझाव दिएका थिए। उनीहरुले सदस्यता वितरण प्रक्रियालाई सहज र सरल बनाउन आग्रह गर्दै प्रचारप्रसारमा अरु जोड दिनुपर्ने जनाएका थिए ।

बैठकमा एनआरएनए अभियन्ताहरु आरके शर्मा, महेश श्रेष्ठ, केशव पौडेल, सुनील साह, दुर्गा आचार्य, बुद्धि सुवेदी, बी आर लामा, खगेन्द्र न्यौपाने, ठाकुर ढुंगाना, थर्क सेन, डा बलराम श्रेष्ठ, संजीव श्रेष्ठ, टंक गैरे, कृष्ण गिरी, छबिलाल कडेल, शैलु अधिकारी, शालिक गौतम, भुवानी तिमिल्सिना, बुद्धि प्रकाश ओली, पासांग शेर्पा, मनोज कुमार श्रेष्ठ, तिलक गैरे, सीपी पौडेल, बलराम थापा, कृष्ण पोखरेल, कुन्दन कार्की, बालहरि राई, दिपेश खत्री लगायतले आफ्नो धारणा राखेका थिए।

अभियन्ताहरुले सर्वोच्च अदालतको परमादेश अनुसार मे महिनामा महाधिवेशनमा सम्पन्न भएर नयाँ कार्यसमिति गठन भएपछि फेरि एनआरएनएकै नाममा अर्को अधिवेशन आह्वान गर्दा अदालतको अपमान हुने भएकाले कुनै भ्रममा नपरी ढुक्क भएर एकता महाधिवेशन सफल पार्न आग्रह गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू