इस्लाम धर्मावलम्बीहरूको एक महिने ‘रमजान’ समापन


विराटनगर । इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान’ आज समापन हुँदैछ । योसँगै भोलि इदउलफित्र पर्व मनाउने तयारीमा इस्लाम धर्मावलम्बीहरू जुटेका छन् ।
एक महिनासम्म सञ्चालन भएको रमजानमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् । रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ ।
रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने परम्परा रहेको विराटनगर महमानगरपालिका–६ निवासी शहबाजिया माध्यमिक विद्यालयका प्रधानाध्यापक इमाम हैदरले जानकारी दिए ।
रमजान उर्दू पात्रोअनुसार हिजरी संवतको नवौँ महिना हो । रमजान महिनामा मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।
अशक्तलाई दान दिनु, गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन रहेको हैदरले बताए ।
‘शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खालगायत हानिकारक खाद्यपदार्थ खाने बानीमा परिवर्तन आउँछ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व मान्दछन् । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन’, उनले भने ।
सुख, शान्ति र समृद्धिका ‘एत्तकाब’
इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको २०औँ दिनमा मस्जिदमा एत्तकाब बस्ने गर्दछन् । रमजान महिनालाई तीन भागमा विभाजित गरी यो पर्व मनाइन्छ । पहिलो आसरा ‘रहमत’, दोस्रो आसरा ‘मगफिरत’ र २०औँ रोजापछि सुरु हुने तेस्रो आसरा नर्कबाट मुक्ति’ प्राप्त गर्न प्रत्येक जामे मस्जिदमा एत्तकाब बस्ने चलन रहेको प्रधानाध्यापक हैदरले बताए ।
उनकाअनुसार एत्तकाब मुसलमान समुदायका लागि मात्र नभएर संसारका हरेक मानव जातिका लागि सुख, शान्ति, सद्भाव र समृद्धिका लागि अल्लाहसँग प्रार्थना गर्नु हो । एत्तकाबमा बस्ने मानिसले मौन रही घरपरिवार, इस्टमित्र, व्यापार तथा अन्य क्रियाकलापबाट टाढा रहनुपर्ने धार्मिक मान्यता रहेको बताउँदै यसलाई रोजा मान्ने मुसलमानहरूले अहिलेसम्म पछ्याइरहेको बताए ।
इदउलफित्र
इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको २९औँ दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउने तयारी गरिरहेका छन् । ‘इदउलफित्र’को दिन कोही मस्जिदमा, कोही ‘इदगाह’मा सामूहिक भेला भएर दुई रिकात नमाज पढेर यो पर्व सम्पन्न गर्छन् ।
नमाज पूरा गरेपछि एकले अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा गएर विभिन्न मिष्ठान्न परिकार खाने गर्छन् । यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्छन् । यसमा आर्थिक अवस्था बलियो भएका अधिकांश मुस्लिम ‘हज’का लागि साउदी अरबको मक्कामदिना जाने गर्छन् ।
फितरा र जकात
रमजान महिनामा प्रत्येक मुस्लिमले जनही एक किलो ७५० ग्राम गहुँको मूल्य बराबर फित्तराका रूपमा निकाल्नु पर्छ । जुन रकम गरिब र मदरसा (पाठशाला) मा खर्च गर्नुपर्छ ।
यो रकम ‘इद’को नमाज पढ्नुभन्दा पहिले निकाली सक्नुपर्ने बताउँदै प्रधानाध्यापक हैदरले यसपछि मात्रै उसले धारण गरेको व्रत ‘रोजा’ कायम हुने धार्मिक मान्यता छ । उनकाअनुसार जकात भने आफूसँग भएका नगद र सुन तथा चाँदीको मूल्य बराबरमा अढाइ प्रतिशत निकाल्नु पर्छ । जकात र फित्तरा संसारभरका मुस्लिमहरूमा लागू हुन्छ ।
तराबी नमाज
रमजान महिनामा मुस्लिमले नियमित रूपमा दिनमा पाँचपटक पढ्ने नमाजसँगै तराबी नमाज (विशेष नमाज) पढ्ने गर्छन् । तराबी नमाज धार्मिकग्रन्थ ‘कुरान’ कण्ठस्त भएका हाफिजले मात्र पढाउन सक्छन् । तराबी नमाज दैनिक २० रिकातको हुन्छ । रोजा व्रत सुरु हुने अघिल्लो दिनदेखि तराबी नमाज सुरु हुन्छ । तराबी नमाजमा जुन दिन ३० पाराको कुरान वाचन सकिन्छ त्यही दिन तराबी नमाज समाप्त हुन्छ । तराबी नमाज पढाउने हाफिजलाई सो दिन मानिसहरूले उपहार दिने चलन छ ।
अनुभव
इटहरी इन्टरनेसनल कलेजमा आइटी प्रथम वर्षमा अध्ययनरत २० वर्षीय मोहम्मद अर्ज अलीले रोजा बस्दा मुस्लिम भएको गर्व महसुस हुने गरेको बताए । उनले लगभग १६ घण्टा निराहर बस्नुपर्ने यो पर्वमा रोजा बस्दा कष्ट भएपनि जीवनमा आनन्द प्राप्त भएको भन्दै आफूले ११ वर्षको उमेरदेखि नियमित व्रत पूरा गर्दै आएको जानकारी दिए । उनले ‘संजोगले यो वर्ष म घर बाहिर भएकाले तराबी नमाज पढ्न असर्थ रहेँ’, उनले भने ।
मोरङ बूढीगङ्गा गाउँपालिकाको पोठिया निवासी १० वर्षीया फातिमा हविवाले गत वर्षसँगै यस वर्ष पनि रोजा बसेको सुनाईन् । रोजा बस्दा भोक लागेको अनुभव नभएको भन्दै उनले तिर्खा धेरै लाग्ने गरेको बताइन् ।
आफ्ना बुबा हाफिज र मौलान दुवै भएको र सधैँ घरमा कुरान पाठ गर्ने गरेको बताउँदै अरबी भाषामा भएको र यसको अर्थ आफूले नबुझे पनि मुस्लिमले पढ्नुपर्ने ग्रन्थ भएको बुबा सलमान मिफताहीले सुनाए ।
इदको दिन नयाँ लुगा लगाउने र समुदायमा पाक्ने परिकारका बास्नाले झन् रमाइलो हुने गरेको विराटनगर सरोचिया निवासी मोहम्मद गुल्जारले बताए ।
‘इदको दिन आममानव जातिमा सुख, शान्ति र समृद्धि प्राप्त होस् भनी अल्लाहसँग प्रार्थना पनि गर्छौँ”, उनले भने ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५