मंगलबार, चैत १८, २०८१
12:06 | १६:५१

बेलायतमा म्याराथन दौडेर मानवसेवा आश्रमलाई सहयोग जुटाउँदै पूर्व डिएसपी श्रेष्ठ

नेपाली लिङ्क मार्च ३०, २०२५

लन्डन- मानवसेवा आश्रमलाई सहयोग जुटाउने लक्ष्यसहित नेपाल प्रहरीका पूर्व डिएसपी शिवजी श्रेष्ठ बेलायतमा म्याराथन दौडिने भएका छन्।

विस. २०८२ भित्र सडक मानवमुक्त नेपालको अभियानमा रहेको मानवसेवा आश्रम नेपालको सहयोगार्थ उनले आगामी अप्रिल ६ तारिखमा हुने साउथह्याम्प्टन म्याराथन दौडिन लागेको बताएका छन्।

म्याराथनका दिन श्रेष्ठलाई हौसला दिन मानवसेवा आश्रम यूकेको टोली आश्रमको टिसर्ट लगाएर हातमा नेपाली राष्ट्रिय झन्डा बोकेर साउथह्याम्पटन जाने तयारी छ।

४२ किमीको फूल म्याराथन दौडिएर श्रेष्ठले मानवसेवा आश्रमको सडक मानवमुक्त नेपालको अभियानका लागि १५ सय पाउण्ड (करिब साढे तीन लाख रुपैया) सहयोग जुटाउने लक्ष्य लिएका छन्।

आफ्नो च्यारिटी अभियानमार्फत मानवसेवा आश्रमको लागि सहयोग गर्न इच्छुक दाताहरुलाई श्रेष्ठले ‘गो फण्ड’ मार्फत योगदान गरिदिन आग्रह गरेका छन्। उनी भन्छन्- ‘पद र पावर समयक्रममा आफै बिर्सिदै जान्छ। तर पूण्य कार्यको सुगन्ध कालान्तरसम्म रहन्छ।’

मानवसेवा आश्रम यूकेका सल्लाहकार श्रेष्ठ बेलायतको ह्याम्पशायर प्रहरीका पनि सल्लाहकार हुन्।

श्रेष्ठ र उनको परिवारले विगतदेखि नै मातृभूमिका लागि विभिन्न च्यारिटी गर्दै आएका छन्। उनकै पहलमा नेपालका विभिन्न १२ जिल्लामा इलाइब्रेरी र ४ कारागारमा लाइब्रेरी स्थापना भएका छन् भने कोभिडका बेला गृहजिल्लाका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा आइसीयू बेडसहितका मेडिकल सहायता हस्तान्तरण गर्न पनि अगुवाई गरेका थिए।

पत्नी उर्मिला श्रेष्ठले अध्ययन गरेको महाराजगंजस्थित नर्सिङ्ग क्याम्पसमा वार्षिक छात्रवृत्ति वितरण गर्दै आएका छन्।

श्रेष्ठको अभियानमार्फत् मानवसेवा आश्रमको लागि सहयोग गर्न यो लिंकमा क्लिक गर्नुहोस्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू