अस्ट्रेलियामा मे ३ मा सङ्घीय निर्वाचन घोषणा



अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज
क्यानबेरा, चैत १५ — अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी मे ३ मा सङ्घीय निर्वाचन गर्ने घोषणा गर्दै लेबर पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा अल्बानीजले भनेका छन्, “मे ३ मा अस्ट्रेलियाको भविष्य निर्माण गर्न मतदान गर्ने निर्णय गरिएको छ । देशको भविष्यका लागि लेबर पार्टीको पक्षमा मतदान गर्नुहुनेछ ।”
अस्ट्रेलियाका दुबै प्रमुख पार्टीहरू वर्षको अधिकांश समय निर्वाचन प्रचारमा व्यस्त छन् । स्थानीय सञ्चारमाध्यम नाइन न्यूजका अनुसार अल्बानिजले शुक्रबार गभर्नर जनरल सामन्था मोस्टिनलाई भेटेर निर्वाचनका लागि अनुरोध गरेका थिए ।
सरकारले सङ्घीय बजेट सार्वजनिक गरेको केही दिनपछि नै अल्बानिजले चुनावका लागि आह्वान गरेका हुन् ।
विपक्षी नेता पिटर डटनले बिहीबार राति बजेटको जवाफमा दिएको सम्बोधनपछि यो घोषणा गरिएको हो । यसलाई विश्लेषकहरूले उनको आलोचनालाई ओझेलमा पार्ने प्रयासको संज्ञा दिएका छन् ।
शुक्रबार बिहान आफ्नो सम्बोधनमा अल्बानिजले भनेका थिए, “पछिल्ला केही वर्षमा विश्वले अस्ट्रेलियामाथि धेरै समस्या थोपरेको छ । अनिश्चित समयमा हामीले सामना गर्नुपर्ने चुनौतीहरू बारे निर्णय गर्न सक्दैनौं, तर हामी कसरी प्रतिक्रिया देखाउँछौं भनेर निर्धारण गर्न सक्छौं ।”
उनले लेबर पार्टीले ऊर्जा बिलमा राहत, बालबालिकाको रेखदेखमा सहयोग र मेडिकेयरलगायत जीवनयापनको लागतमा ध्यान केन्द्रित गरेको बताएका थिए ।
अष्ट्रेलियाली प्रधानमन्त्रीलाई उद्धृत गर्दै ‘नाइन न्यूज’ले लेखेको छ, “यस चुनावमा म अष्ट्रेलियाली जनताको सहयोगका लागि अनुरोध गर्दैछु । हामीले गरेको कडा परिश्रम र हामीले राखेको बलियो जगमा निर्माण जारी राख्न लेवर पार्टीको पक्षमा मतदान निविकल्प शर्त भएको छ ।”
उनले सामाजिक सञ्जाल कम्पनीहरूले तथ्य जाँच गर्न छोडेपछि निर्वाचन अभियानको बारेमा गलत सूचना फैलाएको र वास्तविकताबारे भ्रम छर्न खोजेको बताए ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आउने गलत सूचनाको सम्भावनालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “विश्वभर चुनावी हस्तक्षेप भइरहेको तर जसले अस्ट्रेलियाको विरूद्धमा यो प्रयास गर्दछ कृपया साबधान रहनुहोला । हामीसँग हाम्रो राष्ट्रको हेरचाह गर्ने असाधारण क्षमता छ ।”
लेबर पार्टीसँग हाल प्रतिनिधिसभामा ७७ सिट छ भने विपक्षीसँग ५३ सिट छ । यस वर्षको पहिलो दुई महिनामा भएको चुनावी सर्वेक्षणले गठबन्धनको दुई दलीय झुकावलाई सङ्केत गरेको छ, जसको अर्थ लेबर पार्टी नेतृत्वको सरकार सन् १९३१ पछि मात्र एक कार्यकालपछि सत्ताबाट हट्ने पहिलो अस्ट्रेलियाली सरकार बन्ने सम्भावना बढेको छ ।
सर्वेक्षणले जनताको अभिमत गठबन्धन सरकारको पक्षमा आउने सम्भावना बढेको छ । यद्यपि, सरकारले हालैका हप्ताहरूमा जनमत सर्वेक्षणमा वर्षको सुरुमा भन्दा राम्रो प्रदर्शन गरेको छ ।
नाइन न्यूजका अनुसार शुक्रबार बिहानको आफ्नो सम्बोधनमा अल्बानिजले आफू अस्ट्रेलियाको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएमा बहुमतको सरकारको नेतृत्व गर्ने र पूरा कार्यकाल पूरा गर्न चाहेको बताएका छन् ।
विपक्षी नेता पिटर डटनले अहिलेसम्म चुनावी घोषणाबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । यद्यपि डटनको लिबरल पार्टीको आधिकारिक इन्स्टाग्राम पेजले ‘इट्स अन’ भन्दै एउटा तस्बिर सेयर गरेको छ । पोस्टको क्याप्सनमा लेखिएको छ, “मे ३ मा अष्ट्रेलियालाई ट्रयाकमा ल्याउन लिबरल पार्टीलाई मतदान गर्नु नै उचित विकल्प हुनेछ ।”
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५