सोमबार, चैत १७, २०८१
12:42 | १७:२७

राजावादी आन्दोलनमा पत्रकारसहित दुई जना मारिए

प्रहरीसहित ११० जना घाइते

नेपाली लिङ्क मार्च २८, २०२५

काठमाडौं । राजावादी समर्थकको प्रदर्शनका क्रममा शुक्रबार राजधानीको तीनकुनेमा पत्रकारसहित दुईको मृत्यु भएको छ । प्रहरीसहित ११० जना घाइते भएका छन् । घटनामा ७५ सुरक्षाकर्मी र ३५ प्रदर्शनकारी घाइते भएको जनाइएको छ ।

तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको भवनमा छतबाट दृश्य खिचिरहेका बेला एभिन्यूजकर्मी सुरेश रजकको आगलागीमा परि मृत्यु भएको हो ।

उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थक प्रदर्शनकारीले भवनमा आगो लगाएपछि उनी सोही घरभित्र जीउँदै जलेका हुन् ।

आगलागीपछि भवनबाट उनको जलेको शव फेला परेको र शव नचिनिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, कीर्तिपुर नगरपालिका–४ गाक्छा बस्ने २९ वर्षीय सविन महर्जनको पनि मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

राजसंस्था पुनःस्थापनाका लागि भन्दै आयोजित प्रदर्शन हिंसात्मक बन्दा प्रहरीले गोली चलाएको थियो ।

प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयसहित कयौं व्यापारिक प्रतिष्ठान, निजी सञ्चारगृह एवं सवारीसाधनमाथि आगजनी, तोडफोड र लुटपाट गरेका थिए ।

प्रहरी परिसर काठमाडौंले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीले ९ सरकारीसहित १५ सवारीसाधनमा क्षति पुरयाएको जनाएको छ । त्यस्तै, १४ स्थानमा आगजनी तथा तोडफोड गरेको र स्थिति नियन्त्रणमा लिन अश्रुग्यांस प्रहार गरिएको जानकारी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू