सोमबार, चैत १७, २०८१
02:50 | ०७:३५

बाबुआमाको वार्षिक तिथिलाई लन्डनबाट नेपाल गएका अर्यालको सवारी दुर्घटनामा निधन

नेपाली लिङ्क मार्च २७, २०२५

लन्डन-बाबुआमाको वार्षिक तिथिका लागि नेपाल गएका साउथ इष्ट लन्डननिवासी सामाजिक व्यक्तित्व राजन अर्यालको सडक दुर्घटनामा निधन भएको छ।

बुधबार दिउँसो बुटवलनजिक छपिया भन्ने ठाउँमा ५३ वर्षीय अर्याल चढेको स्कुटीलाई ट्र्याक्टरले ठक्कर दिंदा उनको घटनास्थलमै निधन भएको परिवारनिकट स्रोतले जनाएको छ। उनी सवार स्कुटीका चालक सामान्य घाइते छन्।

गुल्मी जिल्लाको आँपचौर स्थायी ठेगाना भएका अर्याल सन् १९९६ मा बेलायत आएका थिए। नेपालमा उनीहरुको बसोबास पछिल्लो समय रुपन्देहीको मणिग्राममा थियो।

स्वर्गीय अर्यालका पत्नी र दुई छोरी छन्। गत वर्ष केही समयको फरकमा निधन भएका बाबु र आमाको वार्षिक तिथिमा भाग लिन उनी गत विहीबार मात्रै लन्डनबाट पत्नी र जेठी छोरीसहित नेपाल गएका थिए।

बाबुको निधनको खबर पाएपछि कान्छी छोरी पनि बुधबार नै लन्डनबाट नेपाल गएकी छन्। अन्त्येष्टीका लागि छोरीलाई पर्खिएका कारण शव पोस्टमार्टमपछि भैरहवास्थित अस्पतालमा राखिएको छ।

साउथ इष्ट लन्डनको इरिथमा परिवारसहित बस्दै आएका स्वर्गीय अर्याल आफूलाई चिन्नेहरुमाझ निकै प्रिय थिए। आफन्त र साथीभाइमाझ एक सहयोगी र मिलनसार व्यक्तित्वको छवि उनले बनाएका थिए। उनको असामयिक निधनको खबरबाट स्थानीय समुदाय शोकमा डुबेको छ।

‘राजनजीको असमायिक निधनले उहाँको परिवार मात्र नभइ हामी इष्टमित्रहरुमाथि पनि ठूलो बज्रपात पारेको छ’, एनआरएनए यूके पूर्व महासचिव फडिन्द्र भट्टराईले स्वर्गीय अर्यालसंगको लामो मित्रता सम्झिंदै भने, ‘उहाँको सरल, मिलनसार र सहयोगी व्यक्तित्व हामी सधैं स्मरण गरिरहनेछौं।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू