भिजिट भिसामा युएई पुगेर अलपत्र नेपालीको उद्धारमा अभियन्ताहरु



तस्विर- एएफपी
अबुधावी–रोजगारी लगाई दिने भन्दै भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) ल्याएर नेपालीहरुलाई अलपत्र पार्ने समस्या बढेर गएको छ।
सयौं नेपालीले गाँस र बासको समस्या व्यहोरिरहेका छन् भने बरदुबईको नेपाली पार्कमा रात बिताउन वाध्य छन्। महिलाहरुको स्थिति अरु जोखिमपूर्ण छ।
जाडो होस् वा गर्मी, सुटकेसको सिरानी हालेर पुरानो ओडने ओढेर सुतिरहेका नेपालीहरुलाई स्थानीय नेपाली संघसंस्था तथा नेपाली व्यवसायीहरुले सक्दो सहयोग गर्दै आएका छन्।
‘हामीले गत एक महिनाको अवधिमा ३० जना नेपालीलाई निःशुल्क खान बस्न ब्यवस्था गरेका छौं। निकट भविष्यमा १०० जनासम्मलाई निःशुल्क खान बस्ने ब्यवस्था गर्न लागेका छौं’, एपसुङ मोबाइलका सञ्चालक नवीन बिकले भने।
नेपालबाट दलालको प्रलोभनमा परी आकर्षक तलब र सेवा सुविधा पाउने आशामा भिजिट भिसा मार्फत दुबई पुगेर अलपत्र पर्ने नेपालीहरुको संख्या ठूलो छ। कतिपयले आफूहरुलाई दलालले फसाएको भन्दै उद्धारका लागि हारगुहार गर्ने गरेका छन्।

एनआरएन अभियन्ता तथा समाजसेवी नवीन बिक
अबुधावीस्थित नेपाली दूतावासले भिजिट भिसामा आएका नेपालीहरू अलपत्र पर्ने क्रम बढेपछि भिजिट भिसा लगाएर काम खोज्न नआउन आग्रह गरेको छ। भिजिट भिसामा आएर काम नपाएमा वा भने अनुसारको नभए सम्बन्धित कम्पनी वा अन्य जिम्मेवार निकायलाई कारबाही गर्न नसकिने दूतावासले जनाएको छ ।
भिजिट भिसामा ल्याउनेहरूले ठगी गर्ने, ल्याएर अलपत्र छाड्ने, नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकमा लैजाने तथा मानव तस्करहरूको सञ्जालमा पर्न सकिने पनि दूतावासले जनाएको छ।
‘युएइमा काम गर्न आउने हो भने वर्क परमिट लिएर मात्रै आउनु पर्छ। भिजिट भिसामा आएर काम खोज्नु अवैध हो, त्यसैले यस्तो प्रचलन रोक्न नेपाल सरकारले कडा कदम चाल्नु पर्छ’, एनआरएन अभियन्ता तथा समाजसेवी नवीन बिकले भने।
उनले अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन मिलेर काम गर्न नेपाली दूतावास, युएइस्थित सामाजिक संघसंस्था तथा व्यवसायीहरुलाई आग्रह पनि गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५