एनआरएनए यूके अधिवेशन अघि शेष घलेलाई पाइपर र पञ्चेबाजाले स्वागत गर्दै पदयात्रा


लन्डन । एनआरएनए यूकेले उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेलाई पाइपर र पञ्चेबाजाले स्वागत गर्दै पदयात्रा गरेको छ ।
प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेले आइतबार एकता अधिवेशन अघि अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा घलेलाई फेटाले सम्मान गर्दै पाइपर र पञ्चेबाजाका साथ द प्यालेससम्म पदयात्रा गरेको हो ।
प्रिन्सेस गार्डेनमा एनआरएनए पूर्व अध्यक्ष डा. घलेले भिसी प्राप्त गर्ने पहिलो गोर्खा कुलवीर थापाको सालिकमा रिथ पनि अर्पण गरे ।
सो अवसरमा बौद्ध धर्म गुरु र पशुपतिनाथ मन्दिर अल्डरसटका पण्डितले मन्त्रोचारण गरेका थिए ।
सयौं जनमानस सहभागी पदयात्रालाई एनआरएनए यूके गोर्खा टास्क फोर्स संयोजक ओमप्रसाद थापा काउचाले संयोजन गरेका थिए ।
द प्यालेसमा गरिएको एकता अधिवेशन प्रमुख अतिथी डा. शेष घले, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ, अधिवेशन मूल आयोजक समितिका प्रमुख संयोजक योगेन क्षेत्री, सदस्य सचिव आरके त्रिपाठी लगायतले उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा. घलेले अदालतले ठूलो जिम्मेवारी दिएकाले यसलाई मौकाका रुपमा लिएको बताए । घलेले एकता अधिवेशन प्रष्टयाउन कम्युनिटी आउटरिचका लागि अष्ट्रेलिया, बैंकक, दुबाई, यूके, बेल्जियम, पोर्चुगल, कोपेनहेगन, कतार हुंदै नेपाल पुग्ने जनाए । ३१ मार्चसम्म सदस्य बनेर काठमाडौं अधिवेशनमा पनि सहभागी हुन उनले अपिल गरे ।
सर्वोच्चले दिएको अधिकार सदुपयोग गरि संस्थाको लोकतान्त्रिकरण, सबैलाई समान अधिकार, सदस्यहरुको अधिकार संकुचित बनाइएको प्रणालीलाई परिवर्तन गर्न एकता अधिवेशन केन्द्रित हुने घलेले जनाए । आफूले नेतृत्व लिने नभइ संस्था सुधार्ने उद्देश्यले काम गरिरहेको उनले प्रष्टयाए । गैर आवासीय नेपाली नागरिकता कागजको खोस्टो सावित भइसकेको जनाउंदै उनले आफ्नै देश जान भिजा चाहिने नागरिकताको सट्टा अब नेपाली नागरिकता निरन्तरताका लागि लड्नुपर्ने सुझाए ।
‘हामीले प्रभावकारी रुपमा लवि गर्न सकिरहेका छैनौं । अहिले योगेन क्षेत्रीहरु वंशजको नेपाली नागरिकता निरन्तरताका लागि लागिरहनु भएको छ, यसमा मेरो पूर्ण समर्थन छ’, घलेले भने । आफ्नो मुख्य मिसन ३ देखि ५ मेमा हुने अधिवेशन सफल बनाउनु रहेको र यूकेबाट धेरैजना गएर आफ्नो मत राखी राम्रो नेतृत्व चुन्न उनले अनुरोध गरे । अहिले संस्थाको टर्निंग पोइन्ट भएको घलेको धारणा थियो ।
एनआरएनए यूके एकता अधिवेशन मूल आयोजक समितिका प्रमुख संयोजक योगेन क्षेत्रीले एकता अधिवेशन व्यक्तिलाई चुन्ने प्राथमिकता भन्दा वंशजको नेपाली नागरिकता प्राप्तिका लागि भएको प्रष्टयाए । संस्थाका अगुवाहरुले आफ्नो स्वार्थका लागि लागेर मेन एजेण्डामा ध्यान नदिएको आरोप लगाउंदै क्षेत्रीले वंशजको नागरिकताबाटमात्र देश समृद्ध हुने विश्वास व्यक्त गरे । एकता, नागरिकता र समृद्धिका लागि समय मिलाएर काठमाडौं सम्मेलनमा जान उनले अनुरोध गरे ।
केन्द्रमा राजनीतिबाट प्रेरित केहीले एनआरएनएमा विवाद छ भनेर भ्रम फैलाएको जनाउंदै क्षेत्रीले डा. शेष घले सर्वोच्चको परमादेश अनुसार सबै नेपालीको पक्षमा लडिरहेको बताए । आगामी अधिवेशनमा सबैको सामूहिक आवाज लैजान सक्ने उम्मेदवारलाई छनोट गर्नुपर्ने पनि उनले सुझाए ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले घलेलाई एकता अधिवेशन गराउने ठूलो अभिभारा रहेकाले साथ दिन आग्रह गर्दै घलेले वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई समेत साथ दिने प्रतिवद्धता व्यक्त गरेको बताए ।
यसका लागि आफूहरुले सर्वोच्चमा रिट हालेको समेत गाहामगरले जनाए । नेपालको वंशजका नागरिकलाई विदेश पठाएर विदेशीलाई नेपाली नागरिकता दिलाइ भविष्यमा नेपाललाई कब्जा गर्ने रणनीति नेताहरुले बनाइरहेको उनको आरोप थियो ।
अधिवेशन प्रचार प्रसार विभाग प्रमुख आरके त्रिपाठीले लामो समयदेखि वंशजको नेपाली नागरिकता निरन्तरता अभियान बांकी रहेकाले त्यो सफल बनाउन काठमाडौं सम्मेलनमा जान सबैमा अनुरोध गरे । त्रिपाठीले घले नेतृत्वको उच्चस्तरीय समितिलाई साथ दिन पनि आग्रह गरे ।
प्रमुख संरक्षक डेभिड गुरुङले एनआरएनएमा एकता विकल्प नभएको बताउंदै आगामी ३ देखि ५ मेमा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा गएर सहयोग गर्न आग्रह गरे ।
एनआरएनए उपाध्यक्ष थर्क सेनले सबै मिलेर बनाएको संस्थाको साख बचाउन र अझ मजवुत बनाउन एकताका लागि भौतिक रुपमा अधिवेशनमा जान अनुरोध गरे । आफ्ना प्रतिनिधि छनोट, पारिवारिक भेटघाट र पर्यटन अभिवृद्धि गर्न पनि अधिवेशनमा जान आग्रह गर्दै सेनले आउंदो अधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । छिट्टै आफ्ना एजेण्डा सार्वजनिक गर्ने उल्लेख गर्दै उनले सुझाव सल्लाहको अपेक्षा समेत व्यक्त गरे ।
महासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको उद्घाटन सत्रमा उपाध्यक्ष भरतमणी चेम्जोङले स्वागत मन्तव्य दिएका थिए । अधिवेशनमा भिडियोमार्फत सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष रविन गुरुङको आयव्यय प्रतिवेदन समेत प्रस्तुत गरि सर्वसम्मत पारित गरियो । सो क्रममा संघको विधान समेत संशोधन गरिएको छ ।
उक्त अधिवेशनले फेरि प्रेम गाहामगरको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ । तस्विर- मिलन तमु
हेरौं यो पनि- एनआरएनए यूके नेतृत्व फेरि प्रेम गाहामगरकै काँधमा
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५