सोमबार, चैत १०, २०८१
04:54 | १०:३९

उच्चस्तरीय समितिका सबैले छाडेपनि अधिवेशन रोकिन्नः डा घले

नेपाली लिङ्क मार्च २२, २०२५

लन्डन । एनआरएनए पूर्व अध्यक्ष एवं उच्चस्तरिय समितिका संयोजक डा. शेष घलेले समितिका सबै सदस्यले छाडेपनि अधिवेशन नरोकिने दृढता व्यक्त गरेका छन् ।

डा. घलेले शनिबार बेलायतको अल्डरसटमा एनआरएनए यूके एकता अधिवेशन मूल आयोजक समितिद्धारा आयोजित एक कार्यक्रममा सो दृढता व्यक्त गरेका हुन् ।

उनले उच्चस्तरिय समितिले १२ वटा बैठक गरेको र गर्नुपर्ने सबै निर्णय भइसकेको जानकारी समेत दिए । समितिका केही सदस्य भने बैठकमा एकपटक पनि उपस्थित नभएको उनको गुनासो थियो ।

उच्चस्तरिय समितिले बनाएको कार्यविधि अदालतको आदेश पालना गर्दै फन्डामेन्टल रुल अफ ल, न्याचुरल जस्टिस, ट्रान्परेन्सी, फेयरनेस जस्ता कुरामा आधारित भएको जनाउंदै घलेले एकता अधिवेशन एनआरएनए रिफर्मको अवसर भएको बताए । सर्वोच्च अदालतको म्याण्डेट अनुसार गैर आवासीय नेपाली संघलाई एकीकृत, समसामयिक बनाउन र यसको जग बसाउन आफू लागिरहेको बताए ।

३१ मार्चभित्र सदस्यता लिएर एनआरएनएलाई अझ ‘महान’ बनाउन उनले आग्रह गरे । यसअघि एनआरएनएमा डेलिगेट्स हुन पूर्व पदाधिकारीलाई प्राथमिकता दिएर नयांलाई बन्देज गरिएपनि अब अधिवेशनले सबै सदस्यलाई अधिकार दिएको घलेले बताए ।

घलेले कम्युनिटी आउटरिच अन्तर्गत अष्ट्रेलिया, थाइल्याण्ड, दुबई हुंदै यूके आएको र बेल्जियमपछि खाडी जाने जनाउंदै बेलायतका नेपालीको सुझाव सल्लाह अभियानमा सधैं महत्वपूर्ण रहेको पनि बताए ।

एनआरएनए यूके एकता अधिवेशन मूल आयोजक समिति संयोजक एवं कार्यक्रम सभापति योगेन क्षेत्रीले वंशजको नेपाली नागरिकता निरन्तरता माग पूरा गराउन पनि काठमाडौंको एकता अधिवेशनमा सहभागी हुन सबैमा अपिल गरे ।

मेको एकता अधिवेशन सफल नभए एनआरएनए संस्था नै खारेज हुने र संघभित्रको घोटाला पच्ने भएकाले कतिपय एकता अधिवेशन गर्न नचाहेको क्षेत्रीको जिकिर थियो । एकता अधिवेशन भ्रष्टाचारीलाई खुशी पार्न नभइ वंशजको नेपाली नागरिकता निरन्तरताका लागि भएको उनले बताए ।

एनआरएनए भवन ८० देशका नेपालीले दु:खले बनाएको बताउंदै उच्चस्तरीय समिति अन्तर्गत प्रचार सचिव आरके त्रिपाठीले सबै पक्षले त्यहां बसेर काम गर्न पाउनु पर्ने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू