वंशजको नेपाली नागरिकता कायम राख्न बेलायतबाट अभियान


लन्डन- बेलायतस्थित एनआरएनए अभियन्ता एवं बुद्धिजिवीहरुले वंशजको नेपाली नागरिकता कायमै राख्न सशक्त आवाज उठाउनुपर्नेमा जोड दिएका छन्।
एनआरएनए उच्चस्तरिय समितिका संयोजक डा. शेष घलेको प्रमुख आतिथ्यमा शनिबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा आयोजित एक अन्तरक्रियाका वक्ताहरुले आन्दोलन सफल बनाउन एकीकृत प्रयासमा समेत जोड दिए।
प्रमुख अतिथी एनआरएनए पूर्व अध्यक्ष एवं उच्चस्तरिय समितिका संयोजक डा. शेष घलेले सर्वोच्च अदालतको म्याण्डेट अनुसार गैर आवासीय नेपाली संघलाई एकीकृत, समसामयिक बनाउन र यसको जग बसाउन आफू लागिरहेको बताए ।
घलेले कम्युनिटी आउटरिच अन्तर्गत अष्ट्रेलिया, थाइल्याण्ड, दुबई हुंदै यूके आएको र बेल्जियमपछि पोर्चुगल, कोपेनहेगन र कतार जाने जनाउंदै बेलायतका नेपालीको सुझाव सल्लाह सधैं महत्वपूर्ण हुने बताए।
गैर आवासीय नेपाली संघ स्थापनाको करिब २३ वर्षमा संस्थालाई प्रविधि र ‘मल्टी जेनेरेसन’ मैत्री बनाउन अब परिष्कृत गर्नुपर्ने बेला आएको बताए । आफनो नेतृत्व सन् २०१३ देखि ०१७ बीचमा संस्थालाई समसामयिक बनाउन आफूले भिजन २०२० बियोण्ड कन्सेप्ट ल्याएपनि कार्यान्वयन हुन नसकेको गुनासो गरे ।
एनआरएनए विवाद अदालतमा पुगेपछि सर्वोच्च अदालतले सदस्यता, डेलिगेट्स र निर्वाचन प्रणालीमा त्रुटीपूर्ण रहेको निष्कर्षसहित ति त्रुटी अन्त्य गरि एकता अधिवेशन गर्नु भन्ने आदेश भएकाले आफूहरु एकता अधिवेशन गर्न होमिएको उनले बताए ।
डा. घलेले मे १८ तारिखको समयसीमाभित्र अधिवेशन गर्नुपर्ने भएकाले त्यसअघि ३ देखि ५ मेमा भौतिक रुपमा काठमाडौंमा अन्तर्राष्ट्रिय अधिवेशन गर्न लागिएको प्रष्टयाउंदै त्यसमा सहभागी हुन सबै गैर आवासीय नेपालीसमक्ष अनुरोध गरे ।
डा. घलेले वंशजको नेपाली नागरिकता निरन्तरता, गैर आवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र सदस्यलाई बढी अधिकार दिने गरि संघको नयां विधान संशोधन गर्न अधिवेशन केन्द्रित हुने बताए ।
‘हामीले अब मल्टी जेनेरेसनल संस्था बनाउनुपर्छ । यसमा तपाईंहरु सबै सहभागी हुन जरुरी छ’, उनले भने ।
उच्चस्तरिय समितिले बनाएको कार्यविधि अदालतको आदेश पालना गर्दै फन्डामेन्टल रुल अफ ल, न्याचुरल जस्टिस, ट्रान्परेन्सी, फेयरनेस जस्ता कुरामा आधारित भएको जनाउंदै घलेले एकता अधिवेशन एनआरएनए रिफर्मको अवसर भएको बताए ।
उनले उच्चस्तरिय समितिले १२ वटा बैठक गरेको र गर्नुपर्ने सबै निर्णय भइसकेको जानकारी समेत दिए ।
समितिका केही सदस्य भने बैठकमा एकपटक पनि उपस्थित नभएको उनको गुनासो थियो । तर, उच्चस्तरिय समितिका सबैले छाडेपनि अधिवेशन नरोकिने दृढता उनले व्यक्त गरे ।
३१ मार्चभित्र सदस्यता लिएर एनआरएनएलाई अझ महान बनाउन उनले आग्रह गरे । यसअघि एनआरएनएमा डेलिगेट्स हुन पूर्व पदाधिकारीलाई प्राथमिकता दिएर नयांलाई बन्देज गरिएपनि अब अधिवेशनले सबै सदस्यलाई अधिकार दिएको घलेले बताए ।
५ मेमा अधिवेशन सकिएपछि उच्चस्तरिय समितिको काम कर्तव्य पनि समाप्त हुने घलेले बताए ।
एनआरएनए यूके एकता अधिवेशन मूल आयोजक समिति संयोजक एवं कार्यक्रम सभापति योगेन क्षेत्रीले वंशजको नेपाली नागरिकता माग नेपालमा एकता अधिवेशनमा सबै नगएसम्म पुरा नहुने धारणा राखे । एकता अधिवेशनले विधान संशोधन गरेर सबै गैर आवासीय नेपालीलाई अपनत्व महशुस गराउने क्षेत्रीले बताए ।
कुमार पन्तले १२०० मत फर्जी हालेर जितेको दावी गर्दै अहिले पन्त, उपेन्द्र महतो, जीवा लामिछानेहरु एकता अधिवेशन नचाहेको बताए ।
मेको एकता अधिवेशन सफल नभए एनआरएनए संस्था नै खारेज हुने र संघभित्रको घोटाला पच्ने भएकाले कतिपय एकता अधिवेशन गर्न नचाहेको क्षेत्रीको जिकिर थियो । एकता अधिवेशन भ्रष्टाचारीलाई खुशी पार्न नभइ वंशजको नेपाली नागरिकता निरन्तरताका लागि भएको उनले बताए ।
‘अन्तरक्रियामा नागरिक समाज यूकेका अध्यक्ष शेरबहादुर सुनारले गैर आवासीय नेपाली एक नभइ वंशजको नागरिकता मुद्दा समाधान नहुने धारणा राखे । गोर्खालीको माग पनि फुटकै कारण पूरा हुन नसकेको उनले बताए । हाम्रो माग सन्ततिहरुका लागि हुनुपर्छ’, सुनारले भने । उनले निष्पक्ष चुनाव गराउन सुझाउंदै मुलको पानी धमिलो बनाए तलको पानी संग्लो नहुने उदाहरण प्रस्तुत गरे ।
पिपल मोर्गेजका प्रवन्ध निर्देशक सूर्य गुरुङले छिन्नभिन्न भएका एनआरएनलाई एउटै मुलधारमा ल्याउन जरुरी रहेको बताउंदै नेतृत्व वर्गले यस प्रति चासो देखाउनु पर्ने उल्लेख गरे।
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान सीएनसीबीजीका अध्यक्ष थर्क रानाले वंशजको नागरिकता खोस्ने अधिकार राज्यलाई नभएकाले नागरिकता नत्याग्न सबैमा अनुरोध गरे । रानाले गोर्खा मुद्दा एनआरएनए प्लेटफर्मबाट नलैजान अनुरोध गर्दै वंशजको नेपाली नागरिकता निरन्तरता गर्ने आफ्नो आन्दोलनमा ऐक्यवद्धता जनाइदिन सबैमा अपिल पनि गरे ।
तमुधिं यूके पूर्व अध्यक्ष कमल गुरुङले एनआरएन नेतृत्वमा सहकार्यको अभाव रहेको औंल्याए । आफ्नो जन्मभूमि जांदा समेत भिजा लगाउनुपर्ने व्यवस्था बिडम्बनापूर्ण रहेको बताउंदै उनले सरकारलाई नागरिकता खोस्ने काम नगर्न चेतावनी दिए ।
एनआरएनए अभियन्ता एवं भूतपूर्व गोर्खा ओमप्रसाद थापाले एनआरएनए विधानमा गोर्खा शब्द नराखिनु दुःखद भएको बताए ।
एनआरएनए आइसीसी सदस्य तथा गोर्खा टास्कफोर्स संयोजक ओमप्रसाद थापाले बेलायतबाट गोर्खाहरुको नाम लगेर एनआरएनए संस्था दर्ता गरिएपनि एनआरएनए विधानमा गोर्खाहरुको कतै व्याख्या नगरिनु दुःखद भएको बताए ।
उनले एनआरएनए यूके एकता अधिवेशनमा सहभागी भएर बेलायतमा सबै एक छौं भन्ने सन्देश दिएमात्र अधिकार आन्दोलन सफल हुने पनि बताए ।
कानूनविद डा. धर्म थापाले एकता नभई नेपाल सरकारले गैर आवासीय नेपालीका माग नसुन्ने भएकाले एकीकृत हुन सुझाए । गैर आवासीय नेपालीको मुख्य उद्देश्य नेपाली नागरिकता निरन्तरता भएकाले शेष घलेलाई सहयोग गर्न आग्रह गरे ।
व्यवसायी भाइराजा थापाले नेपालबाट ब्रिटिश गोर्खामा भर्ती भएर आउंदा नै नेपाली नागरिकता कायम रहने व्यवस्था संविधानमा हुनुपर्ने बताए ।
इष्टली गोर्खा नेपलिज कम्युनिटी यूके अध्यक्ष कमल पूर्जाले एनआरएनए एकतामा जुटेका डा. शेष घलेलाई हिरो र भगवानको संज्ञा दिंदै पहिला आफैं मिलेमात्र एकताको कुरा सार्थक हुने बताए ।
व्यवसायी राजन फुयांलले बेलायतका नेपाली कमर्सियल माइग्रेन्ट भएका र आफ्नो इच्छाले ब्रिटिश नागरिकता लिएपछि आफैंले माग्नुभन्दा नेपाल सरकारले हाम्रो सीप, ज्ञान र लगानी माग्नुपर्ने धारणा राखे ।
उनले एनआरएनले कमर्सियल लिमिटेड संस्था खोल्न सुझाव दिंदै तबमात्र नेपाल सरकारले आफूहरुसंग माग्ने बताए ।
एनआरएनए यूके निर्वाचन समितिका प्रमुख संयोजक डा. भीम पुनले निर्वाचन प्रक्रिया पूर्ण लोकतान्त्रिक रुपमा अगाडि बढाएको र असन्तुष्ट पक्षलाई एकता अधिवेशनमा सहभागी गराउन हदैसम्म लचकता अपनाएर निकै पहल भएको बताए ।
व्यवसायी विष्णु तामाङले एनआरएनएमा कुनै गोल नभएको उल्लेख गर्दै आफ्नो देशले लगानी गर्न प्रेरित गर्नुपर्नेमा त्यसो नगरेको बताए । आफ्नो व्यवसायिक समूहले सरकारको प्रोत्साहन नहुंदा समेत नेपालमा बैंक, हाइड्रोपावर, रियल स्टेट आदिमा लगानी गरेको उल्लेख गरे ।
एनआरएनए उपाध्यक्ष थर्क सेनले वंशजको नेपाली नागरिकता माग पूरा नभएसम्म निरन्तर आन्दोलनमा लाग्नुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय एकता अधिवेशनमा काठमाडौं जान सबैलाई प्रेरित समेत गरे ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले एकता अधिवेशनका लागि २२ हजार ४ सय २७ सदस्यको सदस्यता नवीकरण भएको जनाउंदै काठमाडौंमा गएर अन्तर्राष्ट्रिय अधिवेशनमा भाग लिन अपिल गरे ।
गाहामगरले उच्चस्तरिय समितिको पत्रपछि आफूले मेडिएटर टिम खडा गरि यूकेमा एकता प्रयास गरेको सुनाए ।
अध्यक्ष गाहामगरले हितकाजी गुरुङलाई एकता अधिवेशनमा आउन धेरै प्रयास गरेपनि नआएको बताउंदै उनको पक्षले जुलाई १२ मा अधिवेशन गर्न भन्दै केन्द्र र यूकेको आसन्न अधिवेशन रोक्न खोजेको जिकिर गरे ।
वंशजको नेपाली नागरिकता निरन्तरता मुद्दा समाधान नहुनुमा एनआरएनएका पूर्व अध्यक्षहरु जिम्मेवार रहेको उनको आरोप थियो ।
एनआरएनए खातामा रहेको ३० करोड रुपैयां हिनामिना लुकाउन आगामी नेतृत्व आफ्नो पक्षमा पार्न बद्री केसीहरुले अक्टोबरमा अधिवेशन गर्ने बताउंदै आएको आरोप गाहामगरले लगाए ।
वंशजको नागरिकता पहिलो पुस्ताभन्दा भावी सन्ततिलाई आवश्यक भएको बताउंदै यसका लागि आफूसहितका व्यक्तिले सर्वोच्चमा मुद्दा दायर गरेको उनले बताए । गाहामगरले नागरिकता अभियानमा अब एक भएर लाग्न आवश्यक भएको धारणा पनि राखे ।
उक्त कार्यक्रम सञ्चालन गर्दै एकता अधिवेशन मुल आयोजक समितिका आर के त्रिपाठीले भेलाको निष्कर्ष सुनाएका थिए । त्रिपाठीले भेलाले घलेको बेलायत भ्रमण स्वागत गर्दै घले नेतृत्वको उच्चस्तरिय समितिले एनआरएनए एकता कायम राख्न र गरिमा बढाउन गरेको कार्यको प्रशंसा गरेको सुनाए ।
भेलामा वंशजको नेपाली नागरिकता निरन्तरताबारे व्यापक छलफलपछि गोर्खाका लागि समेत वंशजको नेपाली नागरिकता प्राप्तिका लागि आन्दोलनको एक पृथक नेतृत्व गर्न व्यवसायी एवं अभियन्ता योगेन क्षेत्रीलाई अन्तर्राष्ट्रिय संयोजक प्रस्ताव गरिएको जनाए । यो समिति पछि विश्वव्यापी रुपमा विस्तार गरिनेछ ।
भेलाले गोर्खा आन्दोलनमा समर्थन गर्दै विभिन्न तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । साथै डा. शेष घले नेतृत्वको काठमाडौं अन्तर्राष्ट्रिय अधिवेशन सफल पार्न सदस्यता लिन र निर्वाचनमा भाग लिन सबैलाई आव्हान गर्ने निर्णय गरेको छ ।
उक्त अन्तरक्रियामा डा. प्रसन्न नेपाल, जुरेन्द्र खजुम, जंग पुन, क्यानडाका एनआरएनए अभियन्ता एनबी टण्डन, आनन्द देवान लगायतले आआफ्ना सुझाव दिएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५