शनिबार, चैत ८, २०८१
18:53 | ००:३८

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

नेपाली लिङ्क मार्च २१, २०२५

लन्डन । विश्वकै दोस्रो व्यस्त लन्डनस्थित हिथ्रो विमानस्थल तत्कालका लागि बन्द गरिएको छ । नजिकैको इलेक्ट्रिकल सबस्टेशनमा भीषण आगलागी हुँदा विद्युत् आपूर्ति बिच्छेद भएपछि शुक्रबार विमानस्थल पूर्णरुपमा बन्द गरिएको हो ।

फ्लाइट ट्र्याकिङ वेबसाइटका अनुसार शुक्रबार हिथ्रो विमानस्थाल अवतरण गर्ने कम्तीमा १ हजार ३५१ उडान रद्द हुने भएका छन् । एअरपोर्ट बन्द गरिने घोषणा गर्दा १ सय २० वटा जहाज आकाशमा अवतरणको तयारीमा रहेको बीबीसीले जनाएको छ ।

वेष्ट लन्डनस्थित हेजमा रहेको सबस्टेशनमा आगलागी भएपछि एअरपोर्टमा विद्युत कटौती भएको हो । बिहीबार राति २३:२३ मा आपतकालीन सेवाहरु घटनास्थल पुगेका थिए । आगो नियन्त्रणमा लिन १० फायर इन्जिन र ७० जति फायर फाइटरहरू संलग्न थिए ।

आगलागीका कारण ४९०० घरमा विद्युत् कटौती भएको छ भने आसपासका १५० जनालाई सुरक्षित ठाउँमा सारिएको छ। विद्युत आपूर्तिकर्ता स्कटिस एण्ड साउदर्न इलेक्ट्रिसिटी नेटवर्क्सले दिएको जानकारी अनुसार आगलागीका कारण १६ हजार बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ।

एयरपोर्टका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न हिथ्रोलाई २१ मार्च राति २३:५९ बजेसम्म बन्द राखिने छ । हामीलाई थाहा छ यो यात्रुहरूका लागि पक्कै पनि निराशाजनक अवस्था हुनेछ, तर हामी यो परिस्थिति समाधान गर्न भरपुर प्रयास गरिरहेका छौं र यात्रुहरुलाई विमानस्थल नजान पनि आग्रह छ।’


एअरपोर्टमा भएको अवरोधका लागि माफी माग्दै थप जानकारीका लागि सम्बन्धित एअर्लाइन्ससंग सम्पर्क गर्न आग्रह गरिएको छ । विद्युत् आपूर्ति कहिलेबाट सुचारु हुन्छ भन्ने बारे अझै स्पष्ट छैन ।

हिथ्रो एअरपोर्ट यूकेको सबैभन्दा ठूलो एयरपोर्ट हो, जहाँ प्रतिदिन १ हजार ३ सय जहाज अवतरण र उडान गर्छन्। पछिल्लो नयाँ तथ्याङ्क अनुसार, गत वर्ष ८३.९ मिलियन यात्रुले टर्मिनल प्रयोग गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू