एनबीसी यूकेको १५ औं वार्षिकोत्सव, हुम्लाको स्कुललाई सघाउन नयां वर्षमा च्यारिटी इभेन्ट


लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले आउंदो अप्रिल २१ सांझ नेपाली नयां वर्ष २०८२ को अवसर पारेर एक च्यारिटी इभेन्ट गर्ने भएको छ ।
एनबीसी यूके अध्यक्ष समिरनाथ प्याकुरेलले संस्थाको १५ औं वार्षिकोत्सव तथा वार्षिक साधारणसभाका क्रममा उक्त जानकारी दिएका हुन् ।
अध्यक्ष प्याकुरेलले च्यारिटीबाट वचत भएको रकम हुम्लास्थित हिमाली आवासीय विद्यालयलाई प्रदान गरिने पनि बताए ।
ब्लु रुम ह्यारोमा हुने च्यारिटी कार्यक्रममा आएर आर्थिक सहयोग तथा नयां वर्ष शुभकामना आदानप्रदान गर्न पनि अध्यक्ष प्याकुरेलले अपिल गरेका छन् ।
उक्त इभेन्टमा दाजु भाई ब्याण्डले लाइभ म्यूजिक प्रस्तुत गर्नेछ भने अन्य कलाकारहरु साहिमा श्रेष्ठ, सन्दीप न्यौपाने, सुदीप पाण्डे, डिजे नेपसोल, मोना यूके युथ डान्स ग्रुप आदिको परफर्मेन्स रहने संस्थाले जनाएको छ ।
लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा आयोजित वार्षिकोत्सव तथा साधारणसभा कार्यक्रमको शुरुवातमा ब्रिटिश पर्वतारोही महिला बोनिटा नोरिसले आफ्नो सगरमाथा र अन्य हिमालहरु आरोहणको अनुभव र प्रेरणादायी मन्तव्य दिइन् । नोरिस सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने ब्रिटिश महिला हुन् ।
कार्यक्रममा कोषाध्यक्ष खेमराज जोशीले संस्थाको आर्थिक वर्ष २०२४ को वित्तिय विवरण प्रस्तुत गरे भने सचिव दामोदारप्रसाद आचार्यले कार्यक्रम सञ्चालन गर्दै संस्थाको वार्षिक प्रतिवेदन पेश गरे । सभाले वित्तिय र वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
उक्त कार्यक्रममा संस्थाका संरक्षक, ट्रष्टी, सल्लाहकारहरु लगायत करिब एकसय जना सदस्यको उपस्थिति थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५