नेपालगन्ज म्याराथनसँग वन स्टेप फाउन्डेसनको सहकार्य


नेपालगन्ज । अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथनबीच किशोरी खेलाडीलाई दौडमार्फत मुलधारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ ।
समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरुलाई सशक्तिकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा वन स्टेप फाउन्डेसनका तर्फबाट बालकृष्ण जोशी र नेपालगन्ज म्याराथनका तर्फबाट टीएस ठकुरीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै वन स्टेप फाउन्डेसनले नेपालगन्ज म्याराथनमा तीन सय जना किशोरीको नाम दर्ता गरेर सघाउनेछ । ‘यसले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न सघाउनेछ’- वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले भनेका छन् ’पिछडिएको समुदायका किशोरीलाई मुलधारमा ल्याउनु हामी सबैको जिम्मेवारी र दायित्व हो । नेपालगन्ज म्याराथनको यो पहलकदमीको हार्दिक सराहना पनि गर्दछु ।’
नेपाली किशोरीको क्षमता र प्रतिभा उजागर गर्न अन्तर्राष्ट्रिय सहभागितामा समेत सघाउन आफूहरु तयार रहेको वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले बताए । जोशीले संसारकै शीर्ष ६ मध्येका न्यूयोर्क म्याराथन, सिकागो म्याराथन लगायत १५ बढी फुल म्याराथन पुरा गरिसकेका छन् । साथै गत वर्ष विश्वविख्यात एभरेष्ट म्याराथन पनि पुरा गरेका थिए । उनले सय बढी हाफ म्याराथन तथा दुईवटा एक सय किलोमिटर दुरीका अल्ट्रा म्याराथन पुरा गरिसकेका छन् । अमेरिकामा स्थापित वन स्टेप फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुदका साथै सामाजिक क्षेत्रमा काम गर्दछ ।
सम्झौता अनुसार वन स्टेप फाउन्डेसनले नेपालगन्ज सेरोफेरोमा अवस्थित विद्यालयमा अध्ययनरत तीन सय जना किशोरीको दर्ता शुल्क नेपालगन्ज म्याराथनलाई प्रदान गर्नेछ । यो सम्झौता सन् २०३० संस्करणसम्मका लागि गरिएको छ । आपसी सहमतिमा हरेक वर्ष सहभागी संख्या क्रमिक रुपमा बढाउँदै जाने पनि सम्झौतामा उल्लेख छ ।
सम्झौताले नेपालगन्ज म्याराथनको दायरा अझै फराकिलो हुँदै जाने संस्थापक टीएस ठकुरीले बताए । संसारभर रहेका नेपालीलाई यसमा जोड्न यो अवधारणा अगाडि बढाइएको उनको भनाइ छ । ठकुरीले भने ‘विश्वका जुनसुकै देशमा कार्यरत हरेक सामाजिक संघसंस्था वा व्यक्तिले यसमा सहजै सहकार्य गर्न सक्नेछन् ।’
धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण आगामी मंसिर ६ गते शनिबार हुँदैछ । नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले विश्वको शीर्ष ६ भित्र पर्ने लण्डन म्याराथनमा भाग लिइसकेका छन् । यसैगरी दशौंका विजेतालाई लण्डन लगायत अन्य विश्व प्रतिष्ठित म्याराथनमा सहभागी गराउने तयारी भइरहेको छ ।
नेपालगन्ज म्याराथन नेपालबाट एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को पहिलो पूर्णकालीन सदस्य हो । एम्सले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई नेपालका लागि आधिकारिक दूत नियुक्त गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५