सोमबार, चैत ३, २०८१
09:57 | १५:४२

मगर संघ यूकेको युएचएसबी शाखामा नयाँ कमिटी, अध्यक्ष वीर बलाल

नेपाली लिङ्क मार्च १६, २०२५

शाखाका नवनिर्वाचित अध्यक्ष वीर बलाल (बीच), युथ संयोजक विपना थापा (वायां) र लेडिज् प्रमुख नानु राना

लन्डन- मगर संघ यूकेको युएचएसबी (युनाइटेड ह्याम्पशायर सर्रे बर्कसशायर) शाखामा नयाँ नेतृत्व आएको छ। आइतबार अल्डरसटको द प्यालेसमा सम्पन्न शाखाको सातौं अधिवेशनले वीर बलालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

तीन वर्षे कार्यकालका लागि शाखामा २१ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।

समितिमा गणेश बुढाथोकी उपाध्यक्ष, नानु राना महिला उपाध्यक्ष, पार्वती थापा सचिव, धन थापा सहसचिव, गोप सिंजाली कोषाध्यक्ष र रोजिना थापा सहकोषाध्यक्ष निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा डम्बर थापा, शिला थापा, गीता पाइजा, बबी पाइजा, गुन थापा, थम रोका, खिम पुन, ऋषिराम राना, पञ्च पुन, मञ्जु राना, चन्दा पुन, सीता थापा र दीपक राना चुनिए ।

शाखाको नयाँ नेतृत्व सम्हाल्ने वीर बलाल यसअघिको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा थिए । पछिल्लो १२ वर्षदेखि निरन्तर कार्यसमितिमा रहेका उनले विगतमा दुई कार्यकाल सचिव र एक कार्यकाल एड्मिन सहसंयोजकको भूमिका पनि निर्वाह गरेका थिए। बेलायतको नेपाली समुदायमा परिचित सामाजिक अभियन्ता बलाल बेलायतको अग्रणी मानिने गुल्मी जिल्ला समाज यूकेका पूर्व अध्यक्ष हुन्।

अधिवेशनले आगामी कार्यकालका लागि नानु रानाको नेतृत्वमा लेडिज् कमिटी र विपना थापाको संयोजकत्वमा युथ कमिटी समेत निर्वाचित गरेको छ।

नवनिर्वाचित समितिका पदाधिकारीलाई निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड कुल थापाले शपथग्रहण गराएका थिए । निर्वाचन समितिमा क्याप्टेन रिटायर्ड ताम ढेगा र टेक थापा पनि सदस्य थिए।

सो अवसरमा प्रमुख अतिथि मगर संघ यूकेका महासचिव गुमानसिंह थापा, शाखाका संस्थापक अध्यक्ष एवम् मगर संघ यूके पूर्व अध्यक्ष सुनिल रानालगायतले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष बलालले शाखाको साख बढाउने गरी इमान्दारीपूर्वक काम गर्ने अठोट व्यक्त गरेका छन्। आफूलाई अध्यक्ष पदमा निर्वाचित गरेकोमा आभार प्रकट गर्दै उनले सबैको सल्लाह र मार्गदर्शनमा संथार्ला अगाडि बढाउने प्रतिवद्धता जनाएका छन्।

यसअघि शाखाका निवर्तमान समितिका अध्यक्ष ऋषिराम रानाको अध्यक्षतामा सम्पन्न अधिवेशनले महासचिव गणेश बुढाथोकी र गोप सिंजाली मगरका वार्षिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको थियो।

कार्यक्रममा नेपालबाट आएकी लोकदोहोरी गायिका देवी आलेमगरले सांगीतिक प्रस्तुतिबाट मनोरञ्जन दिलाएकी थिइन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू